समयसँगै प्रविधि पनि परिवर्तन भइरहन्छ । दिनानुदिन यसको परिमार्जित रूप हाम्रा सामु आइरहेका छन् । साथै, यी उपकरण कठिनसमेत बन्दै गएका छन् । उदाहरणका लागि, व्यक्तिगत कम्प्युटिङ उपकरण (स्मार्टफोन, ट्याब्लेट, ल्यापटप), अफिसियल सामग्री (वर्ड प्रोशेसिङ वा स्प्रेडसिट), कार्य सम्पादनका लागि प्रयोग हुने उपकरण (राउटर तथा सर्भर)का नौला स्वरूपलाई लिन सकिन्छ । केही समयअघि फोब्र्स डटकमले भेण्डरविल्ट विश्वविद्यालयको इन्ष्टिच्युट फर सफ्टवेयर इण्टिग्रेटेड सिष्टम विभागमा एक अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानमा विज्ञान तथा इञ्जिनीयरिङ अफ कम्प्लेक्स सफ्टवेयर रिलियण्टका विद्यार्थी सम्मिलित थिए । उनीहरूलाई उद्योग, शिक्षण संस्था तथा सर्वसाधारणलाई प्रविधिको प्रयोगमा सहज बनाउन अबका दिनमा आउने नौला प्रविधि तथा तीस“ग सम्बन्धित जान्नैपर्ने विषयबारे सोधिएको थियो । सोही अनुसन्धानमा आधारित निष्कर्ष यहाँ प्रस्तुत छ :
साइबर फिजिकल सिष्टम (सीपीएस)
भौतिक कुराहरूको नियन्त्रण गर्न प्रयोग हुने हार्डवेयर तथा सफ्टवेयरको एकीकृत रूप नै सीपीएस हो । यो मानिसको संलग्नता हुने तथा नहुने दुवै किसिमका हुन सक्छन् । एण्टिलक ब्रेक तथा स्वचालित मास ट्राञ्जिट प्रणाली (सब–वे) हाम्रा सामु रहेका यसका उदाहरण हुन् । यसको विकसित रूपहरू, जस्तै– ड्राइभररहित स्वचालित कारलगायत प्रविधि सन् २०१४ भित्रै सार्वजनिक हुने सम्भावना छ । यसले मानिसको दिनचर्या सहज बनाउने भए तापनि कुनै बेला बिग्रिएमा भने समय, पैसा र जीवनकै क्षतिसमेत निम्त्याउन सक्छ । यिनै कुरालाई ध्यानमा राखी प्राविधिकहरू यसको थप विकासका लागि अहिले लागिपरेका छन् ।
क्लाउड स्टोरेज
व्यक्तिगत सूचना, मिडिया तथा अन्य डाटा सञ्चयका लागि क्लाउड स्टोरेजको प्रयोगमा अहिले व्यापकता आएको छ । इण्टरनेट सुविधा रहेको कुनै पनि स्थानबाट आफूद्वारा सञ्चित सामग्रीसम्म पहुँच बनाउन सकियोस् भन्ने अवधारणाले यसको विकास गरिएको हो । यही कारण यसको लोकप्रियतामा वृद्धि भएको भने प्रयोगकर्ताको सङ्ख्यासमेत उल्लेख्य बढेको छ । त्यसैले, यसको गतिमा कमी आउनुका साथै सुरक्षात्मक खतरा बढ्न थालेको बताइन्छ ।
औद्योगिक (इण्डष्ट्रियल) इण्टरनेट
लोकप्रिय सञ्चार संरचना (कम्युनिकेशन इन्फ्राष्ट्रक्चर)का रूपमा हाम्रा सामु आउँदै गरेको नयाँ प्रविधि हो– औद्योगिक इण्टरनेट । मानिस, डाटा तथा मेशिनसम्म पहुँच बनाउन तथा तिनलाई नियन्त्रण गर्न यसको प्रयोग गर्न सकिन्छ । क्लाउड स्टोरेज, कम्प्युटिङ सुविधा तथा विभिन्न सफ्टवेयरको उपयोग गर्दै सेन्सरका सहायताले मेशिन चलाउन यसले सहयोग गर्छ । जेट इञ्जिन, ग्यास टर्बाइनदेखि मेडिकल स्क्यानरलगायत उपकरण यसको मद्दतले चल्नेछन् । सही व्यक्तिलाई सही समयमै उचित जानकारी दिने क्षमतायुक्त यो प्रविधिले भविष्यमा निकै लोकप्रियता पाउने अनुमान छ ।
थ्रीजी/फोरजी/फाइभजी
जी भन्नाले जेनेरेशन (पुस्ता) भन्ने बुझिन्छ । साधारण रूपमा भन्नुपर्दा हरेक जेनेरेशन परिवर्तन भएसँगै इण्टरनेटको गतिमा पनि सुधार आउने गर्छ । अमेरिकाका ताररहित इण्टरनेट सुविधा प्रदायक तथा उपकरणका निर्माता अहिले आफ्नो सुविधा थ्रीजीबाट फोरजीमा स्तरोन्नति गर्नेतिर लागिपरेका छन् । अहिलेको सुधार तथा स्तरोन्नतिको प्रगति हेर्दा फाइभजी इण्टरनेट सुविधा अब धेरै पर नरहेको अनुमान गर्न सकिन्छ ।
