एमआईटीको कोसेली ‘फिङ्गर रिडर डिभाइस’

Share News

अब औंलाको सहायताले नै दृष्टिविहीनले पनि सजिलै पढ्नसक्ने
 
दृष्टिविहीन मानिसले साधारण अक्षरहरू पढ्न सक्तैनन् । तिनले पनि पढ्न सकून् भन्ने सोचका साथ ब्रेल प्रणालीको विकास गरिएको हो । यस प्रणालीमा उठाइएका थोप्लाबाट शब्द निर्माण गरिन्छ । हत्केलाको स्पर्शका आधारमा तिनको पहिचान गर्न सकिन्छ । यो पढ्नका लागि विशेष तालीमको भने आवश्यकता पर्छ । तर, अब भने दृष्टिविहीन मानिसले पनि एउटा उपकरणको सहायताले साधारण अक्षर पनि पढ्न सक्नेछन् । हो, एमआईटी (मासाच्युसेट्स इन्ष्टिच्युट अफ टेक्नोलोजी)का वैज्ञानिकहरूले अहिले दृष्टिविहीनका लागि अडियो रिडिङ डिभाइसको विकास गरिरहेका छन् । यो उपकरणलाई हातको चोर औंलामा लगाइन्छ । यसले दृष्टिविहीन मानिसलाई साधारण शब्दमा सहज पहुँच बनाउन सहयोग मिल्ने एमआईटीले बताएको छ ।

‘फिङ्गर रिडर’ नाम दिइएको उक्त उपकरणको प्रोटोटाइप (नमूना) थ्रीडी प्रिण्टरको सहायताले उत्पादन गरिएको हो । यसलाई हातको चोर औंलामा औंठीझैँ लगाउन सकिन्छ । यस उपकरणमा क्यामराको व्यवस्था गरिएको छ । यो क्यामराले अक्षरहरू स्क्यान गर्ने गर्छ । यसरी अक्षर स्क्यान गरेपश्चात् उपकरणमा रहेको प्रणालीले आवाज निकाल्दै शब्दहरू उच्चारण गर्छ । यसले अन्य भाषामा रहेका किताबहरू, रेष्टुराँको मेनुलगायतको अनुवादसमेत गर्न सक्छ ।

 यसको प्रयोग गर्ने तरीका पनि निकै सहज रहेको छ । आफूले पढ्न चाहेको विषयमा प्रयोगकर्ताले त्यसमा रहेका अक्षरतिर आफ्ना औंला तेस्र्याए पुग्दछ । यसमा रहेको विशेष सफ्टवेयरले शब्दको पहिचान गरी आवाज निकाल्दै तिनलाई पढ्न थाल्छ । प्रयोगकर्ताले कुनै शब्द छुटाई अन्यतिर औंला तेस्र्याएमा यसले कम्पन उत्पन्न गरी अक्षर वा शब्द छुटेको जानकारीसमेत दिने उपकरणका विकासकर्ता रोय सिल्क्रोट बताउँछन् । यसले दृष्टिविहीनलाई आफ्नो आवश्यकताअनुसार सहज तरीकाले लेखिएका सामग्री अध्ययन गर्न सघाउ मिल्ने उनको भनाइ छ ।

बजारमा यस्तै प्रवृत्तिका अन्य अप्टिकल रिडरहरू पनि उपलब्ध रहेको दृष्टिविहीन जेरी बेरियर बताउँछन् । तर, छिनको छिनमै शब्द पहिचान गरी सूचना प्रदान गर्ने क्षमता भने तिनमा नरहेको उनले बताए । फिङ्गर रिडरको पोर्टेबिलिटी (सजिलै बोकेर लान सकिने) तथा यसको कार्यक्षमताले आफूजस्ता दृष्टिविहीनलाई निकै सहयोग मिल्ने उनको दाबी छ । ‘डाक्टरकहाँ जँचाउन जाँदा कुनै पनि फारममा हस्ताक्षर गर्नुपूर्व मलाई त्यो पढ्न पाए हुन्थ्यो भन्ने लाग्छ,’ उनले भने, ‘तर, अब यो उपकरण साथमा भएपछि म ढुक्क भई हस्ताक्षर गर्न सक्छु ।’ बेरियर हाल दृष्टिविहीन तथा सुन्न नसक्ने मानिसहरूलाई तालीम दिने गर्छन् । उनी हाल मासाच्युसेट्सको पर्किन्स स्कूल फर ब्लाइण्डका तर्फबाट मासाच्युसेट्स तथा ¥होडे आइज्ल्याण्डमा रहेका श्रवण शक्तिविहीन तथा दृष्टिविहीन मानिसका लागि सस्तोमा प्रविधि उपलब्ध गराउन सङ्घीय कार्यक्रमका अनुसन्धानकर्ताका रूपमा समेत कार्यरत छन् ।

