काठमाडौं । निर्माण क्षेत्रका विभिन्न ठाउँ र तहमा रहेर उत्कृष्ट काम गर्ने व्यक्ति र संस्थालाई सम्मान गरिने जगदम्बा स्टील एफक्यान एक्सिलेन्स अवार्ड समारोह होटल याक एण्ड यतीमा आज (शुक्रवार) हुँदै छ । तोकिएको समयभित्र गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीले प्राप्त गर्ने यस अवार्डको कार्यक्रमलाई नेपाल निर्माण व्यवसायी महाङ्घले झन् राम्रो काम गर्न व्यवसायीमा उत्साह भर्ने अवसरको रूपमा लिइएको बताएको छ । प्रत्येक वर्ष निर्माण दिवसको अवसरमा प्रदान गरिने उक्त अवार्ड यो वर्ष ४ महीना ढिलो वितरण हुने भएको हो । हरेक वर्ष मङ्सिर २२ गते पर्ने निर्माण दिवसमा अवसरमा यो सम्मान कार्यक्रम आयोजना हुँदै आएको थियो । यसरी नै ६ ओटा सम्मान कार्यक्रम सम्पन्न गरिएको थियो । तर, सम्मान शृङ्खलाको सातौं संस्करण भने १ सय १८ दिन ढिलो गरी चैत २० गते हुन लागेको हो ।
महासङ्घले यसअघि २७ विधामा यस्तो अवार्ड दिँदै आए तापनि यो वर्षदेखि ३४ विधामा पुरस्कार दिन लागेको छ । कार्यक्रममा मुलुकका विकास क्षेत्रमा उत्कृष्ट कार्य गर्ने निर्माण कम्पनी, विदेशमा निर्माण कार्य गर्ने उत्कृष्ट नेपाली कम्पनी, निर्माण व्यवसायमा उल्लेखनीय कार्य गर्ने नेपाली निर्माण व्यवसायी, उत्कृष्ट परामर्शदाता कम्पनी, उत्कृष्ट कार्य गर्ने महिला निर्माण व्यवसायी, उत्कृष्ट निर्माणमैत्री इञ्जिनीयरलगायतलाई सम्मान गरिनेछ । यसबाहेक निर्माण व्यवसाय क्षेत्रका विषयमा उत्कृष्ट समाचार सम्प्रेषण गर्ने दैनिक अखबार, रेडियो, टेलिभिजन र अनलाइन मिडिया पनि पुरस्कृत हुनेछन् ।
महासङ्घका अध्यक्ष शरदकुमार गौचन यस सम्मान कार्यक्रमले गुणस्तरीय काम गरेमा पुरस्कृत हुन सकिन्छ भन्ने सन्देश दिने बताउँछन् । साथै, यस क्षेत्रमा काम गरिरहेका र गर्न इच्छुकलाई पनि समयमै गुणस्तरीय काम गर्न प्रात्साहित गर्ने उनको भनाइ छ । नेपाली कर्मचारीतन्त्र, समुदाय र मिडियामा समेत निर्माण व्यवसायीलाई नकारात्मक चित्रण गरिने गरिएको, तर त्यस्तो काम हुनुको भित्री कारणको खोजी भने नगरिएको महासङ्घले बताएको छ । ‘व्यवसायीलाई आरोप लगाएर मात्र देश नबन्ने भएकाले उनीहरूको प्राविधिक तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्नुपर्नेमा महासङ्घले जोड दिएको छ । साथै, सबै पक्षबाट विश्वास गरेर कामको जिम्मेवारी दिने हो भने नेपाली निर्माण व्यवसायी नै सक्षम रहेको महासङ्घ अध्यक्ष गौचनले दाबी गरे । ‘सरकारले राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रा काम गर्नेलाई दण्ड गर्ने प्रणालीको विकास गरेमा महासङ्घ सधैं स्वागत गर्नेछ,’ उनले भने । यस्तो प्रणाली स्थापना गर्न अवार्ड कार्यक्रमले पनि सहयोग पुर्याउने उनको विश्वास छ ।
