काठमाडौं । केही वर्षयता नेपालमा इन्फर्मेशन एण्ड टेक्नोलोजी (आईटी) प्रयोगकर्ताको सङ्ख्या बढेको छ । समयसमयमा भइरहने सूचनाप्रविधि मेला, टेलिकम्युनिकशनको पहुँच र बजारमा नयाँनयाँ उत्पादनको सहज उपलब्धताका कारण पनि यसका प्रयोगकर्ता बढेका हुन् । त्यसैले, अहिले वर्षेनि सूचनाप्रविधिसम्बन्धी मेलाको आयोजना हुने गरको छ । आईटी मेलाको शुरुआत भने २ दशकअघिबाट तत्कालीन कम्प्युटर एशोसिएशन अफ नेपाल (हाल क्यान महासङ्घ)ले गरेको हो । नेपालमा आईटीको क्षेत्रमा भएको विकास तथा यसको प्रयोगबारे जानकारी दिने उद्देश्यले क्यान महासङ्घले प्रत्यक वर्ष इन्फोटेक मेला आयोजना गर्दै आएको छ । यसैको निरन्तरतास्वरूप सूचनाप्रविधिको सबैभन्दा ठूलो मेला बुधवारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको छ । यसपटकको मेलालाई ‘सुबिसु क्यान इन्फोटेक २०१५ इन एशोसिएशन विथ डेलरइण्टेल बाई नियोटेरिक नेपाल’ नाम दिइएको छ । मेलाको उद्घाटन उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरेका हुन् । सूचनाप्रविधिसम्बन्धी नयाँ प्रडक्ट सुलभ तथा सस्तो मूल्यमा खरीद गर्न सकिने भएकाले क्यान इन्फोटक मेलामा धेरैको आकर्षण हुने गरेको छ । यसपटक ५ लाख अवलोकनकर्ताले मेला भ्रमण गर्ने क्यानका अध्यक्ष विनोद ढकालको अनुमान छ । गतवर्षको मेला ४ लाख ३१ हजार दर्शकले अवलोकन गरेको क्यानको तथ्याङ्क छ । सुबिसु शीर्ष प्रायोजक रहेको यसपटकको क्यान इन्फोटेकमा हलभित्र ४९ ओटा र हल बाहिर तीनओटा ब्राण्डिङ प्रदर्शनी कक्ष छन् । त्यस्तै, ट्रशमा १ सय ४४, ओपन स्पेस १४ र फूड स्टल ९ गरी २ सय १९ स्टल रहेको क्यानले जानकारी दिएको छ । नेपालको सूचनाप्रविधिको क्षेत्रमा ब्राण्डिङ बनिसकेको क्यान इन्फोटेक मेलामा अधिकांश सूचना प्रविधिसम्बन्धी कम्पनी सहभागी छन् । मेला प्रवेशका लागि यो वर्ष शुल्कमा पनि केही वृद्धि गरिएको छ, जसअन्तर्गत सर्वसाधारणका लागि १ सय ५० र विद्यार्थीका लागि ७५ रुपैयाँ निर्धारण गरिएको छ ।
क्यान इन्फोटेकका अवसरमा प्रत्येक वर्ष आईसीटी कन्फ्रेन्स आयोजना गरिँदै आएको छ । यस वर्ष पनि सरकारी पदाधिकारीहरूका साथ कार्यक्रम सञ्चालन गरिने ढकालले बताए । नीतिनियम र कार्यक्रम बनाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको कन्फ्रेन्समा निजी र सरकारी दुवै क्षेत्रको सहभागिता रहनेछ । कन्फ्रेन्समा आईटी क्षेत्रको विकासका लागि छलफल गरिने बताइएको छ । सरकारले आईटीको पहुँच सबै क्षेत्रमा पुर्याउन ई–गभर्नेन्स, ई–टुरिजम, ई–बिजनेश, ई–सेक्युरिटीजस्ता अवधारणा अघिसारेको छ । कन्फ्रेन्समा यसको आवश्यकता र सम्भावनाबारे पनि छलफल गरिने भएको छ । सूचनाप्रविधि मेलाले नीतिनिर्माण तहमा समेत सहयोग पु¥याउँदै आएको क्यानको दाबी छ । मेलाले एकातिर आईटी क्षेत्रको विकासमा सहयोग गरेको छ भने अर्कोतर्फ व्यवसाय वृद्धिमा पनि सहयोग गरेको छ । धेरै उपभोक्ताबीच एकैपटक आना प्रडक्ट विक्री तथा प्रदर्शन गर्न पाउने हुँदा यस्ता मेला व्यवसायीका लागि लाभदायक हुने सुबिसुका उपाध्यक्ष सन्तोष पुरी बताउँछन् ।
सफ्टवेयरको विकासका लागि पहल
दक्ष जनशक्ति, स्रोत र साधनको कमीले सफ्टवेयरको विकासमा प्रगति हुन सकेको छैन । क्यानका अनुसार अहिले देशमा करीब २ सयभन्दा बढी सफ्टवेयर कम्पनी छन् । नेपालमा सन् १९९८ देखि सफ्टवेयर उत्पादन हुन थालेको हो । स्वदेशी कम्पनीहरू ठूलो सङ्ख्यामा भए पनि अपेक्षित विकास गर्न नसकेको सम्बद्ध व्यवसायी बताउँछन् । अहिले पनि बैङ्क, स्कूल, कलेज, उद्योगमा प्रयोग हुने सफ्टवेयर विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । तर, केही कम्पनीमा भने स्वदेशी सफ्टवेयरकै प्रयोग हुन थालेको छ । आवश्यक प्रचार नहुनु र विदेशी सफ्टवेयरप्रतिको आकर्षणका कारण स्वदेशी सफ्टवेयर कम्पनीको विकास हुन नसकेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।