लोडशेडिङ हट्ने सम्भावनासँगै वैकल्पिक व्यवसायको योजनामा ब्याट्री विक्रेता

Share News

काठमाडौं । नेपालमा अहिले जलविद्युत् आयोजना निर्माण हुने क्रम बढेको छ । निर्माणाधीन आयोजना लक्ष्यअनुसार सम्पन्न भए आगामी ३ देखि ४ वर्षभित्र नेपालमा लोडशेडिङको अन्त्य हुने निश्चित देखिएको छ । लोडशेडिङ समस्याबाट आजित उपभोक्ताका लागि यो निकै सकारात्मक खबर हो । तर, लोडशेडिङकै कारण अहिले बढ्दो क्रममा रहेको ब्याट्रीको बजार भने त्यसपछि स्वाभाविक रूपमा घट्नेछ । यसबारे व्यवसायी पनि अनभिज्ञ छैनन् । त्यसैले, ब्याट्री निर्माता, विक्रेता तथा वितरकहरू सोलार उपकरणलगायत अन्य वैकल्पिक ऊर्जा उपकरणको व्यवसायप्रति आकर्षित हुन थालेको सत्यदीप इण्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक दीपेन्द्रकुमार मिश्राले बताए । कम्पनीले अहिले सोलार ब्याट्री, सोलार इन्भर्टरलगायत भिœयाएर विक्रीसमेत थालिसकेको छ । भविष्यमा यसलाई थप व्यापक बनाउँदै कम्पनीले हाइब्रिड उपकरणसमेत भिœयाउने योजना बनाएको उनले जानकारी दिए ।

सोलार उपकरणको माग बढ्दो
वर्षको अधिकांश दिन घाम लाग्ने हाम्रो जस्तो देशमा सौर्य ऊर्जा सम्बन्धित उपकरण सान्दर्भिकसमेत छन् । सौर्य ऊर्जाबाट ब्याट्री चार्जिङका लागि नेपालमा अपवादबाहेक अन्य दिनमा कुनै समस्या नपर्ने व्यवसायीहरू बताउँछन् । बजारमा अहिले पनि सोलार उपकरणको व्यापक माग हुने गर्छ । विद्युतीय ऊर्जाको खपतमा कमी ल्याउन सघाउने र अहिले समेत व्यापक माग हुँदै आएको हुँदा विक्रेताहरू अहिले यसतर्फ आकर्षिक भएका हुन् । साधारण ब्याट्रीका तुलनामा सौर्य ऊर्जाबाट सञ्चालित ब्याट्रीको आयुसमेत लामो हुने उनीहरूले जानकारी दिए । साथै, यसको मर्मतसम्भारका लागि खर्च पनि तुलनात्मक रूपमा कम लाग्ने उनीहरू बताउँछन् । यसका साथै, हावामा आधारित ‘विण्ड पावर बेष्ड’ उपकरणसमेत नेपालमा भित्रिने गरेको उनीहरूको भनाइ छ । यीबाहेक सौर्य तथा अन्य वैकल्पिक ऊर्जाबाट चलाउन सकिने उपकरणको समेत नेपालमा व्यापक सम्भावना तथा माग छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।