जगदम्बा स्टील एफक्यान एक्सिलेन्स अवार्डको मुख्य प्रायोजक जगदम्बा स्टीलका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले अवार्डलाई प्रायोजन गर्न पाउँदा खुशी लागेको बताए । ‘हामीले गरेको कामबाट पूर्वाधार निर्माण गुणस्तरीय बनाउन सहयोग पुगेको अनुभव गरेका छौं,’ उनले भने । साथै, यस अवसरमा गुणस्तरप्रति जनचेतना जगाउने र जगदम्बाको प्रचारप्रचार पनि प्रभावकारी रूपमा हुने उनको भनाइ छ । ‘हरेक वर्षजस्तै यो वर्ष पनि गुणस्तरलाई प्राथमिकतामा राखेर मूल्याङ्कन गरिनेमा विश्वस्त छौं,’ उनले भने ।
सातौं जगदम्बा स्टील एफक्यान एक्सिलेन्स अवार्ड कार्यक्रमका संयोजक तथा महासङ्घका वरिष्ठ उपाध्यक्ष विष्णुभाइ श्रेष्ठले अघिल्ला वर्षमा भएका कमजोरी यसपटक सुधारिएको जानकारी दिए । ‘समूह बनाएर कार्यविभाजन गरिएकाले भव्य तयारी भएको छ,’ उनले भने । उनका अनुसार ती समूहले प्रचारप्रसार कार्य, सांस्कृतिक कार्यक्रमको तयारी, उपहार, खादादोसल्ला व्यवस्था, होटलसँग समन्वय र व्यवस्थापन कार्य, अतिथि स्वागत कार्य, अवार्ड विधा तयार कार्य, सीटप्लान मिलाउने कार्य, पुरस्कार वितरण व्यवस्थित गर्नेलगायत कार्य गर्नेछन् ।
कार्यक्रम संयोजक श्रेष्ठले यस्तो सम्मान कार्यक्रमले निर्माण व्यवसायीलाई झनै गुणस्तरीय र समयमै काम गर्न प्रोत्साहन पुग्ने अपेक्षा गरिएको बताए । जगदम्बा स्टील्स प्रालि र महासङ्घको संयुक्त आयोजनमा हुने अवार्ड वितरण कार्यक्रमले राम्रो काम गर्नेलाई सम्मान पाइने शिक्षा मिल्ने कार्यक्रम उनको भनाइ छ । पुरस्कार तथा सम्मान मूल्याङ्कन समितिका संयोजक डा दीपक भट्टराईले सम्मानको प्रमुख आधार निर्माण कम्पनीले गरेको गुणस्तरीय कार्यलाई बनाइएको जानकारी दिए । यस अवार्ड कार्यक्रमले निर्माण व्यवसायमा मौलाएका विकृति हटाउन र नियन्त्रण गर्न महत्वपूर्ण हुनेछ,’ उनले भने । उत्कृष्ट निर्माण कम्पनी छनोट गर्न गाह्रो भएकाले पनि मापदण्ड बनाएर काम गरिएको उनले बताए । ‘हामीले सबै पक्षको अध्ययन गरेर सबभन्दा उत्कृष्टलाई छनोट गरेका छौं,’ उनले भने ।
महासङ्घका महासचिव रामशरण देउजाले यस्तो सम्मान कार्यक्रमले निर्माण व्यवसायीलाई थप जिम्मेवार बनाउँदै आफ्ना काम गुणस्तरीय ढङ्गले गर्न ऊर्जा प्रदान गर्ने बताए । उपमहासचिव विष्णु बुढाथोकीले आगामी दिनमा अवार्ड वितरण कार्यक्रमलाई अझ विस्तार गर्दै लैजाने जानकारी दिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।