विश्वास रेग्मी
काठमाडौं । चाडपर्व नजिकिएसँगै विभिन्न ब्राण्डका मोबाइल वितरकले पनि फरकफरक नाममा छूट सुविधा उपलब्ध गराउन थालेका छन् । दशैं, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गर्दै उनीहरूले नगद छूटसहित लक्की ड्रमार्फत विभिन्न उपहार प्रदान गर्ने योजना अघि सारेका हुन् । यस्ता चाडपर्वमा ग्राहकले खर्च गर्न सक्ने आधार तुलनात्मक रूपमा बलियो हुने भएकाले वितरकहरू एकआपसमा छूटको प्रतिस्पर्धा गरिरहेका छन् । यस्ता चाडपर्वमा प्रदान गरिने छूटले बजारमा छिट्टै स्थान बनाउन सक्ने सोचले पनि वितरकहरूले आफ्नै शैलीमा छूट दिने गर्छन् । धेरै ग्राहकहरू दशैँमा पाइने छूटको अवसर प्रतीक्षा गरेर बसिरहने हुँदा पनि वितरकका लागि यो विक्री बढाउने राम्रो मौका पनि बनेको छ । यसबाहेक चाडपर्वकै समयमा विदेशबाट फर्किएका नेपालीहरूले पनि उपहारको रूपमा मोबाइल दिने प्रचलनलाई उनीहरूले छूटको माध्यमबाट आकर्षित गरेको पाइन्छ ।
मोबाइल वितरकका अनुसार चाडपर्वको समयमा उपलब्ध गराइने यस्ता छूटले सामान्य अवस्थामा भन्दा २० प्रतिशतसम्म विक्री बढाउने गर्छन् । मध्यमस्तरका स्मार्टफोनको विक्री यो समयमा बढी हुने विक्रेताहरूको भनाइ छ । वितरकले पनि यो समयमा प्रिमियम मोडलका भन्दा मध्यमस्तरका स्मार्टफोनमा छूट दिने गरेका छन् । न्यूनतम ५ हजारदेखि २५ हजार रुपैयाँसम्मका मोबाइलमा वितरकहरूले यसअघि नै छूटको घोषणा गरेका छन् । तर, कतिपयले भने दशैंलाई लक्षित गरेर मात्रै पनि ‘प्याकेज’मा छूट सुविधा दिने गरेका छन् । यसपटक फिचर तथा बार फोनभन्दा स्मार्टफोनमा ग्राहकका लागि छूट सुविधा उपलब्ध गराइएको छ । स्मार्टफोनको प्रयोग बढ्दै गएकाले पनि वितरकहरूले पुराना मानिने फिचर तथा बार फोनको विक्रीलाई त्यति महŒव दिएको पाइँदैन । बजारमा स्थापित तथा स्थापित हुने क्रममा रहेका विभिन्न ब्राण्डका मोबाइलमा ग्राहकले विशेष छूट सुविधा पाउनेछन् ।
सामसुङ सोलिड क्याश ब्याक योजना
गतवर्ष चाडपर्वलाई लक्षित गरेर एसएमएसमार्फत पुरस्कार प्राप्त गर्न सक्ने ‘एसएमएस एण्ड विन’ योजना ल्याएको सामसुङ मोबाइलले यो वर्ष भने केही फरक किसिमको योजना अघि सारेको छ । ‘सोलिड क्याश ब्याक’ नाम दिइएको यो वर्षको योजनामा ग्राहकले सामसुङ मोबाइल खरीद गरेबापत तत्काल १६ हजार रुपैयाँसम्म नगद फिर्ता पाउन सक्नेछन् । सामसुङ मोबाइलको नेपालस्थित आधिकारिक विक्रेता इण्टरनेशनल मार्केटिङ सर्भिसेस प्रालि (आईएमएस)का अनुसार ग्राहकलाई तत्काल उपहार प्राप्त गरेको अनुभव गराउन यो योजना अघि सारिएको हो ।
कार्बनको ‘मोबाइलले हान्यो छक्का’ योजना
कार्बन मोबाइलको नेपालस्थित आधिकारिक विक्रेता एलाइड टे«ड लिङ्क इण्टरनेशनल प्रालिले दशैंतिहार लक्षित गर्दै ‘कार्बन मोबाइलले हान्यो छक्का, २ वर्षको वारेण्टी पक्का’ नाममा नयाँ योजना सार्वजनिक गरेको छ । आगामी कात्तिक १४ गतेसम्म सञ्चालन हुने यो योजनाअन्तर्गत ग्राहकले मोबाइल खरीद गर्दा २ वर्षको वारेण्टीसहित अन्य ६ ओटासम्म थप सुविधा प्राप्त गर्न सक्नेछन् । स्क्र्याच कुपनमार्फत १० हजार रुपैयाँसम्म नगद, दुईपटकसम्म निःशुल्क सर्भिसिङको व्यवस्थासहित कार्बन स्मार्टफोनको खरीदमा ८ जीबी मेमोरी कार्ड निःशुल्क प्राप्त गर्न सक्ने छन् । त्यस्तै, खरीदकर्तामध्ये एकजना विजेतालाई भारतको गोवा भ्रमणको अवसरसमेत कार्बन मोबाइलले प्रदान गर्नेछ ।
माइक्रोम्याक्स मोबाइलमा आकर्षक उपहार
कुनै विशेष नाम नदिए पनि माइक्रोम्याक्स मोबाइलका खरीदकर्ताले दशैं र तिहारको अवसरमा विभिन्न उपहार पाउने भएका छन् । यो मोबाइलको नेपालस्थित आधिकारिक विक्रेता पशुपति टे«ड लिङ्कका अनुसार माइक्रोम्याक्स ब्राण्डका ८ हजार रुपैयाँभन्दा बढी मूल्यका मोबाइल खरीदमा ग्राहकलाई विभिन्न उपहारको व्यवस्था गरिएको छ, जसअनुसार एकजना विजेताले सुजुकी जिक्सर मोटरसाइकलसहित स्पिकर, टेलिभिजनलगायत विभिन्न उपहार प्राप्त गर्न सक्नेछन् ।
कलर्सको १६ नयाँ मोडल
कलर्स मोबाइलको विक्रेता टेलिटक प्रालिले चाडपर्व लक्षित विशेष उपहार योजना सार्वजनिक नगरे पनि ग्राहकका लागि नयाँ मोडल भने उपलब्ध गराउने भएको छ । कम्पनीका अनुसार उपहार योजनाभन्दा पनि ग्राहकका लागि नयाँ मोडलको प्रयोग बढाउने किसिमबाट अघि बढ्ने योजना छ । कम्पनीले चाडपर्व लक्षित गरी यस अवधिमा १६ ओटा नयाँ मोडल सार्वजनिक गरेको जानकारी दिएको छ । विभिन्न संस्करणमा यी मोबाइल उपलब्ध गराइने बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।