कीटनाशकको सुरक्षित प्रयोग गर्ने तरीका

Share News

बोट बिरुवा, बालीलगायतलाई कीराफट्याङ्ग्राबाट जोगाउन कीटनाशक औषधि उपयोगी हुन्छ । अहिले कीराफट्याङ्ग्राबाट फैलिने रोग निवारणका लागि समेत घरायसी प्रयोजनमा पनि कीटनाशकको प्रयोग बढ्दो छ । तर, यसको प्रयोग वा भण्डारण गर्दा आवश्यक सावधानी नअपनाए हानि गर्ने सम्भावना रहन्छ । त्यसैले, यसको सुरक्षा तथा भण्डारणका केही उपाय यहाँ प्रस्तुत गरिएको छ :

दिइएको निर्देशन पढ्ने र पालना गर्ने
अधिकांश कीटनाशक तथा नियन्त्रणमा सघाउने रसायनका डब्बा तथा प्याकेटहरूमा यसको प्रयोगमा अपनाउनुपर्ने निर्देशनसहितका सूचना उल्लेख हुन्छन् । यी रसायनको प्रयोग तथा भण्डारण गर्दा ती सूचना तथा निर्देशनको अनिवार्य रूपमा पालना गर्नु आवश्यक छ ।

सावधानी अपनाउने
कीटनाशक उत्पादनमा त्यसमा प्रयोग गरिएको रसायनबारे जानकारी तथा सावधानीका उपाय पनि दिइएका हुन्छन् । यसमा विषाक्तको मात्रा, प्रयोगको तरीकालगायत जानकारी हुन्छ । यसको पूर्ण पालना नगरिए रसायनले हानि गर्न सक्छ । तसर्थ, उत्पादनमा टाँसिएका सावधानीसम्बन्धी सूचनामा विशेष ध्यान दिनुपर्छ ।

प्रयोगका लागि सही उपकरणको छनोट
रसायन तथा कीटनाशकको प्रयोग गर्दा खाना पकाउने तथा घरायसी प्रयोजनमा आउने भाँडा प्रयोग गर्नु हँुदैन । यसो भएमा मानिसको स्वास्थ्यमा नराम्रो असर पर्छ । त्यसैले, रसायन विशेषकै लागि निर्धारण गरिएका उपकरणको प्रयोग गर्नु सुरक्षाका दृष्टिले राम्रो हुन्छ ।

आवश्यक मात्राको प्रयोग
रसायन तथा कीटनाशकमा टाँसिएको सूचनामा क्षेत्रफललगायत एकाइका आधारमा प्रयोग गरिनुपर्ने मात्रा उल्लेख गरिएको हुन्छ । तसर्थ, रसायनको प्रयोग गर्न लागेको जमीनको क्षेत्रफल वा अन्य एकाइका आधारमा आवश्यक मात्रा मात्र रसायन मिसाउनुपर्छ । प्रयोग गरिँदा बाँकी रहेका रसायन पुनः प्रयोगका लागि राम्रो मानिन्न । यदि पछिको प्रयोगका लागि बचाएर राख्नैपर्ने अवस्था भएमा खोलिएको मिति राम्ररी टिपोट गर्नुपर्छ ।

प्रयोगपछि उपकरण राम्ररी पखाल्ने
रसायन मिसाउन तथा प्रयोगका लागि चलाइएको उपकरण तथा भाँडोको प्रयोगपश्चात् राम्ररी पानीले पखाल्ने÷धुने गर्नुपर्छ । यसको सफाइ गर्दा पखालिएको फोहोर पानीको मुहानमा नजाओस् भन्नेमा विशेष ध्यान दिनुपर्छ । यसो गर्न नसकिए मुहानको पानी दूषित भएर स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । तसर्थ, पखाल्ने वा धुने कार्य इनार वा पानीको अन्य स्रोतभन्दा पर गर्नुपर्छ ।

