पत्थरजडित गरगहनाकोमाग बढ्दो : गरगहना विशेष

Share News


विगत १ महीनामा सुनका गरगहनाको खपत शतप्रतिशत वृद्धि भएको छ । गत असार महीनासम्म दैनिक १५ किलोग्राम सुनमात्र खपत हुँदै आएको नेपाली बजारमा भदौ शुरू  भएसँगै सुनका गरगहनाको व्यापार बढ्न थालेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । यद्यपि, गतवर्ष तीज नजिकिँदै जाँदा दैनिक ४० देखि ४५ किलोग्राम सुनका गरगहना विक्री भएकोमा अहिले भने ३० किलोग्राममै सीमित रहेको शाक्यले बताए ।

बैङ्कहरूमा तरलता बढेको र उपभोक्ताको क्रयशक्तिमा वृद्धि भएको समाचारसँगै सुन बढी खपत हुने आकलन गरेका व्यवसायीलाई नजिकिँदै गरेको तीजले पनि हौस्याउन भने सकेन । शाक्यले भने, ‘यस वर्ष सुनका गरगहना व्यवसायमा खासै उत्साह देखिएको छैन, तर पनि असारको तुलनामा बजार केही फस्टाएको भने छ ।’ गतवर्षको तुलनामा सुनको भाउ रू. ४ हजार बढेका कारणले पनि यस वर्ष सुनप्रति उपभोक्ताको आकर्षण नबढेको हुन सक्ने उनले बताए । ‘गतवर्ष तीजअघि प्रतितोला ५१ हजार ६ सय रहेको सुनको भाउ यस वर्ष बढेर ५४ हजार ६ सय रुपैयाँ पुगेको छ ।’ क्रयशक्ति बढे पनि महँगो सुनले उपभोक्तालाई आकर्षण गर्न नसकेको व्यवसायीको भनाइ छ । तर, तीजसँगै सुन बजारमा केही चहलपहल भने थपिएको छ ।

पछिल्लो समयमा पत्थरजडित गरगहनाको माग बढी भएको व्यवसायीहरू बताउँछन् । उपभोक्ताको इच्छाअनुसार १४ क्यारेटदेखि २३ क्यारेटसम्मको सुनमा पत्थर जोडेर यस्ता गहना कम तौलमा पनि तयार पार्न सकिने बताइन्छ । पत्थरजडित गहना आकर्षक हुनुका साथै मूल्य पनि कम पर्ने रिद्धिसिद्धि ज्वेलर्सका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रकुमार गुप्ताले जानकारी दिए । उनका अनुसार यस वर्ष हीराको औंठी, जन्तर, चन्द्रमा, चुरालगायत गहनाको माग अत्यधिक बढेको छ । तीजसँगै बढेको व्यापारले ६ महीना खस्किएको व्यापार धान्न सक्ने भएको उनले बताए । उनका अनुसार विदेशमा नेपाली मौलिक गरगहनाको माग प्रशस्त छ । तर, सरकारबाट व्यवसाय प्रवद्र्धन गर्ने नीतिनियम बन्न नसक्दा निर्यात गर्न नसकिएको उनीहरूको गुनासो छ ।

गहना निर्यातका लागि सबैभन्दा पहिला सरकारले सुन आयातको सीमा हटाउनुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन् । नेपाल राष्ट्र बैङ्कले सुन आयातको सीमा तोकेका कारण बजारमा अनियमितता सृजना भएको सम्बद्ध व्यवसायीले बताएका छन् । ग्राहक पैसा तिरेर किन्न चाहन्छ भने नियामक निकायले सिलिङ लगाउनुपर्ने आवश्यकता नभएको उनीहरूको धारणा छ । साथै, यस्तो व्यवस्थाले कालोबजारीलाई आश्रय दिएकाले व्यवसायीमैत्री सुन निर्देशिका ल्याउनुपर्नेमा उनीहरूले जोड दिएका छन् । सरकारले गत आवमा ल्याउने भनिएको उक्त निर्देशिका विगत १३ महीनादेखि थन्किएको छ । सोमवार सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबीच निर्देशिकामाथि छलफल भए पनि सरकारले सो निर्देशिकाको टुङ्गो लगाउन भने सकेन । गहनाको डिजाइन र तौलअनुसार २० प्रतिशतसम्म जर्ती काट्न पाउनुपर्ने व्यवसायीले माग राखेका छन् । उनीहरूका अनुसार जर्ती गहना बनाउँदा खेर जाने भाग हो । गहना बनाउँदा निस्कने धूलोलाई पगालेर स–साना बुट्टा बनाउनुपर्ने भएकाले गहनाको डिजाइनअनुसार उक्त परिमाणसम्म जर्ती काट्न पाउनुपर्ने महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बताए । तर, सरकार भने जर्तीमा व्यवसायीले भनेजति छूट दिन तयार छैन । ढिक्का सुनमा जस्तो तयारी गहनामा चौबीसै क्यारेट गुणस्तर कायम गर्न नसकिने भएकाले क्षम्य सीमा (टोलेरेन्स) पनि घटीमा २ प्रतिशतसम्म व्यवस्था हुनुपर्ने माग पनि व्यवसायीले राखेका छन् । सरकारले व्यवसायीलाई सहभागी नै नगराई निर्देशिका ल्याउने तयारी गरेको भन्दै शाक्यले त्यसरी ल्याउन ल्याइने निर्देशिका मान्य नहुने बताए ।

अहिले नेपालभरका सुनचाँदी व्यवसायमा १ हजार २ सय व्यवसायी र १ लाख ५० कालीगढ संलग्न छन् । त्यसमध्ये सुनको काम गर्ने १ लाख र चाँदीको मात्र काम गर्ने ५० हजार कालीगढ छन् । ती कालीगढमध्ये ८० प्रतिशत भारतीय छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।