जसले अन्तिमपटक विश्वकप खेले

Share News


असार ३१, ब्रासिलिया (ब्राजिल) । ब्राजिल विश्वकपको समापनसँगै विश्वका केही नामी खेलाडीहरूको अन्तिमपटकको सहभागिता पनि सकिएको छ । विश्वकपमा सबैभन्दा बढी गोल गर्ने कीर्तिमान बनाएका मिरोस्लाभ क्लोज, आन्द्रे पिर्लो र स्टेभन गेरार्डलगायतका चर्चित खेलाडी आगामी प्रतियोगितामा उपस्थित हुने छैनन् । उनीहरू सबै उमेरका कारण अन्तरराष्ट्रिय फूटबलबाट सन्न्यास लिने मनस्थितिमा रहेको जानकारहरू बताउँछन् ।

आफ्नो नाममा १६ गोल दर्ता गरेर ब्राजिलका पूर्वस्टार रोनाल्डोको गोल कीर्तिमान तोडेका जर्मनीका ३६ वर्षीय क्लोज सन् २०१८ को विश्कपमा ४० वर्ष पुग्नेछन् । ३५ वर्षीय इटालियन मिडफिल्डर आन्द्रे पिर्लोले आफ्नो उत्कृष्ट प्रदर्शनलाई उमेरमाथि हावी बनाए पनि रुसमा हुने विश्वकपमा उनको सहभागिता नहुने देखिएको छ । हाल ३४ वर्षको उमेरमा दौडिँदै गरेका इङ्लिश राष्ट्रिय टोलीका कप्तान स्टेभन गेरार्ड पनि उक्त विश्वकपमा नखेल्नेमध्येमा परेका छन् ।

यसपालि समूह चरणबाटै बाहिरिएका सन् २०१० को उपाधि विजेता स्पेनका जाबी अलोन्सो (३२ वर्ष), जाभी हर्नाण्डेज (३४) र डेभिड भिल्ला (३२)को स्थान सन् २०१८ सम्म नयाँ खेलाडीहरूले लिइसक्ने कतिपयको बुझाइ छ । यसक्रममा क्यामरुनको राष्ट्रिय टोलीका कप्तान ३३ वर्षीय सामुएल एटो पनि आगामी विश्वकपमा नदेखिने सम्भावना छ । त्यस्तै अर्को अफ्रिकी टोली आइभोरीकोष्टका स्ट्राइकर डिडिएर ड्रोग्बाको उमेर रुस विश्वकपमा ४० वर्ष पुग्ने हुनाले उनी पनि यो सूचीमा परेका छन् । त्यसैगरी उरुग्वेका ३५ वर्षीय फरवार्ड डिएगो फोर्लान, मेक्सिकोका कप्तान राफेल माक्र्वेज (३५) स्वीडिश स्ट्राइकर पनि यसपालि सम्भवतः अन्तिमपटक खेलेका खेलाडीमध्ये परेका छन् । एजेन्सी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।