बलियो डिफेन्स, अनुशासित तर आक्रामक फूटबलका लागि संसारमै परिचित ब्राजिलले आफ्नो वास्तविक लय बिर्सिएको छ । सन् १९७५ पछि घरेलु भूमिमा सञ्चालित कुनै पनि प्रतियोगितामा हार नबेहोरेको ब्राजिल लगातार दुई महŒवपूर्ण खेलमा ठूलो अन्तरले पराजित भएसँगै टोलीको वर्तमान खेल रणनीतिबारे प्रश्न उठ्न थालेका छ । रोनाल्डिन्हो, काकालगायत अनुभवी खेलाडीहरूको एउटा ठूलो जमातलाई बाहिर राखेर विश्वकपको यात्रा प्रारम्भ गरेका प्रशिक्षक लुइज फिलिप स्कोलारीको रणनीति सेमिफाइनलमा आइपुग्दा गलत सावित भयो, जतिबेला टोलीले जर्मनीसँग ७–१ गोलको लज्जास्पद हार बेहोर्यो ।
हारलाई प्रशिक्षक स्कोलारीमात्र होइन, कप्तान थिएगो शिल्भाले पनि एक दुर्घटनाका रूपमा लिन देशवासी र समर्थकलाई आग्रह गरे । सो हारलाई दुर्घटनामात्र थियो भनी प्रमाणित गर्ने एक मौका पाएको ब्राजिल विश्वकप फूटबलको तेस्रो स्थानका लागि भएको खेलमा पनि नेदरल्याण्ड्ससँग ठूलो अन्तरले पराजित भयो । ३–० ले खेल गुमाएसँगै विश्वकप इतिहासमा सर्वाधिक गोल बेहोर्ने कीर्तिमान ब्राजिलले आफ्नो नाममा लेखायो ।
यसअघि सन् १९८६ मा बेल्जियमले एकै प्रतियोगितामा १२ गोल खाएको थियो । २०औं संस्करणमा ब्राजिलले बेहोरेको गोल सङ्ख्या १४ पुगेको छ । घरेलु मैदानमा लगातार दोस्रो हारपछि कप्तान शिल्भा र प्रशिक्षक स्कोलारीले समर्थकबीच पुनः माफी मागे पनि ब्राजिली फूटबलको गुमेको साख फिर्ता गर्न अझ बढी मेहनतको आवश्यकता देखिएको छ ।
स्कोलारीले पद नछाड्ने अन्तरराष्ट्रिय सञ्चारमाध्यमले पद छाड्दामात्र उनको सम्मानजनक बिदाइ हुने आशयका सामग्री प्रस्तुत गरिरहँदा प्रशिक्षक स्कोलारीले भने तत्काल पद नछाड्ने स्पष्ट पारेका छन् । ब्राजिलियन फूटबलमा आफ्नो स्थान ‘ब्राजिलियन फूटबल फेडेरेशन’ले तय गर्ने भन्दै उनले आफूले पद नछाड्ने बताएका हुन् । नेदरल्याण्ड्ससँगको खेलबारे टिप्पणी गर्दै स्कोलारीले एक सन्तुलित खेल भएको र खेलाडीले राम्रो खेलेको प्रतिक्रिया दिए । आफूले प्रतियोगितामा ब्राजिलको प्रदर्शनबारे रिपोर्ट फेडेरेशनका अध्यक्षलाई बुझाउने र सोही संस्थाले टोलीको भविष्यबारे निर्णय गर्ने उनले जानकारी दिए । टोलीका वर्तमान सदस्य सम्मिलित ब्राजिलले १ वर्ष अघिमात्र कन्फिडेरेशन्स कप जितेको स्मरण गराउँदै उनले ब्राजिलले थुप्रै नयाँ खेलाडी उत्पादन गरिरहेको बताएका छन् । ब्राजिलले सन् २००२ मा विश्वकप उपाधि उचाल्दा उनले नै टोलीलाई प्रशिक्षित गरेका थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।