नेपाली एप्सको बढ्दो लोकप्रियता
अहिले आफ्नो साथमा मोबाइल नबोक्ने मानिस विरलै होलान् । करीब चौबीसै घण्टा मानिसको साथ वा नजिक रहने योे उपकरण सबैको प्रिय बनेको छ । हाल मोबाइल टेलिमार्केटिङ वा अन्य विभिन्न एप्लिकेशनको सहायताले सम्बन्धित उत्पादनबारे उपभोक्तालाई जानकारी दिने प्रमुख माध्यम बन्दै आएको छ । विशेषगरी व्यापारिक घरानाहरू मोबाइल ‘एप्स’मार्फत एकैपटक धेरै मानिससम्म पहुँच बनाएर व्यवसाय बढाउनेतर्फ जुट्न थालेका छन् । साथै, नवप्रवर्तनात्मक सोचका अहिलेको आईटी पुस्तालाई मोबाइल एप्सले रोजगारीका नयाँ अवसरसमेत सृजना गरिदिएका छन् । स्मार्टफोनलगायत अन्य मोबाइल उपकरणमा चल्ने इण्टरनेट एप्लिकेशन वा प्रोग्रामलाई मोबाइल एप्लिकेशन अर्थात् मोबाइल एप्स भनिन्छ । पश्चिमी मुलुकहरू यस्ता एप्सको विकासमा धेरै अगाडि बढेको पाइन्छ । त्यहाँका ठूला कम्पनीहरूले अहिले मोबाइल प्रोजेक्ट (आयोजना)मा ठूलो लगानी गरिरहेका छन् ।
नेपालमा मोेबाइल एप्सको अवधारणा धेरै अघि भित्रिएको हो । तर, दक्ष जनशक्तिको अभावमा पहिले यो व्यवसाय आउटसोर्सिङमा सीमित थियो । यसअघि बजार उपलब्ध एण्ड्रोइडलगायत स्मार्ट उपकरणहरूमा अन्य देशमा निर्मित एप्सको प्रयोग हुन्थ्यो । तर, यसको व्यावसायिक सम्भावना बुझेका नेपालीको सङ्ख्या क्रमिक रूपमा बढ्दै जाँदा अहिले स्वदेशमै पनि मोबाइल एप्स क्षेत्रमा नवप्रवर्तनात्मक क्रान्ति आएको देखिन्छ । यसले आईटी ज्ञान भएका तथा यस क्षेत्रसँग सम्बद्ध जनशक्तिलाई स्वरोजगारीका अवसर सृजना भएको छ ।
यस्ता एप्सको सङ्ख्या अहिले सयौं पुगिसकेका छन् । तीमध्ये प्रयोगकर्तामाझ अत्यन्त लोकप्रिय हुन सफल केही एप्सबारे सङ्क्षिप्त जानकारी :
नेपाल लोडशेडिङ
यो एपले नेपाल विद्युत् प्राधिकरणले समयसमयमा गर्ने लोडशेडिङको तालिकाबारे प्रयोगकर्तालाई जानकारी दिने गर्छ । लोडशेडिङको मारमा परेका जनता तथा नेपाल घुम्न आउने पर्यटकमाझ अहिले यो एप विशेष लोकप्रिय छ ।
नेपाली पात्रो
नेपाली तिथि–मितिलगायतको बारेमा जानकारी लिन यो एप अत्यन्त उपयोगी छ । यसमा विक्रम संवत्बाट इस्वी संवत्, फरेन एक्सचेञ्जलगायतबारे जानकारी पाउन सकिन्छ ।
पेन्गुइन जम्प म्याथ
यो एउटा रमाइलो खेल हो । खेलमा पेन्गुइनलाई मुख्य पात्रको रूपमा प्रस्तुत गरिएको छ । यसमा पेन्गुइनलाई आइसब्लकमाथि टेकाउँदै घरसम्मको यात्रा गर्नुपर्ने हुन्छ । अधिकांश प्रयोगकर्ताले फुर्सदको समय व्यतीत गर्न यो खेल खेल्ने गर्छन् ।
