विश्वकपको इतिहासमै सर्वाधिक मनोरञ्जक बन्न पुगेको ब्राजिल संस्करणअन्तर्गत हुने फाइनल खेलले यसपालिको उपाधि विजेता छान्नेछ । राजधानी रियोस्थित मारकाना रङ्गशालामा आइतवार हुने २०औं विश्वकपको अन्तिम स्पर्धाका लागि जर्मनी र अर्जेण्टिनाले आफ्ना तयारी पूरा गरिसकेका छन् । यो यी दुई टोलीबीच विश्व फूटबलको सर्वोच्च उपाधिका तेस्रोपटकको भिडन्त हो । सन् १९८६ को संस्करणमा अर्जेण्टिनाले जर्मनीलाई हराउँदै उपाधि उचालेको थियो । सन् १९९० मा जर्मनीले त्यसको बदला लिँदै विश्वकप विजेता बनेको थियो ।
हालसम्म जर्मनी सन् १९५४, १९७४ र १९९० गरी तीनपटक फिफा विश्वकप विजेता बनिसकेको छ । यसपालिसमेत गरी जर्मनी आठौंपटक विश्वकप फाइनलमा सहभागी हुँदैछ । यो विश्वकपमा हालसम्म सहभागी राष्ट्रले खेलेकोमध्ये सबैभन्दा बढी हो । यसअघि जर्मनीले १९५४, १९६६, १९७४, १९८२, १९९० र २००२ मा फाइनल खेलेको थियो । त्यसैगरी १९७८ र १९८६ को विजेता एवम् सन् १९३० र १९९० उपविजेता अर्जेण्टिना पाँचौं विश्वकप फाइनल खेल्दैछ ।
यी दुई राष्ट्र विश्वकपका ६ ओटा जम्काभेटसमेत गरी विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा एकअर्काविरुद्ध २० पटक भिडिसकेका छन् । यीमध्ये अर्जेण्टिनाले ९ र जर्मनीले ६ पटक जित दर्ता गरेका छन् । ५ ओटा खेलचाहिँ बराबरीमा टुङ्गिएका थिए । यी सबै खेलमा कुल ५६ गोल भए, जसमा दुवै पक्षले एकअर्काविरुद्ध २८ गोल गरेको रेकर्ड छ । यी रेकर्डका आधारमा हेर्दा यी दुई टोलीको शक्ति बराबरी रहेको देखिन्छ । तथापि, विश्वकपमा भने अर्जेण्टिनाविरुद्ध जर्मनीको रेकर्ड राम्रो छ । उसले अर्जेण्टिनालाई सन् १९५८ को समूह चरण (३–१), सन् १९९० को फाइनल (१–०), सन् २००६ को क्वार्टरफाइनल (१–१) ले बराबरी भएपछि पेनाल्टी शुटआउटका आधारमा (४–२) र सन् २०१० को क्वार्टरफाइनल (४–०) गरी चारपटक हराइसकेको छ । अर्जेण्टिनाले भने एकपटक मात्र (सन् १९९० को फाइनलमा (३–२) जर्मनीलाई पराजित गर्न सकेको छ । सन् १९६६ को विश्वकपमा यी दुई देशबीच भएको समूह चरणको खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो । यसका साथै यूरोपेली र दक्षिण अमेरिकी राष्ट्रबीच उपाधि हात पार्न भइरहेको यो १०औं स्पर्धा हो । अहिलेसम्म दक्षिण अमेरिकी टोली सातपटक विजेता बनिसकेका छन् ।
अर्जेण्टिना ः सन् १९९० को बदला लिने तयारीका साथ मैदानमा उत्रिने अर्जेण्टिनाले यसपालिको प्रतियोगितामा गरेको कम गोलसङ्ख्या उसको मुख्य कमजोरीका रूपमा लिइएको छ । कप्तान लियोनल मेसीले समूह चरणपछि १ गोल पनि गर्न सकेका छैनन् । क्वार्टरफाइनलमा बेल्जियमविरुद्ध खेल बीचमै छाडेर निस्किएका घाइते स्ट्राइकर एञ्जल डी मारियाको फाइनल खेलमा उपस्थिति अन्योलपूर्ण हुनु चासोको अर्को विषय बनेको छ । उक्त खेलमा १ गोल गरेर अर्जेण्टिनालाई साँघुरो जित दिलाएका गोञ्जालो हिगुइनको समग्र प्रतियोगिताभरिको निराशाजनक प्रदर्शनले पनि चिन्ता थपेको छ । यद्यपि, परम्परागत रूपमा आलोचित हुँदै आए पनि यसपालि प्रभावशाली रक्षात्मक खेल खेल्न सक्नु टोलीको बलियो पक्ष हुन पुगेको छ । विशेषगरी हाभियर मास्चेरानो केन्द्रीय डिफेण्डर र डिफेन्सिभ मिडफिल्डर गरी दुवै भूमिकामा निकै सशक्त देखिए । त्यसैगरी गोलरक्षक सर्जियो रोमेरोको उत्कृष्ट प्रदर्शनले टोलीको मनोबल बढाएको छ । सेमिफाइनलसम्मका ६ ओटा खेलमा अर्जेण्टिनाले मात्र ४ गोल खानु बलियो रक्षापङ्क्ति र राम्रो गोलरक्षणको उदाहरण हो ।
जर्मनी ः पोर्चुगलविरुद्धको ४–० को विजय र ब्राजिलमाथिको ७–१ को जितलाई छाड्ने हो भने जर्मनीले जारी विश्वकपमा निकै सङ्घर्ष गर्नुपरेको थियो । समूह चरणमा तुलनात्मक रूपमा कमजोर ठानिएको घानासँग २–२ बराबरीमा रोकिनु यसको उदाहरण हो । त्यसैगरी प्रि–क्वार्टरफाइनलमा अल्जेरियाविरुद्धको साँघुरो जितलाई पनि यसैमा जोड्न सकिन्छ । यी खेलले टोलीको रक्षापङ्क्तिको कमजोरी र लापरवाहीपूर्ण ढङ्गले तयार पारिएको ‘फर्मेशन’लाई उजागर गरिदिएका थिए । तथापि, जर्मनीलाई यो विश्वकपभरिकै सबैभन्दा पूर्ण टोलीका रूपमा पनि लिइएको छ । अघिल्ला गल्तीहरू सुधार गरी अघि बढ्दै जाँदा ऊ ब्राजिलमाथि ‘वज्रपात’ गर्न सफल भयो । थोमस मुल्लर, मिरोस्लाभ क्लोज, टोनी क्रोश, बाष्टियान स्वाइन्सटाइगर, मेसुट ओजील, कप्तान फिलीप्प लाह्मजस्ता प्रतिभाशाली खेलाडी यसका प्रमुख शक्ति हुन् । ‘पावर’ खेलमा दक्षता राख्ने जर्मन टोलीले रणनीतिक खेलसमेत खेल्न सक्ने उनीहरूको प्रदर्शनले स्पष्ट पारिदिएको छ । त्यसैगरी अहिले विश्वकै उत्कृट गोलरक्षक बन्न सफल म्यानुएल नोयरको उपस्थितिले पनि जर्मनीलाई झनै बलियो बनाएको छ । (एजेन्सीहरूको सहयोगमा)
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।