काठमाडौं । सधैंजसो हुने लोडशेडिङकै कारण वैकल्पिक ऊर्जाको दरिलो स्रोत मानिएको ब्याट्रीको व्यवसाय नेपालमा बढ्दो छ । अहिले लोडशेडिङको अवधि घट्दा पनि दैनिक ८ कायम नै छ । यसले गर्दा अधिकांश जनता अँध्यारोमा बस्नुपर्ने बाध्यता छ । तर, वैकल्पिक ऊर्जाको रूपमा ब्याट्रीको प्रयोग बढेसँगै उपभोक्ताले राहतको महसूस गरेको सम्बन्धित व्यवसायीहरू बताउँछन् । ब्याट्रीको बढ्दो मागअनुसार नेपाली उद्योगीले यसको उत्पादन पनि बढाउँदै लगेका छन् । अहिले ब्याट्रीको मागमा वार्षिक करीब ३० प्रतिशत वृद्धि हुने गरेको सत्यदीप इण्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक दीपेन्द्रकुमार मिश्राले बताए । नेपालमा हवाई, अटो, सोलार, यूपीएस तथा इन्भर्टरलगायतका ब्याट्री उत्पादन भइरहेका छन् । लोडशेडिङ र ब्याट्रीको बजारबीच प्रत्यक्ष सम्बन्ध रहेको व्यवसायीहरू बताउँछन् ।
प्रायः लोडशेडिङको अवधि बढेको समयमा ब्याट्रीको विक्री बढ्छ । यही विषयलाई ध्यानमा राखेर व्यवसायीहरू रिचार्ज गर्न मिल्ने साना टर्च तथा तीनओटा सीएफएल बाल्न मिल्ने थोरै क्षमताको ब्याट्री उत्पादन गर्दै आएका छन् । अहिले बजारमा २ दशमलव ५ एम्पिएरदेखि बढी क्षमताका ब्याट्री उपलब्ध छन् । विशेषगरी मोटरसाइकलमा प्रयोग गरिने यस्ता ब्याट्रीलाई मोटरसाइकल सिरिज ब्याट्री पनि भनिन्छ । होण्डा, टाटा, मारुती, सुजुकी, महिन्द्रा, निशान, एक्साइड र भोल्टा बजारमा उपलब्ध केही विदेशी ब्राण्डका ब्याट्री हुन् । नेपालमा सबैभन्दा बढी भारत र बङ्गलादेशबाट ब्याट्री आयात हुन्छ । नेपालमा गतवर्ष अटो (चारपाङ्ग्रे) र इन्भर्टर ब्याट्रीमात्र १ लाख २५ हजार थान विक्री भएका थिए । त्यस्तै, मोटरसाइकल ब्याट्री २ लाख थान विक्री भएका थिए । पछिल्लो समयमा सौर्य प्रणालीमा ब्याट्रीको प्रयोग बढेको छ । यसले पनि नेपालमा ब्याट्रीको बजार विस्तार गर्न सघाएको छ ।
ब्राण्डमा प्रतिस्पर्धा
अहिले नेपाली बजारमा २० भन्दा बढी प्रमुख विदेशी ब्राण्डका ब्याट्रीको व्यापार हुँदै आएको व्यवसायीहरू बताउँछन् । मागमा भएको वृद्धिसँगै स्वदेशी तथा विदेशी ब्राण्डको उपस्थिति बढ्दै गएको उनीहरूको भनाइ छ । पछिल्लो समयमा नेपाली उपभोक्ताहरू ब्याट्रीको ब्राण्डप्रति सचेत हुँदै गएका छन् । गुणस्तरीय उत्पादनमा विक्रीपछिको सेवाको समेत सुनिश्चितता हुने भएकाले धेरैको आकर्षण ब्राण्डेड ब्याट्रीतर्फ बढेको हो । न्यून गुणस्तरीय ब्याट्रीको खरीदपछि मर्मत गर्नुपरेमा उपभोक्तालाई समस्या पर्ने गरेको एशिएन ब्याट्रिजका महाप्रबन्धक