सुरज महर्जन
काठमाडौं । प्रविधिको सहायताबाट घरको समेत डिजाइन अब नौलो रहेन । तर, कसैले त्यस्तै प्रविधिको सहयोगले घर नै बनाउन सकिन्छ भन्दा अपत्यारिलो लाग्न सक्छ । अझ प्रविधिमा आएको परिवर्तनका कारण अब भोक लागेमा खानासमेत थ्रीडी प्रिण्टरले नै बनाउन सक्छ भन्ने सुन्दा त आश्चर्य पनि लाग्न सक्छ । तर, यो सम्भव हुँदै गएको छ । आगामी केही समयमा थ्रीडी प्रिण्टरले अहिले अपत्यारिलो र काल्पनिक लाग्ने कुरा साकार पार्ने सम्भावना बढ्दै गएको हो ।
थ्रीडी प्रिण्टरका बारेमा केही समयअघि अमेरिकाका राष्ट्रपति बाराक ओबामाले भनेका थिए, ‘यो प्रविधिमा हरेक वस्तुको निर्माण गर्न सक्ने क्रान्तिकारी क्षमता छ ।’ मानिसको जीवन सुविधापूर्ण र सहज बनाउन नयाँनयाँ प्राविधिक आविष्कार हुँदै आएका छन् । यसै क्रममा अहिले सर्वाधिक महŒवका साथ लिइएका प्रविधिमध्ये थ्रीडी प्रिण्टर पनि हो । वैज्ञानिक तथा विशेषज्ञहरू भविष्यमा यस प्रविधिको सहायताले खेलौना र जुत्ताका साथै कार, जेट विमानका पार्टपुर्जा तथा बिल्डिङसमेत बनाउन सकिने बताइरहेका छन् ।
के हो थ्रीडी प्रिण्टिङ ?
सन् १९८४ मा थ्रीडी प्रिण्टरको डिजाइन चाल्र्स डब्ल्यू हलले गरेका थिए । अहिले यस प्रविधिबाट ‘म्यानुफ्याक्चरिङ’को संसारमा क्रान्तिकारी परिवर्तन आउने आशा गरिएको छ । थ्रीडी प्रिण्टरले असङ्ख्य सामग्री उत्पादन तथा प्रिण्ट गर्न सहयोग गर्छ । पहिले फोटो प्रिण्ट गरिए झैं यसको सहायताले विभिन्न किसिमका भौतिक सामग्री उत्पादन गर्न सकिन्छ ।
व्यापक लोकप्रिय हुने
थ्रीडी प्रविधिका विशेषज्ञ जुडे पी गियाकोमेली, ए स्मेडबर्गलगायतले यो प्रविधिले भविष्यमा व्यापक लोकप्रियता पाउने दाबी गरेका छन् । यस प्रविधिको मद्दतले आफूलाई आवश्यक सामग्री घरमै उत्पादन गर्न सकिने उनीहरू बताउँछन् । यसले गर्दा मानिसलाई बजारसम्म पुगी आवश्यक सामग्रीको खोजी गर्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने देखिन्छ । अझ यसो गर्न मानिसले आवश्यक सामग्रीको डिजाइनसमेत गर्नुपर्दैन । किनकि, इण्टरनेटमै थ्रीडी चित्र तथा प्रिण्टिङका लागि आवश्यक सामग्रीबारे विस्तृत जानकारी पाउन सकिन्छ ।
उपयोगी एवम् सस्तो प्रविधि
थ्रीडी संसारसँग आबद्ध मानिसहरू समयसँगै यो प्रविधिको मूल्य कम हुँदै जाने बताउँछन् । मूल्यमा आउने कमीका साथै यससम्म आममानिसको सहज पहुँचसमेत बन्ने उनीहरूको अनुमान छ । साथै, भविष्यमा यसको मागमा पनि व्यापक वृद्धि हुने उनीहरूको अनुमान छ ।
विस्तृत हुँदै थ्रीडी प्रिण्टरको प्रयोग
