अहिले सामाजिक सञ्जालको लोकप्रियता बढ्दो क्रममा छ । विश्वभर नै यसका प्रयोगकर्ताको सङ्ख्या दिनानुदिन बढ्दै गएको पाइन्छ । सामाजिक सञ्जालप्रतिको बढ्दो ‘क्रेज’को फाइदा उठाउँदै कतिपयले यसलाई आफ्ना उत्पादन तथा ब्राण्ड प्रवद्र्धनका लागि समेत प्रयोग गर्न थालेका छन् । हाल सामाजिक सञ्जाललाई सम्बद्ध कम्पनीहरूले आफ्ना उत्पादनको विज्ञापनका लागि सस्तो एवम् सरल विकल्पका रूपमा समेत लिन थालेका छन् । फेसबूक, ट्वीटर, लिङ्क्डइन, गूगल प्लसलगायतलाई यसका उदाहरणका रूपमा लिन सकिन्छ ।
सामाजिक सञ्जालमा जति धेरै मानिसहरूसँग सम्बन्ध स्थापित भयो उति नै राम्रो मानिन्छ । उदाहरणका लागि प्रख्यात सामाजिक सञ्जालमा जति धेरै व्यक्तिले सम्बन्धित कम्पनी, उत्पादन, सेवा वा व्यक्ति स्वयम्को पेजलाई ‘लाइक’ गर्छन् उति नै त्यो पेज सफल मानिन्छ । त्यस्तै, अर्को प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरमा पनि जति धेरै ‘फलोअर’ उति नै राम्रो अर्थात् सफल मानिन्छ । यसै कुरालाई ध्यानमा राखी आफ्नो एकाउण्ट वा पेजमा ‘फलोअर’ वा ‘लाइक’ सङ्ख्या बढाउन तथा तिनलाई ब्राण्ड वा आफ्नै प्रवद्र्धनका लागि उपयोग गर्न केही सरल तथा साधारण उपाय यहा“ प्रस्तुत गरिएको छ:
सान्दर्भिक परिचय :
फेसबूक, ट्वीटर, लिङ्क्डइनलगायतमा आफ्नो बारेमा लेख्दा सान्दर्भिक तथा आवश्यक कुरा मात्र उल्लेख गर्नुपर्छ । अपत्यारिला तथा बढाई–चढाई गरी लेखिएका परिचयले मानिसमाझ त्यसको आकर्षण घटाउँछ । त्यस्तै, यदि तपाईं कुनै विशेष उत्पादनको प्रवद्र्धन गर्न चाहनुहुन्छ भने त्यसमा पनि माथिको कुरा नै लागू हुन्छ । परिचयकै सहायताले आफ्ना तथा पेजका बारेमा राम्रो जानकारी दिन सक्नु पनि एक प्रकारको खुबी नै हो । साथमा पेजका फलोअरले भविष्यमा के–कस्ता जानकारी प्राप्त गर्न सक्छन्, आफ्ना पोष्टहरू के–कस्ता विषयमा आधारित हुन्छन् भन्ने विषयबारे पनि स्पष्ट जानकारी दिनु आवश्यक छ । यसो गर्दा इच्छुक मानिस तपाईंका फलोअर हुन्छन् वा उनीहरूले तपाईंले चाहनुभएको पेज ‘लाइक’ गरिदिनेछन् ।
ब्लग व्यवस्थापन:
आफ्ना लागि उपयुक्त फलोअरको सङ्ख्या बढाउन ब्लगको भूमिका अपरिहार्य छ । यसको सहायताले आफ्ना अन्य सामाजिक सञ्जाललाई समेत आकर्षक तथा उपयोगी बनाउन सकिन्छ । आफूले पोष्ट गरेका सूचनामा कसैले कमेण्ट गरेमा त्यसको प्रतिउत्तर दिन समय छुट्ट्याउनु आवश्यक छ । पेजको आकर्षण कायम राख्न आफू र अन्य प्रयोगकर्ताबीच राम्रो अन्तरक्रिया हुन पनि उत्तिकै आवश्यक छ । तसर्थ, आफ्ना ब्लग पोष्टहरू फेसबूकलगायत सामाजिक सञ्जालमा समेत शेयर गर्न मिल्ने बनाउन सकिन्छ । अन्यले समेत तपाईंका विचार आफ्ना साथीहरूसँग शेयर गरेमा फलोअर सङ्ख्या बढाउन उल्लेख्य सहयोग मिल्छ । आफ्ना पोष्टलाई शेयर गरी दिन अन्य प्रयोगकर्तासँग आग्रह पनि गर्न सकिन्छ ।