मनोजकुमार श्रेष्ठले बताए । त्यसैले, उपभोक्तालाई विक्रीपछिको सुलभ सेवासमेत दिने उद्देश्यले कम्पनीले स्वदेशमै ब्याट्रीको उत्पादन थालेको उनले जानकारी दिए । कम्पनीले काठमाडौंसहित देशभरका प्रमुख शहरमा विक्री सञ्जालमार्फत ब्याट्रीको व्यवसाय गरिरहेको छ । साथै, विक्रीपछिको सुलभ सेवाका लागि तालीमप्राप्त दक्ष प्राविधिकको व्यवस्था गरिएको उनले बताए । कम्पनीले उपत्यकामा चौबीसै उपलब्ध गराउँदै आएको सेवा देशका अन्य स्थानमा पनि विस्तार गर्ने योजना बनाएको छ । त्यसैगरी ईई पावर सोलुशनले पनि स्वदेशमै ब्याट्रीको उत्पादन थालेको छ । करीब ४ वर्ष परीक्षण उत्पादन गर्दै आएको कम्पनीले यही चैतदेखि बजारमा ईई एक्जिडा ब्राण्डमा ब्याट्रीको विक्री थालेको प्रमुख कार्यकरी अधिकृत कवीन्द्र श्रेष्ठले जानकारी दिए । कम्पनीले देशका १० जिल्लामा आफ्नो विक्री सञ्जालको स्थापना गरिसकेको छ ।
उपभोक्ता चेतनामा वृद्धि
नेपाली उपभोक्तामा बढेको चेतनाका कारण अहिले नन्ब्राण्डेड ब्याट्रीको बजार समाप्तिको सँघारमा पुगेको मिश्राको भनाइ छ । ‘उपभोक्ताहरू ब्याट्रीको खरीद गर्दा ब्राण्ड र गुणस्तरबारे सजग भइसकेका छन्,’ उनले भने, ‘त्यसैले, उनीहरू वारेण्टी तथा विक्रीपछि राम्रो सेवासुविधा उपलब्ध गराउने कम्पनीसँग मात्र खरीद गर्न थालेका छन् ।’ नन्ब्राण्डेड ब्याट्रीका विक्रेताबाट यस्तो सुविधा पाउन नसकिने उनको भनाइ छ । पहिले नन्ब्राण्डेड उत्पादन खरीद गरेका उपभोक्तासमेत हाल ब्राण्डेडप्रति आकर्षित भएको उनले बताए । अहिले ब्राण्डेड ब्याट्री विक्री गर्ने कम्पनीहरू उपभोक्तालाई दिने सेवासुविधामा तीव्र प्रतिस्पर्धा गरिरहेका छन् । यसले गर्दा पनि नन्ब्राण्डेड ब्याट्रीको भाविष्य समाप्त भइसकेको उनी बताउँछन् ।
सोलार उपकरणतिर ढल्कँदै व्यवसायी
नेपालमा अहिले उत्साहजनक रूपमा जलविद्युत् आयोजना निर्माण हुन थालेका छन् । लक्ष्यअनुसार आयोजना अघि बढे आगामी केही वर्षमा नेपालमा लोडशेडिङ समाप्त हुने देखिन्छ । त्यसैले, लोडशेडिङका बेला वैकल्पिक ऊर्जाको रूपमा प्रयोग गरिँदै आएको ब्याट्रीको बजार यसले घटाउने निश्चित छ । यसैलाई दृष्टिगत गर्दै आफूहरू वैकल्पिक व्यवसायको रूपमा सोलार उपकरणको विक्री थाल्ने योजनामा रहेको सम्बद्ध व्यवसायीहरू बताउँछन् । बजारमा अहिले पनि सोलार उपकरणको माग बढ्दो छ । विद्युतीय ऊर्जाको खपतमा कमी ल्याउन सघाउने तथा माग पनि बढ्दो हुनाले यस क्षेत्रतर्फ व्यवसायीको आकर्षण बढेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।