रसुवामा चिलिमेको शेयर विक्रीका तीन केन्द

Share News

रसुवामा चिलिमेको शेयर विक्रीका तीन केन्द
अभियान संवाददाता
कात्तिक २९, नुवाकोट । चिलिमे जलविद्युत् कम्पनीले रसुवाका तीन स्थानमा विक्री केन्द्र राखेर शेयर खरीद आवेदन सङ्कलन गर्न थालेको छ । स्थानीयवासीलाई विक्री गरिने साधारण शेयरको आवेदन सङ्कलनका लागि कालिकास्थान, धुञ्चे बजार र  स्याफ्रुबेंसीमा केन्द्रको व्यवस्था गरेको कम्पनीले बताएको छ । गत बुधवारदेखि खुला गरिएको २७ करोड रुपैयाँबराबरको ९ लाख ६० हजार कित्ता शेयर आवेदन आगामी मङ्सिर २८ मा बन्द हुँदै छ । चिलिमेको उक्त शेयर हरेक रसुवालीलाई न्यूनतम १९ कित्ता पर्ने


निश्चित छ ।
 
चिलिमेले स्थानीयवासीलाई छुट्टयाएको शेयर कम्तीमा १० र अधिकतम २ सय कित्तासम्म भर्न सकिने बताएको छ । यो आयाजे नाबाट प्रत्यक्ष प्रभाव पर्ने चिलिमे,  स्याफ्रु र गोल्जुङ गरी तीन गाविसका जनताले १ सय रुपैयाँ र अन्य १५ गाविसका जनताले प्रिमियम ३ सय २३ रुपैया ७० पैसामा खरीद गर्न सक्नेछन् । शेयर किन्न नसक्ने तर इच्छुक रसुवावासीलाई जनता बैङ्क र मेगा बैङ्कले ८० प्रतिशत ऋण दिने भएका छन् । अहिले रसुवावासी शेयर आवेदन सङ्कलन केन्द्रमा शेयर खरीदका लागि आवेदन दिन तथा बैङ्कहरूमा खाता खोल्न जान थालेको बताइएको छ ।

सर्वसाधारणका लागि अङ्कित मूल्य -एक सय रुपैयाँ मा नै शेयर उपलब्ध गराउनु पर्नेलगायतका माग राखी दुर्गम नेपाल नामक गैह्रसरकारी संस्थाले सर्वोच्च अदालतमा रिट दर्ता गराएको थियो । राजनीतिक दल तथा स्थानीयवासीबाट प्रिमियमदरमा नै शेयर खरीद गर्न मञ्जुर भई रिट फिर्ता लिई शेयर निष्कासन वातावरण सहज बनाउन संस्थालाई आग्रह गरेपछि संस्थाले रिट फिर्ता लिएको थियो । संस्थाका सचिव सुवास आचार्यका अनुसार रसुवावासीलाई शेयर खरीद गर्न बैङ्कले ऋण प्रवाह गराउन चिलिमे कम्पनीले पहल गर्नुपर्ने र ब्याजभन्दा बढी कम्पनीले लाभांश दिनुपर्ने सहमति भएको छ ।

लामो विवाद र विरोधपछि भएको सहमतिबाट चिलिमेको शेयर सर्वसाधारणले पाएका हुन् । चिलिमेले ९ लाख ६० हजार कित्ता शेयर रसुवा जिल्लाभित्र स्थायी बसोबास गर्ने बासिन्दाका लागि छुट्टयाएको छ । जसमध्ये आयोजनाले उद्योग प्रभावित गाविस  स्याफ्रु, गोल्जुङ र चिलिमेका लागि एकसय रुपैयाँ प्रतिशेयरका दरले ३ लाख ३६ हजार कित्ता शेयर छुट्टयाएको छ । बाँकी १५ गाविसका लागि ३ सय २३ रुपैयाँ ७० पैसा प्रतिशेयरका दरले ६ लाख २४ हजार कित्ता शेयर सुरक्षित गरिएको हो । एक अर्ब ५० करोड अधिकृत पूँजी रहेको चिलिमेको जारी पूँजी रू. १ अर्ब ४० करोड छ । चिलिमेले २२ दशमलव एक मेगावाट जलविद्युत् उत्पादन गर्दै आएको छ ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।