को केमा बलियो ?

Share News


असार २८, रियो दे जेनेरियो (ब्राजिल) । अन्तिम स्पर्धाको खेल जितेर विश्वविजेता बन्न जर्मनी र अर्जेण्टिना जोडतोडका साथ तयारीमा व्यस्त छन् । यतिखेर फाइनल स्पर्धामा यी दुई टोलीले कस्तो प्रदर्शन गर्छन् भन्ने कुरा आमचासो र अनुमानको सबैभन्दा ठूलो विषय बन्न पुगेको छ । यसपालिका स्पर्धाहरू हेर्दा अर्जेण्टिनाले पनि आफू जर्मनीजस्तै रणनीतिक ढङ्गले खेल्दै साँघुरो जितहरू हात पार्न र जित सुनिश्चितका लागि जे पनि गर्न सक्षम छ भनेर देखाएको छ ।

उता, पोर्चुगललाई ४–० र आयोजक ब्राजिललाई ७–१ ले हराएर विस्फोटक प्रस्तुति गर्न सक्ने जर्मनीको क्षमता पनि उजागर भएको छ । यसै मेसोमा सन् १९८६ र १९९० का विश्वकप फाइनलमा एकअर्काविरुद्ध भिडेर एक–एकओटा उपाधि जित्न सफल यी दुई टोलीसँग रहेका शक्तिको तुलना यहाँ गरिएको छ :

गोलरक्षक : विश्वका सबैभन्दा सफल गोलरक्षकमध्ये उदाएका म्यानुएल नोयर आफ्नो नाम ब्राजिल विश्वकपमै चम्काउन सफल भएका छन् । जर्मन क्लब वायर्न म्युनिखका यी गोलरक्षकले विशेषगरी नकआउट चरणमा उत्कृष्ट प्रदर्शन गरेका छन् । प्रि–क्वार्टरफाइनलमा अल्जेरियाविरुद्ध अन्तिम समयको गोलले विजय हासिल गर्दा नोयरले आफ्नो टोलीको रक्षापङ्क्तिलाई पनि उल्लेखनीय सहयोग पुर्‍याए । त्यसपछि क्वार्टरफाइनलमा फ्रान्सेली स्ट्राइकर करिम बेञ्जिमालाई खेल बराबरी गर्न रोकेका उनी सेमिफाइनलमा ब्राजिलका थुप्रै प्रहार रोक्न सफल रहे ।

यसपालिको विश्वकपमा अर्जेण्टिनी गोलरक्षक सर्जियो रोमेरोले उनको प्रदर्शनबारे आशङ्का गर्ने आलोचकहरूको मुखमा बुझो लगाइदिएका छन् । गत सिजनमा मोनाको एफसी क्लबका जगेडा गोलरक्षकमात्र रहेका उनले सेमिफाइनल खेलको पेनाल्टी शुटआउटमा डच खेलाडीहरूका दुई प्रहार रोक्दै अर्जेण्टिनालाई फाइनलमा पुर्‍याउन सबैभन्दा ठूलो भूमिका निर्वाह गरेका छन् । यससँगै नकआउट चरणमा उनी लगातार तीनओटा ‘क्लिन शीट’ बनाउन सफल रहे । यद्यपि, सटिक पास र प्रहार गर्ने जर्मनहरूलाई रोक्न उनले कस्तो प्रदर्शन गर्लान्, त्योचाहिँ हेर्न बाँकी नै छ । यसरी गोलरक्षकहरूको तुलना गर्दा जर्मनीको पल्ला भारी रहेको देखिन्छ ।

रक्षापङ्क्ति : प्रशिक्षक जोआकिम लोले कप्तान फिलीप्प लाह्मलाई मध्यपङ्क्तिबाट निकालेर उनकै पुरानो दायाँ ‘ब्याक’मा राखेपछि जर्मन रक्षापङ्क्तिमा उल्लेख्य सुधार भएको छ । दोस्रो चरणमा अल्जेरियाविरुद्धको खेल गुमाउनबाट जर्मन टोली झण्डै–झण्डै जोगिएपछि यो परिवर्तन गर्नुपरेको थियो । त्यसैगरी मध्य–रक्षापङ्क्तिमा म्याट हुम्मल्सको सशक्त उपस्थितिले फ्रान्स र ब्राजिलका विस्फोटक आक्रमण निष्प्रभावी पार्न ठूलो भूमिका निर्वाह गरेको थियो । अब भने लाह्म र हुम्मल्स मेसीलाई रोक्न सफल होलान् वा नहोलान् भन्ने कुराचाहिँ फरक विषय हो ।

