लप्सी पतझड समूहमा पर्ने अमिलो जातको फल हो । ठूलो आकारको रूख हुने यसका भाले र पोथी बोट बेग्लाबेग्लै हुन्छन् । यसलाई नेपालको स्वदेशी बिरुवा पनि भनिन्छ । नेपालबाहेक यो उत्तरपूर्वी भारत, दक्षिणपूर्वी चीन, जापान, भियतनाम, थाइल्याण्ड र हङकङमा समेत पाइन्छ । नेपालमा केही समय अघिसम्म स्थानीयस्तरमै सीमित यो फलबाट हाल विभिन्न प्रकारका खाद्य सामग्री तयार पारी विदेश निर्यातसमेत हुन थालेको छ । यसको फलबाट अचार, क्याण्डी, पाउँ, तितौरालगायत परिकार बनाइन्छ । साथै, यसको बियाँ आगो बाल्न तथा दन्तमञ्जनमा प्रयोग गरिन्छ । यसको फलमा प्रशस्त मात्रामा भिटामिन सी पाइने हुँदा स्वास्थ्यका लागि यो अति उपयोगी मानिन्छ । लप्सीखेतीका लागि सहयोगी केही जानकारी यहाँ प्रस्तुत गरिएको छ :
हावापानी
लप्सीको खेती समशीतोष्ण हावापानी भएको (१ हजारदेखि १ हजार ५ सय मिटरसम्म) स्थानमा सफलतापूर्वक गर्न सकिन्छ । साधारणतया ७ सय ५० एमएमदेखि १ हजार एमएमसम्म वर्षा हुने स्थान लप्सी खेतीका लागि उपयुक्त मानिन्छ ।
माटो
लप्सीको जरा धेरै गहिराइसम्म जाने भएकाले कमसल माटोमा पनि यो सप्रिन्छ । तर, व्यावसायिक खेतीका लागि भने मलिलो, गहिरो (२–३ एम) निकासको प्रबन्ध भएको दोमट माटो राम्रो मानिन्छ । यसका लागि माटोको पीएच ६ देखि ७ हुन आवश्यक छ ।
जातहरू
सानो गोलाकार लप्सी र ठूलो लाम्चो गरी स्थानीय लप्सी दुई किसिमको पाइएको छ ।
रोप्ने समय र विधि
लप्सी रोप्ने उपयुक्त समय पुस–माघ हो । लप्सीका बिरुवा विभिन्न तरीकाबाट लगाउन सकिने भए तापनि समथर स्थानमा वर्गाकार रूपमा राप्ने विधि राम्रो मानिन्छ । त्यसैगरी, भिरालो जग्गामा भने कण्टुर तरीकाबाट बिरुवा रोप्नुपर्छ ।
बिरुवाबीचको दूरी
लप्सीको बिरुवा १० देखि १२ मिटर फरकमा रोप्नु राम्रो मानिन्छ । यसका बिरुवा प्रतिहेक्टर जमीन १ सयदेखि १ सय २० ओटासम्म रोप्न सकिन्छ । यसमा १० देखि १५ प्रतिशत भाले बोट पनि समावेश गर्नुपर्छ ।
खाडलको तयारी र रोप्ने तरीका
सर्वप्रथम रेखाङ्कन गरी खाडल खन्ने काम कात्तिक महीनामा गर्नुपर्छ । ३÷३ फीट गहिरो तथा लाम्चो हुने गरी खाडल खन्नुपर्छ । यसरी खनिएको खाडलमा एक डोको पाकेको कम्पोष्ट मल हाल्नुपर्दछ । खाडल भर्दा करीब ६ इञ्च उचाइजति माथि माटो उठेको हुनुपर्छ । बिरुवा रोप्न प्लाण्टिङ बोर्डको सहायता लिनुपर्छ । कलमी गरेको ठाउँभन्दा तल हुने गरी बिरुवा रोप्ने र टेका दिई बाँध्नुपर्छ । बिरुवा रोपिसकेपछि माटोको अवस्थाअनुसार सिँचाइ गरिरहनुपर्छ ।
मलखाद