बत्ती गयो
नेपालमा हुने लोडशेडिङको समय तालिकाका बारेमा जानकारी लिन उपयुक्त माध्यमको रूपमा यसले काम गर्छ । लोडशेडिङको तालिका समयसमयमा अपडेटसमेत गरिने हुँदा सर्वसाधारण तथा पर्यटकमाझ यो एप लोकप्रिय छ ।
एन लोकेट
आफू उभिएको क्षेत्रका बारेमा राम्रो जानकारी लिन यो एप निकै उपयोगी छ । यसले वरिपरिका स्थानबारे पनि आवश्यक जानकारी उपलब्ध गराउँछ । यसकारण सवारी चालक तथा पर्यटकहरूले रूट एवम् स्थानका बारेमा जानकारी लिन यसको व्यापक प्रयोग गर्छन् ।
नेपाली लिरिक्स
नेपाली सङ्गीतिक जगत्का हजारौं गीतको ‘लिरिक्स’ अर्थात् शब्दहरू यो एपमा उपलब्ध छन् । आफ्नो मन पर्ने गीतको शब्दसँगै गीत गुनगुनाउन चाहनेका लागि यो निकै सहयोगी छ ।
नेपाल खबर
नेपालभरका समाचार प्राप्त गर्ने प्रभावकारी माध्यमका रूपमा यो एप रहेको छ । यसमा राजनीति, अर्थ, मनोरञ्जन, खेललगायत विभिन्न क्षेत्रका समाचार उपलब्ध हुने गर्छन् ।
इजी डायल
एनटीसी, एनसेल, यूटीएललगायत दूरसञ्चार सेवा प्रदायकहरूको रिचार्ज, ब्यालेन्स थाहा पाउनेलगायत कार्यमा यो एप निकै सहयोगी छ । यसको सहायताले कुनै कोड स्मरण नगरिकनै सजिलै सेवा प्रदायकको सुविधा लिन सकिन्छ ।
(विभिन्न वेबसाइटको सहयोगमा)
नेपालमा निर्मित लोकप्रिय मोबाइल एप्स
प्राविधिक क्षेत्रमा नेपाली पनि धेरै अगाडि छन् भन्ने स्पष्ट प्रमाण दिन सफल भएका छन् नेपाली एप्स डेभलपर(विकासकर्ता)हरू । अहिले दैनिक जीवनमा उपयोगी, मनोरञ्जनात्मक, व्यावसायिकलगायत विभिन्न प्रवृत्तिका एप्सको निर्माण नेपालमै हुन थालेको छ । नेपाली दक्ष जनशक्तिबाट निर्मित यस्ता एप्स विशेष लोकप्रियसमेत बन्न सफल छन् । नेपालमै निर्मित लोकप्रिय केही मोबाइल एप्स :
- नेपाल लोडशेडिङ
- ग्लो रेसर
- एप काष्टर
- आइडियोम डिस्नर
- नेपाली अडियो बूक
- नेपाल खबर (बेटा)
- कलब्रेक रेकर्ड
- नेपाल शेयर मार्केट
- टुकी
- नेपाल न्यूज रिडर
- लर्न नेपाली
- ई–सेवा
- अनलाइन बगैंचा
- क्लास सेड्युल
- सिम्पल क्याल्कुलेटर
- नेपाल ट्याक्स क्याल्कुलेटर
- मङ्की जम्प
- क्याफे मःमः
- क्वायन टस
- पेन्गुइन जम्प म्याथ
- बाउन्सिङ बल्स
- एनलोकेट
- लष्ट एट सी
- रेनड्रप म्याथ
- नेपाली रेसिपिज
- नेपाली पात्रो
- इजी डायल
- नेपाली डेट कन्भर्टर
- बल्स च्यालेञ्ज
- नेपाली लिरिक्स
- द क्लाउड रनर
- पोखरा
- एग ड्रप
- बबल पप
- बत्ती गयो
- हिल क्लाइम्ब रेसिङ
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।