उता, अर्जेण्टिना कमजोर रक्षापङ्क्तिका साथ विश्वकपमा सहभागी भएको थियो । तर, नकआउट चरणका खेलमा एउटा पनि गोल आफ्नो पोष्टमा छिर्न नदिई यो दक्षिण अमेरिकी टोलीले आफू रक्षात्मक खेलमा कमजोर नरहेको सन्देश दिएको छ । सेमिफाइनलमा अर्जेण्टिनी रक्षापङ्क्तिको सबैभन्दा पछाडि बसेका चार खेलाडीले राम्रो प्रदर्शन गरे । तीमध्ये म्यानचेष्टर सिटीका डिफेण्डरद्वय पाब्लो जाबालेटा र मार्टिन डेमीचेलीसले डच स्ट्राइकरद्वय आर्जेन रोब्बेन र रोबिन भान पर्सीलाई बल अगाडि बढाउन निकै अप्ठ्यारो पारिदिएका थिए । रक्षापङ्क्तिका आधारमा तुलना गर्दा जर्मनी बलियो रहेको देखिन्छ ।

मध्यपङ्क्ति : मध्यपङ्क्ति जर्मनीको सबैभन्दा बलियो शक्ति हो । खासै कमजोरी नभएको यो पङ्क्तिका सबैजना निकै मिलेर खेल्ने क्षमता राख्छन् । जर्मन मध्यपङ्क्तिमा बाष्टिन स्वाइन्सटेगर र सामी खेदीरा सशक्त रक्षात्मक खेल खेल्छन् भने टोनी क्रोश र मेसुट ओजील विपक्षीविरुद्धका आक्रमणलाई प्रभावकारी ढङ्गले मिलाउने दक्षता राख्छन् । ब्राजिलविरुद्धको निर्दयी प्रदर्शनका क्रममा जर्मन मध्यपङ्क्तिले सबैभन्दा महŒवपूर्ण भूमिका निर्वाह ग¥यो । जर्मनहरूले फाइनलमा पनि यसैलाई निरन्तरता दिएको खण्डमा अर्जेण्टिनाले निकै अप्ठ्यारो अवस्थाको सामना गर्नुपर्ने हुनसक्छ ।

यसबीच, अर्जेण्टिनीहरूले चाहिँ तिघ्राको चोटले गर्दा क्वार्टरफाइनलमा बेल्जियमविरुद्धको खेल बीचमै छाडेर निस्किएका मिडफिल्डर एञ्जल डी मारीया फाइनलमा फर्कियुन् भनेर आशा गरिरहेका छन् । छेउका डिफेण्डरमाथि हावी हुनसक्ने डी मारियाको गति र क्षमता नेदरल्याण्ड्सविरुद्ध खेलमा ज्यादै नै ‘मीस’ गरिएको थियो । उनको अनुपस्थितिमा डिफेन्सिभ मिडफिल्डर हाभियर मास्चेरानोले उत्कृष्ट प्रदर्शन गरेका थिए । जमर्नीविरुद्धको स्पर्धामा पनि उनी प्रमुख खेलाडीमध्ये रहने धेरैले अनुमान गरेका छन् । मध्यपङ्क्तिको तुलना गर्दा जर्मनी नै हावी हुने देखिएको छ ।

आक्रमण : स्टार स्ट्राइकर मेसीलगायत सर्जियो अगुइरो र गोञ्जालो हिगुइनजस्ता फरवार्ड हुनुले अर्जेण्टिनाको आक्रामक पङ्क्ति  बलियो अवस्थामा छ । नकआउट चरणका तीन खेलमा स्कोर गर्न नसके पनि समूह चरणमा ४ गोल गरेर मेसीले सबैलाई उनी किन चारपटक फिफा ‘ब्यालोन डोर’ (वर्ष खेलाडी) भए भनेर सम्झाएका छन् । अगुइरो र हिगुइनजस्ता सशक्त फरवार्ड भए पनि मेसी नै अर्जेण्टिनाको सफलताका लागि प्रमुख खेलाडी हुन् । यी अर्जेण्टिनी फाइनलमा आफ्नो खेल जीवनकै सबैभन्दा ठूलो स्पर्धामा सहभागी हुँदैछन्, जहाँ उनले आफूलाई प्रमाणित गर्न अवश्य पनि कुनै कसर बाँकी छाड्ने छैनन् । अर्जेण्टिनाको जितका लागि मेसी आफैले स्कोर गर्न अथवा टोलीका अन्य साथीहरूका लागि गोल गर्न उपयुक्त वातावरण तयार गरिदिनुपर्नेछ ।

उता, विश्वकप इतिहासमै सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाउन सफल मिरोस्लाभ क्लोज जर्मन टोलीका प्रमुख आकर्षण हुन् । त्यसैगरी सन् २०१० को विश्वकपमा गोल्डन बुट पाएका थोमस मुल्लरले अघिल्लोसमेत गरी दुई प्रतियोगितामा १० गोल हानिसकेका छन् । फाइनलमा पनि उनी आफ्नो गोलको भोक पूरा गर्न अग्रसर हुने नै छन् । यसका साथै यसपालिको विश्वकपमा मिडफिल्डर टोनी क्रोश र डिफेण्डर म्याट हुम्मल्सजस्ता खेलाडी पनि गोल स्कोररका रूपमा अगाडि आउनुले पनि जर्मनीलाई कम आँक्न मिल्दैन । तथापि, मेसीलगायतका उत्कृट फरवार्डहरू हुनुले आक्रामक पङ्क्तिमा अर्जेण्टिना बलियो रहेको छ ।  एपी/रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।