सक्रिय प्रयोगकर्ता:
पेजमा रहेका प्रयोगकर्तालाई रमाइलो अनुभूति गराउनुका साथै पेज लाभदायक रहेको प्रत्याभूति गराउन समय–समयमा साधारण प्रतियोगितालगायत रमाइला कार्यक्रमको आयोजना गर्न सकिन्छ । आफ्नो पेजमा विशेष सक्रिय प्रयोगकर्तालाई समयसमयमा उपहारलगायतको व्यवस्था गर्नु पनि फाइदाजनक हुन्छ । यसबाट प्रयोगकर्तालाई समेत थप सक्रिय हुन हौसला मिल्छ । साथै, यसले नयाँ प्रयोगकर्ताको सङ्ख्या बढाउन सहयोग पु¥याउँछ । यस्ता कार्य गर्दा सम्बन्धित सञ्जालको नियमका बारेमा पनि उचित ध्यान पु¥याउनु आवश्यक छ । अन्यथा फाइदा उठाउने स्थानमा उल्टै जरीवानासमेत बुझाउनु पर्न सक्छ ।
ह्यास ट्यागको प्रयोग:
ट्वीटर, फेसबूक, इन्ष्टाग्रामका साथमा अहिले गूगलप्लसले समेत ह्यासट्यागको प्रयोग गर्ने अवसर मिलाएको छ । यसको प्रयोगले इच्छुक प्रयोगकर्तालाई सूचनासँग सम्बन्धित अन्य मिल्दाजुल्दा जानकारी प्राप्त गर्न सहयोग मिल्छ । तर, आफ्नो सन्देशमा अनावश्यक तथा अत्यधिक रूपमा भने यसको प्रयोग गर्न उचित हुँदैन । आफ्नो सन्देश वा सूचनामा आवश्यक मात्रामा मात्र यसको प्रयोग होस् भन्नेमा विशेष ध्यान दिनु आवश्यक छ । यसको उचित प्रयोगका बारेमा जानकारी नभएमा अन्य सफल प्रयोगकर्ताको एकाउण्ट वा पोष्टबाट सहयोग लिनु राम्रो हुन्छ ।
स्वसक्रियता:
सामाजिक सञ्जालमा आफ्नो सक्रियता थप विस्तार गर्नुहोस् । सामाजिक सञ्जालमा मानिसहरू अनौपचारिक तथा आफूसँग प्रत्यक्ष सरोकार राख्ने संवादहरू पढ्न रुचाउँछन् । तसर्थ, कुनै पनि संवाद प्रस्तुत गर्दा ती उपयोगी हुनेबारे पहिले नै निश्चय गर्नु आवश्यक छ । कसैले कुनै प्रतिक्रिया व्यक्त गरेमा प्रत्युत्तर दिँदा अन्य प्रयोगकर्ताले समेत तपाईंको मूल्याङ्कन गरिरहेका हुन्छन् भन्ने पनि याद राख्नुपर्छ । त्यसैगरी जिज्ञासामा प्रतिक्रियाको जवाफ फर्काउन धेरै समय लिनु राम्रो हुँदैन । किनकि, मानिसहरू आफ्ना जिज्ञासाको समाधान चाँडै होस् भन्ने चाहन्छन् ।
व्यक्तिगत रुचि देखाउनुहोस्:
आफ्नो पेजमा रहेका अन्य प्रयोगकर्ताहरूसँग सुमधुर सम्बन्ध स्थापित गर्न व्यक्तिगत सक्रियता देखाउनुपर्ने हुन्छ । यसो गर्दा प्रयोगकर्तामा उनीहरूप्रति तपाईंको रुचि राम्रो रहेको सन्देश जान्छ । यसले भविष्यमा तपाईं र उनीहरूबीचको सम्बन्ध थप सुमधुर र मजबूत बनाउन सहयोग पुग्छ । साथै, समयसमयमा उनीहरूको पोष्ट वा तिनले चाहेका वा सुझाएका पेजलाई आफूले पनि फलो वा लाइक गर्नु राम्रो हुन्छ । यसले सम्बन्ध दुईतर्फी बनाउन सहयोग पुर्याउँछ ।
सुरज महर्जन
एजेन्सीहरूको सहयोगमा
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।