टेली मेडिसिन
थ्रीडी प्रिण्टरको प्रयोग हुने क्षेत्र पनि अहिले विस्तारै बढ्दै गएका छन् । यसको प्रयोग बढ्दै गएको क्षेत्रमध्ये टेली मेडिसिन पनि हो । भविष्यमा थ्रीडी प्रविधिका माध्यमबाट धेरै रोगको उपचारमा उल्लेख्य सहयोग मिल्ने विशेषज्ञहरू बताउँछन् ।
खाना बनाउने प्रिण्टर
स्पेनको एक कम्पनीले खाना बनाउने थ्रीडी प्रिण्टरको विकास गरिसकेको छ । कम्पनीले यसको नाम ‘फुडिनी’ राखेको छ । यसको सहायताले आफूलाई मनपर्ने परिकार बनाउन सकिने बताइएको छ । यसका लागि सेफले पहिले खानाको डिजाइन कम्प्युटरमा बनाउँछन् । सेफले दिएको डिजाइनका आधारमा प्रिण्टरले खाना प्रिण्ट गरी पस्कने कम्पनीले बताएको छ । तर, उपकरणले खानाको स्वाद भने निर्धारण गर्न अझै नसकेको बताइएको छ । यसको उपयोगिता डिजाइनमै सीमित रहेको समाचारमा उल्लेख छ । अहिले अमेरिकी अन्तरराष्ट्रिय अन्तरिक्ष संस्था ‘नासा’ पनि अन्तरिक्ष यात्रीहरूको भोजनका लागि यस्तै नमूनाको परीक्षणमा लागेको छ ।
प्रिण्टरबाटै घर तयार
केही समय अघिमात्र विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन मिडियाहरूले साउथ क्यालिफोर्निया विश्वविद्यालयका प्रोफेसर बेहरोख खाशनेविसले पूरै घर निर्माण गर्न सक्ने थ्रीडी प्रिण्टर निर्माण गरेको समाचार प्रसार गरेका थिए । समाचारमा प्रिण्टरको सहायताले एकै दिनमा पूरै घर निर्माण गर्न सकिने उल्लेख छ ।
हतियार निर्माण
थ्रीडी प्रविधिको सहायताले सुरक्षा उपकरणहरूको पनि डिजाइन गर्न सफलता प्राप्त भएको छ । केही समयअघि अमेरिकी वैज्ञानिकहरूले थ्रीडी प्रिण्टर र कम्प्युटर डिजाइनको सहायताले ‘लिबरेटर पेस्तोल’ बनाएका थिए । यो पेस्तोलको निर्माणमा प्लाष्टिकको प्रयोग गरिएको थियो । प्लाष्टिकबाट निर्मित भए तापनि यसमा गोली भने सक्कली नै प्रयोग हुन्छ । सामान्य पेस्तोलका तुलनामा यसरी निर्मित पेस्तोलको मूल्य सस्तो पर्ने वैज्ञानिकहरूले बताएका छन् ।
कारलगायत सामग्री
थ्रीडी प्रिण्टरलाई भविष्यको कार प्रविधिका रूपमा समेत हेर्न थालिएको छ । यसैबीच, अमेरिकाको एरिजोनाको एक कम्पनीले संसारकै पहिलो थ्रीडी प्रिण्टेड कार बनाई सडकमा गुडाएर प्रदर्शन पनि गरिसकेको छ । त्यस्तै, स्वीडेनमा डिजाइनर नइम योसेफीले मेलोनिया नाम गरेको जुत्ता थ्रीडी प्रिण्टरबाटै निर्माण गरेका छन् । तर, यो जुत्ताको डिजाइन तथा निर्माणका लागि भने ठूलो रकम खर्च भएको बताइन्छ ।
(स्रोत : थ्रीडी प्रिण्टिङ डट नेटलगायत विभिन्न वेबसाइट)
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।