लप्सीका बिरुवाले फल दिनुभन्दा अगाडि प्रतिबोट वार्षिक एक डोको तथा फल दिन शुरू गरेपछि दुई डोका प्राङ्गारिक मल दिनुपर्दछ । त्यस्तै, दोस्रो वर्षदेखि रासायनिक मल दिन शुरू गर्नुपर्छ ।
मल हाल्दा बेसिनको माटो हल्का खनजोत गरी माटोमा मिसाउनु्पर्छ भने रासायनिक मललाई बोटको फेद र छेउ किनारासम्मको दूरीको बीच भागमा करीब १५–२० सेमी चौडाइ र गहिराइ भएको कुलेसो बनाई औंठी आकार तरीकाले मल हाल्नुपर्छ । त्यसपछि तुरन्तै सिँचाइ गर्नुपर्छ ।
गोडमेल
फल टिपिसकेपछि मङ्सिर–पुस महीनामा गोडमेल गरी झारपात हटाउनुपर्छ । मलखाद राखिसकेपछि माघको अन्त्य वा फागुनको शुरूतिर छापो (मल्चिङ) राखेमा चिस्यान कायम रहनुका साथै झारपातसमेत नियन्त्रण हुन्छ ।
सिँचाइ
बिरुवालाई शुरुआती अवस्थामा नियमित रूपमा सिँचाइको आवश्यकता पर्छ । बिरुवा सरिसकेपछि पानी खासै आवश्यक पर्दैन । तर, ज्यादै सुक्खा मौसममा फूल फुल्नेदेखि फल लाग्ने बेलासम्म सम्भव भएसम्म सिँचाइ गर्नुपर्छ । त्यस्तै, वर्षायाममा निकासको प्रबन्धसमेत मिलाउनुपर्छ ।
काँटछाँट
शुरूमा बिरुवा रोपेपछि ४५ देखि ५० सेमीमा टुप्पो काँटिदिने, कलमी गरिएको जोर्नीभन्दा तल पलाएका मुना हटाउने गर्नुपर्छ । त्यस्तै, तीनदेखि चारओटा प्रारम्भिक ढाँचा बनाउने हाँगा हटाउनुपर्छ । यो काम ४ वर्षभित्र बिरुवालाई तालीम दिने कार्य सकेर ढाँचा बनाउने प्रारम्भिक र सहायक हाँगाको चयन सक्नुपर्छ । त्यसपछि अनावश्यक, रोग लागेका र भाँचिएका हाँगा हटाउनुपर्छ । काँटछाँट गर्ने कार्य पुस–माघ महीनामा गर्नुपर्छ । यसरी काटिएका ठाउँमा बोर्डोपेष्ट लगाउनुपर्छ ।
कलमी विधि
लप्सीका बिरुवा विभिन्न विधिबाट तयार पान सकिन्छ, जसमा कटिङ, ग्राफ्टिङ, बडिङ आदि मुख्य हुन् । तर, सबैभन्दा सरल र सफलता मिल्ने विधि चिप बडिङ हो । अरू विधिबाट कम सफलता मिल्ने र बढी खर्चिलो भएकाले सरकारी तथा निजीक्षेत्रका नर्सरीहरूमा चिप बडिङ विधि नै प्रयोग गरिन्छ । यस विधिबाट बिरुवा तयार गर्ने कार्य माघ महीना उपयुक्त देखिएको छ । तर, यसबारे अझै अध्ययन–अनुसन्धानको खाँचो देखिन्छ ।
फल टिप्ने समय
कलमीमार्फत तयार पारिएको बिरुवाले ३ देखि ४ वर्षभित्रै फल दिन शुरू गर्छ । फलको रङ पहेँलो हुन थालेपछि टिप्न शुरू गर्नुपर्छ । साधारणतया कात्तिकदेखि मङ्सिरसम्म फल टिप्न राम्रो हुन्छ । तर, कृषकले बजारको मागअनुसार भदौ महीनादेखि नै फल टिप्न शुरू गरेको पाइन्छ ।
टिप्ने तरीका