फिङ्गर रिडर प्रोटोटाइपका बारेमा अध्ययन गर्ने समूहका अगुवा तथा एमआईटीका प्राध्यापक प्याटी मायसले यो उपकरणको प्रयोग गर्दा औंलाको टुप्पोले पढेको अनुभव हुने बताए । साथै, उनले बजारमा उपलब्ध अन्य उपकरणका तुलनामा यो सर्वाधिक लचिलो तथा तीव्र गतिको कार्यक्षमतासहितको भएकोसमेत जानकारी दिए ।

उपकरणको विकासका लागि दृष्टिविहीन मानिसलाई परीक्षणमा सम्मिलित गरिएको थियो । विभिन्न अनुसन्धान, यसको डिजाइनका बारेमा प्रतिक्रिया सङ्कलन तथा सफ्टवेयर कोडिङ गर्न एमआईटीलाई ३ वर्षको समय लागेको बताइएको छ । अझै पनि बजारमा ल्याउनुपूर्व यसको विकासमा गरिनुपर्ने अनेक काम बाँकी रहेको सिल्क्रोटले बताए । फोनमा समेत यसको प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ अनुसन्धान जारी रहेको उनले बताएका छन् । यसका विकासकर्ताहरूले खर्च मितव्ययी मूल्यमा यो उपकरण बजारमा उपलब्ध गराउन सकिने बताए पनि यसको विक्रीमूल्य कति हुने भन्नेबारेमा भने अझै निक्र्योल भइनसकेको उनले बताए ।

अहिले बजारमा उपलब्ध यस्तै प्रवृत्तिका प्रविधिले अक्षर स्क्यान गर्ने गर्छ । तर, पढ्नका लागि उपकरणलाई कम्प्युटर वा स्मार्टफोनमा जडान गरी पुनः विभिन्न प्रक्रिया पार गर्नुपर्ने हुन्छ । जसका कारण तत्काल सूचना पाउनबाट यसका प्रयोगकर्ता वञ्चित हुन्छन् । नयाँ उपकरणले ब्रेललाई विस्थापन गर्ने आफ्नो उद्देश्य नरहेको र त्यसो गर्न नसकिनेसमेत उनले स्पष्ट पारेका छन् । उपकरणको उद्देश्य दृष्टिविहीन मानिसले पनि आँखा देख्ने मानिसले झैँ असङ्ख्य लिखित सामग्रीमाथि आफ्नो पहुँच बनाउन सकून् भन्ने भएको उनले बताए ।

साधारण प्रिण्टेड किताबमा दृष्टिविहीनले औंला सार्दै जाँदा सीधा रेखाबाट औंला नहटोस् भन्ने सोचका साथ यसमा छुट्टै प्रणालीको समेत व्यवस्था गरिएको छ । यसका लागि विकासकर्ताले निकै लामो तथा कठिन परिश्रम गर्नुपरेको थियो । साथै, प्रयोगकर्तालाई लेखको शुरुआत र अन्त्यका बारेमा समेत जानकारी दिन यसमा विशेष अलर्ट प्रणाली (सिष्टमको व्यवस्था) रहेको छ । यसो गर्न फिङ्गर रिडरमा कम्पन उत्पन्न गराउने विशेष कम्पन (भाइब्रेशन) मोटर र अडियो क्यूको व्यवस्था गरिएको बताइएको छ । यो उपकरणको सहायताले कागजपत्र, किताब, म्यागेजिन, पत्रिका, कम्प्युटर स्क्रिनलगायत अन्य उपकरणमा लिखित सामग्री पढ्न सकिन्छ । तर, अहिले पनि टच स्क्रिनमा रहेका अक्षर पढ्न भने उपकरणमा समस्या रहेको सिल्क्रोटले बताएका छन् । ‘टच स्क्रिनमा औंलाको स्पर्श हुँदा स्क्रिनमा रहेका अक्षरहरूसमेत चल्ने हुँदा समस्या पर्न गएको हो,’ उनले भने, ‘यसको समाधानका लागि टच स्क्रिनका केही कार्यप्रणाली बन्द गर्नुपर्ने हुन्छ ।’

मितव्ययी मूल्यमा यसको उत्पादन गर्न सके दृष्टिविहीन मानिसका लागि यो प्रमुख उपयोगी सामग्रीका रूपमा समेत विकसित हुने बेरियरले अनुमान लगाए । ‘यसले मजस्ता दृष्टिविहीनको जीवनमा रहेको रिक्त स्थान परिपूर्ति गर्न उल्लेख्य सहयोग मिल्नेछ,’ उनले भने, ‘यो उत्पादनले हामीलाई समाजमा थप उत्पादक बन्नसमेत सहयोग मिल्छ ।’
— एजेन्सीहरूको सहयोगमा

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।