खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले २०७१ सालभरि गरेको अनुगमन र परीक्षणको निष्कर्ष छ– नेपाली उपभोक्ता गुणस्तरहीन खाद्यपदार्थ खान बाध्य छन् । नेपाली उपभोक्ताले बजारबाट किनेर दैनिक उपभोग गर्ने अधिकांश खाद्यवस्तु गुणस्तरहीन पाइएको विभागको अध्ययनले देखाएको छ । बजार अनुसन्धान र गुणस्तर मापनका क्रममा सबैभन्दा कम गुणस्तर पानीमा पाइएको विभागले जानकारी दिएको छ । चालू आर्थिक वर्षमा ४० ओटा पानीका नमूना सङ्कलन गरिएकोमा १३ ओटा नमूनामा गुणस्तर कम भएको पाइएको विभागको तथ्याङ्क छ । त्यसैगरी दुईओटा नमूनामा कोलीफर्मसमेत भेटिएको विभागले जानकारी दियो ।
विभागका अनुसार नियमित रूपमा बजार अनुगमन गर्ने क्रममा पानी, दूध तथा दूधजन्य उत्पादन, फलफूल, तेल, जुसलगायतका खाद्यवस्तुमा गुणस्तर कम रहेको भेटिएको छ । गत आर्थिक वर्ष २०७०/७१ मा विभागले गुणस्तरहीन वस्तु उत्पादन र विक्रीवितरण गर्दै आएका २ सय ४८ ओटा फर्म तथा उद्योगलाई जिल्ला प्रशासन कार्यालम काठमाडौंमा मुद्दा दायर गरेको थियो भने चालू आवको चैतसम्ममा १ सय १७ ओटा मुद्दा दायर भइसेकेको विभाग प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए । विभागले गत आर्थिक वर्षमा सङ्कलन गरेका नमूनामध्ये पानीका ४८, घ्यूतेलका ४५, अन्नबाट बनेका खाद्यान्न ६१, दूध र दूधजन्य परिकार ३६, पलफूल तथा तरकारी २३, चियाकफीका १८ र अन्य खाद्यवस्तुका ४२ ओटा गरी २ सय ४८ मुद्दा कारबाहीका लागि दर्ता भएका छन् ।
विभागले गुणस्तरहीन वस्तुको उत्पादन र विक्रीवितरण रोक्नका लागि हालसम्म देशका विभिन्न ठाउँमा २ हजार ३ सय १६ पटक निरीक्षण गरेको छ भने बजार अनुगमन गरी २ हजार १ सय ६२ खाद्य नमूनाको विश्लेषण गरेको छ ।
विभागले स्थानीय, क्षेत्रीय र राष्ट्रियस्तरबाट आमा समूह, स्वास्थ्यकर्मी, होटल व्यवसायीलगायतलाई स्वस्थ खाद्य सामग्री निर्माण र प्रयोग सम्बन्धमा २ सय ४० जनालाई तालीम प्रदान गरिसकेको छ । खाद्यवस्तुमा मानिसमा प्रतिकूल असर गर्ने वस्तुको मिसावट गर्ने तथा कम गुणस्तरीय वस्तुको उत्पादन र विक्रीवितरण गर्नेलाई प्रकृति हेरी ६ महीनादेखि ३ वर्षसम्म जेल र ५ हजारसम्म जरिवाना तथा दुवै हुनसक्ने व्यवस्था उपभोक्ता संरक्षण ऐनले गरेको छ ।
नेपाल खाद्य तथा गुणस्तर विभागले नियमित रूपमा गर्दै आएको बजार अनुगमन र गुणस्तर परीक्षणका कारण खाद्य तथा उपभोग्य वस्तुमा मिसावटको मात्रा घट्दै गएको प्रवक्ता वस्तीले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।