यूरोपलाई दक्षिण अमेरिकामा पहिलो विश्वकप

Share News


दक्षिण अमेरिकी भूमिमा आयोजित विश्वकप फूटबल प्रारम्भ हुँदा शायदै मानिसले उपाधि यूरोपले लैजान्छ भन्ने सोचेका थिए । तर, दक्षिण अमेरिकी भूमिमा सोही महादेशको महारथी अर्जेण्टिनालाई १–० गोलले हराउँदै जर्मनीले कीर्तिमानी ट्रफी उचालेको छ । समान (२४) वर्षपछि विश्वकप फाइनलमा भिडेका यी दुई टोलीको खेलले सन् १९९० को विश्वकप फाइनलको झझल्को दिएको थियो ।

खेलपछि जर्मनीले विश्वकपमा अर्जेण्टिना हामीभन्दा अझै कमजोर छ भन्ने तथ्यलाई प्रमाणित ग¥यो । सन् १९९० मा पनि जर्मनी १–० गोलले विजयी भएको थियो । जर्मनीको जितमा मारियो गोएट्जेले खेलको १ सय १३औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक सावित भएको थियो । यसअघि दक्षिण अमेरिकी भूमिमा आयोजित कुनै पनि विश्वकप अन्य मुलुकले जित्न सकेका थिएनन् । २१औं संस्करणको प्रतियोगिता भने सन् २०१८ मा रसियाले आयोजना गर्दैछ ।

स्ट्राइकिङ कमजोर रह्यो : मेसी
क्लब फूटबलमा अधिकांश विश्वकीर्तिमान आफ्नो नाममा लेखाउन सफल अर्जेण्टिनी कप्तान लियोनल मेसी हारपछि सबैभन्दा निराश देखिए । प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि जित्दै ‘गोल्डन बल’ हात पारेका उनको लक्ष्य विश्वकप उपाधि थियो । मेसीले जितको नजिक पुगेर पनि स्ट्राइकरको गल्तीका कारण टोली उपाधिबाट वञ्चित हुनु परेको प्रतिक्रिया दिए । फाइनल खेलमा ‘होम जर्सी’ लगाउन नपाएको अर्जेण्टिनाका फरवार्ड गोञ्जालो हिगुइनले २१औं मिनेटमा गोल गर्ने अवसर खेर फालेका थिए । हिगुइनले ३०औं मिनेटमा पोष्टमा छिराएको बललाई रेफ्रीले अफ साइड दिएका थिए ।

अन्त्यतिर आएर हार बेहोर्नु सबैभन्दा पीडादायी भएको भन्दै अर्जेण्टिनी कप्तान मेसीले खेल पेनाल्टीमा गएको भए अर्कै नतीजा आउनसक्ने बताए । खेलमा मेसीका केही प्रहारले पनि सही दिशा पाउन सकेनन् । अर्जेण्टिनाका प्रशिक्षक अलेक्जाण्ड्रो सावेलाले पनि प्राप्त मौकालाई सदुपयोग गर्न नसक्दा टोलीले जर्मनीसँग सन् १९९० को बदला लिनबाट चुक्नुपरेको बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।