लामो बाँस वा निगालोको सहायताले फल टिप्ने चलन छ । फल टिप्दा तल जमीनमा प्लाष्टिक वा कपडा बिछ्याउनुपर्छ । यसरी टिप्दा दान हराउँदैन भने चोटपटक कम लाग्छ । एउटा वयष्क बोटबाट औसत २ सय केजी उत्पादन हुन्छ । लप्सीका दाना साधारणतया ३ हप्तासम्म छायाँदार कोठामा त्यत्तिकै राख्न सकिन्छ ।
लप्सीमा लाग्ने मुख्य रोग
१) एन्थ्राक्नोज
फलमा लाग्ने कालो थोप्ले रोग एन्थ्राक्नोज हो । यो रोग लागेपछि फल झरेर नोक्सान हुन्छ । यो रोगका कारण फलमा काला दाग देखापर्ने, फल सुकेको झैं देखिने तथा फलको प्राकृतिक स्वादमा समेत परिवर्तन हुन्छ ।
नियन्त्रण
डाइथेन एम–४५ प्रतिलिटर पानीमा २ दशमलव ५ ग्राम मिलाएर छर्कने । बोर्डो मिश्रण सुषुप्त अवस्थामा एकपटक, कोपिला फुट्ने बेलामा एकपटक र फल बढ्ने बेलामा एकटक छर्ने गर्नुपर्छ ।
लप्सी प्रशोधन विधि
१) माडा
-राम्रा लप्सीको फल छनोट गर्ने
-सफा पानीले राम्रोसँग पखालेर स्टील वा आल्मुनियमको भाँडामा पानी र फल राखेर उमाल्ने । यसले बोक्रा र बियाँ हटाई गुदी निकाल्न सजिलो हुन्छ ।
-यसरी निकालिएको लप्सीको गुदीमा चिनी, नून तथा अन्य मरमसला आवश्यकताअनुसार राख्ने र राम्ररी मुछ्ने ।
-त्यसपछि सफा भाँडोमा पातलो हुने गरी सेतो कपडाले छोपेर सुकाउने ।
-सुकेपछि आवश्यकताअनुसार टुक्रा बनाई प्लाष्टिकमा प्याक गरी बजारमा पठाउन सकिन्छ ।
(स्रोत : कृषि सूचना तथा सञ्चार केन्द्र)
नेपालमा लप्सीखेतीको इतिहास
नेपालमा कृषकलाई लप्सीका बीउबिरुवाकोवितरण २०२७÷२८ सालबाट शुरू भएको पाइन्छ । तर, ती बीउबिरुवा रोप्दा ७०–७५ प्रतिशत बोट भाले हुने हुँदा नफल्ने, पोथी बीउबाट बनेको बोट पनि १०–१२ वर्षपछि मात्र फल्ने भएकाले कृषकहरू मर्कामा परिरहेका थिए । यही समस्यालाई दृष्टिगत गरी २०४०÷४१ सालदेखि लप्सीको कलमी बिरुवा तयार पार्ने पद्धतिको अध्ययन–परीक्षण शुरू भयो । उक्त अध्ययन–परीक्षण सफल भएपछि २०५५÷५६ सालबाट तत्कालीन बागवानी केन्द्र, गोदावरीमा व्यापक रूपमा कलमी बिरुवा उत्पादन गरियो । यसले कृषकलाई ठूलो हौसला मिल्यो र उनीहरू लप्सी खेतीतर्फ निकै आकर्षित हुन थाले । त्यससँगै कलमी लप्सी बिरुवा उत्पादन निजीक्षेत्रबाट पनि हुन थाल्यो । यसरी तयार परिएका बिरुवाले ३–४ वर्षपछि नै उत्पादन दिन थाल्ने भएकोले लप्सीखेतीले व्यावसायिक रूप लियो । हाल आएर काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लामा यसको व्यावसायिक खेती गरिँदै आएको छ । त्यसैगरी, अहिले सरकारीस्तरबाट पनि यस खेतीलाई प्राथमिकता दिइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।