चालू वर्ष शिक्षा क्षेत्रको उपलब्धिलाई मिश्रित मान्न सकिन्छ । धेरै वर्षदेखि थाती रहेको एसएलसीमा लेटर ग्रेडिङ पद्धति यो वर्षबाट शुरू भएको छ । र, शिक्षा ऐन संशोधन प्रक्रिया अगाडि बढ्नु यो वर्ष शिक्षाक्षेत्रमा भएको ठूलो उपलब्धि हो । विसं २०१० देखि २०५८ सालसम्म सातओटा शिक्षा आयोग गठन भएका थिए । त्यसपछि शिक्षाका लागि कुनै आयोग बन्न सकेको थिएन । यो वर्ष उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन भएको छ । यसले शिक्षा पुनःसंरचना नीतिका लागि काम गर्नेछ । वर्षांैसम्म परिमार्जन हुन नसकेका विद्यालयदेखि विश्वविद्यालयसम्मका पाठ्यक्रमहरू परिमार्जन हुने भएका छन् ।
आर्थिक वर्ष २०६७/६८ मा कुल बजेटको शिक्षाक्षेत्रमा १७ दशमलव १० प्रतिशत विनियोजन भएको थियो । तर, यस आर्थिक वर्षमा शिक्षा क्षेत्रमा विनियोजन भएको बजेटको अंश त्यसबेलाको तुलनामा ३ प्रतिशत घटेको छ । अन्य देशहरूमा शिक्षाक्षेत्रका लागि कुल बजेटको २४ देखि २८ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनको ८ प्रतिशतसम्म खर्च छुट्ट्याइन्छ । नेपालमा हाल कुल गार्हस्थ्य उत्पादनको ४ प्रतिशतमात्र छुट्ट्याइएको छ ।
यस वर्षको एसएलसीमा नियमिततर्फ ४ लाखभन्दा बढी परीक्षार्थी सहभागी भए । अघिल्लो वर्षको तुलनामा विद्यार्थीको सङ्ख्या ३१ हजार बढेको छ । २०७० सालमा भएको एसएलसीमा पास हुनेको सङ्ख्या ४३ दशमलव ९२ प्रतिशत छ । यो २०६९ सालकोे एसएलसीको परीक्षाफलको तुलनामा २ दशमलव ५ प्रतिशत बढी हो । अब एसएलसीमा कोही पनि फेल हुनेछैनन् । २०७२ सालदेखि अक्षर ग्रेडिङको आधारमा प्रमाणीकरण गरिनेछ ।
हाल नेपालमा १० हजारको हराहारीमा निजी विद्यालय सञ्चालनमा छन् भने ३५ हजारको हराहारीमा सरकारी विद्यालय रहेका छन् । निजीस्तरमा करीब २ सय ५० नयाँ स्कूल यही वर्ष थपिएका छन् । सामान्य रूपमा हेर्दा अहिलेसम्म निजी विद्यालयले करीब १ खर्बभन्दा बढी लगानी गरेको अनुमान प्याब्सनका महासचिव डीके ढुङ्गानाको छ । यो रकम भौतिक पूर्वाधारमा खर्च भएको उनी बताउँछन् ।
अहिले देशभर ३ हजार ६ सय ६० कलेजले उच्च शिक्षा दिइरहेका छन् । यसमध्ये ६४ ओटा नयाँ कलेजले २०७१ सालमा सम्बन्धन प्राप्त गरेका हुन् । यो वर्ष ४ लाखभन्दा बढी विद्यार्थीले उच्च शिक्षा लिइरहेका छन् । तर, परीक्षामा सामेल हुने विद्यार्थीको सङ्ख्या करीब ७ लाख पुग्ने अनुमान छ । अघिल्लो वर्षको तुलनामा विद्यार्थीको सङ्ख्या २५ हजारले घटेको हिसानका उपाध्यक्ष रमेश सिलवाल बताउँछन् । अहिले ५१ प्रतिशत विद्यार्थीले शिक्षाशास्त्र अध्ययन गरिरहेका छन् । बाँकी ४९ प्रतिशत विद्यार्थी विज्ञान, व्यवस्थापन र मानविकी शास्त्रमा अध्ययन गरिरहेको उपाध्यक्ष सिलवाल बताउँछन् । यस्तो प्रतिशतले रोजगारीभन्दा पनि बेरोजगारी बढाउने गरेको उपाध्यक्ष सिलवालको भनाइ छ ।
२०७०र२०७१ को शैक्षिक सत्रमा त्रिभुवन विश्वविद्यालयमा ४ लाखभन्दा बढी विद्यार्थीले भर्ना लिएका छन् । २०६९र२०७० को शैक्षिक सत्रको तुलनामा विद्यार्थी सङ्ख्या २ लाख घटेको छ । स्ववियु निर्वाचनको चुनावका कारण अघिल्लो वर्ष विद्यार्थी सङ्ख्या बढेको हुन सक्ने विज्ञहरूको समीक्षा छ । तर, कतिपय शिक्षाविद् भने सेमेष्टर प्रणाली र क्षेत्रीयका कारण पनि विद्यार्थी सङ्ख्या घटेको हुन सक्ने अनुमान गर्छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।