स्वस्थ जीवनशैली अपनाएमा पक्षघातबाट बच्न सकिन्छ

Share News

डा. राजु पौडेल
कन्सल्टेण्ट न्यूरोलोजिष्ट
ग्राण्डी इण्टरनेशनल हस्पिटल


पक्षघातका लक्षणहरू कस्ता हुन्छन् ?
  अचानक एकतर्फ मुख बाङ्गिनु, हात उचालेर राख्न नसक्नु, बोल्दाबोल्दै बोली लड्बडिनुलगायत पक्षघातका लक्षण हुन् । यस्ता लक्षण देखापरेमा पीडितलाई जति सक्दो चाँडो उपचारका लागि हस्पिटल पु¥याउनुपर्छ । लक्षण देखिएको ३ घण्टासम्ममा उपचार पाउन सके पीडितको बाँच्ने सम्भावना उच्च हुन्छ । त्यसपछि भने जोखीम क्रमिक रूपमा बढ्दै जान्छ ।

मानिसमा पक्षघातले कसरी असर गर्छ ?
  पक्षघात हुँदा दिमागसम्म रक्तसञ्चार सहज रूपमा हुन सक्दैन । यसले गर्दा हरेक सेकेण्ड  दिमागका ३२ हजार कोष मर्न थाल्छन् । क्रमशः मृत कोषको सङ्ख्या बढ्ने हुँदा मानिसको ज्यान जोखीममा पर्छ । तसर्थ, जति सक्दो चाँडो उपचार दिनु नै यस्ता रोगीको जीवन बचाउने एकमात्र उपाय हो ।

विश्व पक्षघात दिवसका लागि लिइएको नया“ नारामा महिलालाई केन्द्रमा राख्नुको कारण के होला ?

  पक्षघातको सम्भावना पुरुषको तुलनामा महिलामा न्यून हुने गरेको छ । त्यसैले, महिलामा पक्षघातबारे कम चेतना हुने गरेको पाइएको छ । यसकारण पक्षघातबाट पीडित १० मध्ये ६ जना महिलाको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँछ । त्यसैले, पक्षघातबाट महिला पनि अछूतो छैनन् । तिनमा पनि चेतनाको आवश्यकता छ भन्ने सन्देश फैलाउन अहिले यो नारा अपनाइएको हो ।

पक्षघात कति प्रकारका हुन्छन् ?

  दिमागसम्म रक्तसञ्चार रोकिँदा वा कम हुँदा स्ट्रोक हुन्छ । यसो हुँदा आवश्यक मात्रामा दिमागसम्म अक्सिजन वा पोषक तŒव पुग्दैन र दिमागका कोष मर्न थाल्छन् । विस्तृत रूपमा भन्नुपर्दा– आइसेमिक, हेमोरेजिक र टीआईए गरी तीन किसिमका स्ट्रोक हुन्छन् । यीमध्ये अधिकांशलाई आइसेमिक स्ट्रोक हुन्छन् । दिमागसँग जोडिएको नशा (आरटरी)मा रोकावट आउँदा वा यो खुम्चिँदा दिमागमा रक्तसञ्चार कम भई आइसेमिक स्ट्रोक हुन्छ । आरटरीमा रगत जम्नु वा अन्य नशामा रगत जमी त्यसको प्रवाह रोकिनु वा कम हुनु यसको प्रमुख कारण हो ।  

हेमोरेजिक स्ट्रोक कस्तो हो ?
  दिमागसँग जोडिएको आरटरी चुहिँदा वा यो फुट्दा हेमोजेजिक स्ट्रोक हुने गर्छ । यसरी नशाबाट चुहिएका रगतले दिमागमा चाप बढाउँछ र अन्ततः दिमागको कोषलाई नोक्सान पु¥याउँछ । चुहिएको रगत दिमागको बीचमा वा सतहमा पुग्ने गर्छ र दिमाग तथा खप्पर बीचमा रहेको खाली स्थानमा भरिन्छ । हाइपर्टेन्शन, ट्रोमा, अनियमित औषधि सेवन र नशा कमजोर हुनु यसका प्रमुख कारण हुन् ।

मानिसमा पक्षघात हुनुका प्रमुख कारण के–के हुन् ?

  अव्यवस्थित र अस्वस्थकर जीवनशैली नै पक्षघातको प्रमुख कारण हो । व्यायामको कमी, तनावपूर्ण जीवनशैली, सुर्तीजन्य पदार्थको सेवन, चिल्लो तथा जङ्कफूड बढी खाने बानीलगायत भएका मानिसमा पक्षघातको सम्भावना बढी हुन्छ । साथै, सुगर तथा डायविबटिज, ब्लडप्रेशरलगायत रोग भएका मानिसले नियमित औषधि सेवनमा हेलचेक्र्याइँ गर्दा पनि पक्षघातको सम्भावना बढ्छ ।

यसबाट जोगिन के गर्न सकिन्छ ?
  दैनिक जीवनशैलीमा सुधार ल्याउनुपर्छ । उदाहरणका लागि, पर्याप्त व्यायाम गर्ने तथा स्वस्थकर खानपिनको बानी अपनाउँदा धेरै हदसम्म पक्षघातबाट बच्न सकिन्छ । साथै, समय–समयमा रगतको परीक्षण गर्नु पनि आवश्यक छ । त्यसमा पनि सकेसम्म समग्र स्वास्थ्य परीक्षण गर्नु नै राम्रो हो । मुटुलाई स्वस्थ राख्न सके दिमाग बलियो हुन्छ । यसो गर्नेतिर विशेष ध्यान दिन सके पक्षघातबाट बच्न सकिन्छ । तर, पक्षघातको लक्षण देखिएमा वा भइहालेमा भने समयमै उपचार लिन र औषधोपचारमा विशेष ध्यान दिनुपर्छ । अन्यथा, ज्यानकै पनि जोखीम हुन सक्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।