सुरक्षा साधनको प्रयोग
कीटनाशक तथा रसायन जति कीराफट्याङ्ग्राका लागि हानिकारक हुन्छ, त्यति नै मानव स्वास्थ्यका लागि समेत खतरनाक हुन्छ । तसर्थ, तिनको प्रयोग गर्दा निम्न सुरक्षा साधनको प्रयोग गर्नु आवश्यक छ :
    - सुरक्षा चश्मा
    सुरक्षा चश्माको प्रयोग गर्दा रसायन तथा कीटनाशक आँखामा पस्ने खतराबाट जोगिन सकिन्छ ।
    - रबरका पञ्जा
    रबर, नियोप्रेन तथा अन्य रसायन प्रतिरोधात्मक पञ्जाले हातमा पर्न सक्ने खतराबाट जोगाउँछ । हातमा रसायन पर्दा छालाले यसलाई सोस्ने सम्भावना रहन्छ । यसो भएमा छालालगायत अङ्गमा असर गर्ने सम्भावना हुन्छ । तसर्थ, पञ्जाको प्रयोग गर्नु आवश्यक छ ।
    - पूरा बाहुला भएको शर्ट र लामो पाइण्ट
    रसायनको असरबाट छालालाई जोगाउने अर्को माध्यम यसको प्रयोग गर्दा पूरा बाहुला भएको शर्ट र लामो पाइण्ट लगाउनु हो । रसायन लगाउने प्रक्रिया पूरा भएपछि तिनलाई राम्ररी पखालेर सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्छ ।
    - रबर बूट
    रसायन प्रयोग गर्दा कपडा वा छालाका जुत्ता उपयुक्त मानिँदैन । तिनले रसायन सोस्ने तथा तिनमा रसायन जमेर बस्ने सम्भावना रहन्छ । तसर्थ, यस कार्यका लागि रबरबाट निर्मित विशेष बूटको प्रयोग गर्न विशेषज्ञहरू सुझाव दिन्छन् ।
    - सावधानी
    रसायन तथा कीटनाशक प्रयोग गर्दा चुरोट पिउने, पानीलगायत तरल पदार्थ खाने गर्नु हुँदैन ।
    - अन्य सतर्कता
    रसायन वा कीटनाशकको छरेका वा प्रयोग गरिएका स्थानमा सावधानी सूचनामा उल्लेख गरिएको समयावधिसम्म जनावर तथा मानिसलाई टाढा राख्नुपर्छ । छर्कने तरल रसायनको प्रयोग गरिएको अवस्थामा, छर्केको स्थानमा रसायन पूर्णतया नसुकेसम्म कसैलाई पस्न दिनु हुँदैन ।

घर वा वासस्थानमा प्रयोग गर्दा के गर्ने ?
घर वा वासस्थानमा रसायन वा कीटनाशकको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ । यस्ता स्थानमा प्रयोगका लागि बजारमा विषेश छुट्टै प्रकारका रसायन पाइन्छन् । तिनको प्रयोग गर्नुपूर्व ती स्थानमा रहेका लत्ताकपडा, किताब र खेलौंनाहरू हटाउनुपर्छ ।

म्याद समाप्त भएको रसायन प्रयोग नगरौं
रसायनको असर तथा तिनको प्रकार परिवर्तन हुने गर्छ । समयसँगै तिनको असर समाप्त हुने, थप विषाक्त हुनेलगायत असर देखिन सक्छन् । तसर्थ, रसायनको प्रयोग गर्नुपूर्व उत्पादित तथा त्यसको म्याद सकिने मितिबारे बुझ्नुपर्छ ।

मात्रा दोहोर्‍याउनुपर्दा के गर्ने ?
रसायन वा कीटनाशकको प्रयोगपछि पनि कहिलेकाहीँ तोकिएको समयभन्दा अगाडि कीराफट्याङग्रा पुनः फर्किने सम्भावना रहन्छ । यसो भएमा रसायन तथा कीटनाशकको पुनः प्रयोग गर्नुपर्ने हुन्छ । यस्तो भएमा रसायनमा उल्लेख भएको सावधानी अपनाउने वा विशेषज्ञको सल्लाह लिने गर्नुपर्छ । किनकि, अधिक मात्रामा रसायनको प्रयोग गर्दा माटो वा अन्य स्थानमा विषाक्तको मात्रा बढी हुने सम्भावना हुन्छ । यसले माटोको उर्वरता घटाउने तथा वातावरणमा समेत निकै नकारात्मक प्रभाव पार्न सक्छ ।

समयको छनोट
रसायन वा कीटनाशकको प्रयोगका लागि दिउँसोभन्दा बिहान सबेरै वा साँझको समय उपयुक्त मानिन्छ । यो समयमा दिनको तुलनामा हावाको बहाव कम हुन्छ । त्यसैले, रसायन छर्कंदा उडेर अन्यत्र जाने समस्या कम हुन्छ । साथै, मौरीलगायत कीराहरूमा यसले असर गर्न पाउँदैन ।

तरकारीमा कीटनाशक छर्कंदा सचेत हुने
केही रसायन अधिक समय क्रियाशील वा असरदार हुन्छ । तसर्थ, तरकारी तथा खान प्रयोग हुने बोटबिरुवामा तिनको प्रयोग गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ । रसायन बिरुवाले सोस्ने वा तिनको सतहमा जमेर रहने सम्भाना पनि हुन्छ । तिनको सेवन वा खानका लागि प्रयोग गर्दा मानव स्वास्थ्यमा नकारात्मक असर पर्छ । तसर्थ, यस्ता रसायन प्रयोग गर्दा विशेष सावधानी अपनाउने तथा विशेषज्ञको सल्लाह लिने गर्नुपर्छ ।

प्रस्तुति : सुरज महर्जन (एजेन्सीको सहयोगमा)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।