एडभान्ष्ड म्यानुफ्याक्चरिङ
सूचनाप्रविधिसँग सम्बन्धित प्रणाली र उत्पादकले आफ्नो उत्पादनकोे गुणस्तर वृद्धि गर्न उपयोग गर्ने विभिन्न उपायको एकीकृत रूपलार्ई नै एडभान्ष्ड म्यानुफ्याक्चरिङ भनिन्छ । प्रयोगकर्ताको माग तथा चाहनाका आधारमा अहिले उत्पादनहरूमा अत्याधुनिक प्रविधिको प्रयोगले व्यापकता पाउन थालेको छ, जसले गर्दा तिनको प्रयोगसमेत कठिन हुन थालेको छ । यस्ता उत्पादन तयार गर्न धेरै समय तथा लगानीको आवश्यकता पर्दछ । यसरी मूल्य तथा समयको लागतमा कमी ल्याउन र्यापिड प्रोटोटाइपिङ र कम्प्युटर मोडलिङलगायत उपाय अपनाउने गरिन्छ ।
बिग डाटा
साधारण डाटाबेस व्यवस्थापन प्रोग्रामबाट सङ्ग्रह तथा मूल्याङ्कन गर्न असम्भव हुने ठूला आकारका डाटालाई बिग डाटा भनिन्छ । यस्ता डाटा व्यवस्थित वा अव्यवस्थित दुवै प्रवृत्तिका हुन सक्छन् । व्यावसायिक हिसाब, ईमेल सन्देश, फोटो, सर्भेयिन्स भिडियो, साइबरमा गरिने क्रियाकलाप आदि यसका उदाहरण हुन् । साथै, ब्लग तथा सामाजिक सञ्जालमा पोष्ट गरिएका ठूला डाटासमेत यसमा पर्दछन् ।
साइबर सेक्युरिटी
साइबरमा रहेका सूचना, जानकारी तथा साइबरमा जडित उपकरणलगायतलाई सुरक्षित राख्न अपनाइने प्रयासलाई साइबर सेक्युरिटी भनिन्छ । क्लाउड स्टोरेजलगायत सञ्चय सुविधाको अत्यधिक प्रयोगका कारण यसको आवश्यकता झन् बढ्न थालेको छ । भाइरस, हानिकारक कोड तथा अन्य व्यक्तिबाट आफ्नो सूचनाको अनधिकृत प्रयोगबाट जोगिन यसको थप परिमार्जित रूपको आवश्यकता महसूस गर्न थालिएको छ ।
आग्र्र्युमेण्टेड रियालिटी
हलिऊड अभिनेता आरनोल्ड स्वाजनेगरद्वारा अभिनीत ‘टर्मिनेटर’ फिल्ममा देखाइए झैं भौतिक संसारमा रहेका चिजबिजको जानकारी बटुलेर आँखासामु ल्याउन सघाउने प्रविधिलाई आग्र्युमेण्टेड रियालिटी भनिन्छ । प्राविधिक उपकरणको सहायताले यो कुरा वास्तवमै यथार्थ सावित हुन लागेको छ । यो उपकरण सार्वजनिक भएपश्चात् कपडा पसलेले आफ्ना ग्राहकलाई विशेष प्रोग्रामको सहायताले तिनले मन पराएको कपडा तिनले लगाउँदा कस्तो देखिन्छ भनी लुगा परिवर्तन नगरिकनै देखाउन सक्नेछन् । त्यसैगरी, घर निर्माणमा लागेका कामदारले घरको भित्ता डिजाइनअनुरूप बने÷नबनेको मापन आफ्नै आँखाबाट उपकरणका सहायताले गर्न सक्नेछन् । यस्ता कार्य आग्र्युमेण्टेड रियालिटीको सहायताले निकट भविष्यमा यथार्थ पुष्टि हुने देखिन्छ ।
एजाइल डेभलपमेण्ट मेथड
सूचनाप्रविधिको सुविधालाई थप सहज बनाउने सिद्धान्तको उपज हो– एजाइल डेभलपमेण्ट मेथड । एजाइल सफ्टवेयर विकास प्रक्रियाले कोडलाई सहज, बढी अनुसन्धान तथा प्रयोगकर्तालाई थप सहज अनुभव दिने उद्देश्य राख्दछ । यसले ग्राहकलाई एकैपटक ठूला तथा कठिन उपकरण दिनुभन्दा उपकरणको विकास क्रममै तिनको आवश्यकताअनुसार स–साना परिमार्जन गर्दै त्यसको विकास गरिन्छ ।
म्यासिभ ओपन अनलाइन कोर्स (एमओओसी)
वेबमा आधारित एकैपटक धेरै जनालाई सिकाउने उद्देश्यले सञ्चालित कोर्स वा कक्षालाई एमओओसी भनिन्छ । इण्टरनेट सुविधाको प्रयोग गरी सिक्न सकिने यी कक्षा सबैका लागि खुला हुन्छन् । यसले परम्परागत कक्षाको अवधारणालाई ठूलै चुनौती दिने देखिन्छ ।
प्रस्तुति : सुरज महर्जन
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।