‘स्वस्थ नेपाल स्वस्थ विश्व’ : योग विज्ञान शिविर २०७२ विशेष

Share News

वैशाख ११ देखि काठमाडौँको टुँडीखेलमा योग विज्ञान शिविर–२०७२ सञ्चालन हुँदै छ । पतञ्जलि योगपीठ नेपाल र पतञ्जलि योग समिति नेपालको संयुक्त आयोजनामा शिविर सञ्चालन हुन लागेको हो । योगगुरु स्वामी रामदेव तथा आचार्यशिरोमणि बालकृष्णको प्रत्यक्ष सहभागिता रहने शिविर बिहान सवा ५ देखि पौने ८ बजेसम्म पाँच दिन चल्ने शिविर संयोजक ओम वंशलले जानकारी दिए ।

विश्वमा जस्तै नेपालमा पनि अहिले पतञ्जलि योगको लहर शुरू भइसकेको छ । योगगुरु एवम् योगी रामदेवले शारीरिक र मानसिक स्वास्थ्यका लागि योग नै सर्वोत्तम विकल्प भएको भन्दै प्रचारप्रसार थालेपछि नेपालीहरूमा पनि योगप्रतिको जागरण बढेको हो । पतञ्जलि नामका ऋषिले विकास गरेको योगको प्रक्रिया रामदेवले पुनरुत्थान र परिष्कृत गरी देशविदेशमा प्रचारप्रसार गरेका हुन् । अहिले योगी रामदेवले विभिन्न ठाउँमा शिविर खडा गरेर मानिसलाई योग सिकाउँदै आएका छन् । नेपालमा पनि पतञ्जलि योगपीठको स्थापनासँगै नेपालभर यसका शाखा विस्तार भइसकेका छन् । भारतको हरिद्वारमा यसको मुख्य केन्द्र रहेको छ भने नेपालसँगै इङ्ल्याण्ड, अमेरिकालगायत मुलुकमा यस्ता योगपीठ स्थापना भएका छन् ।

नेपालमा ४३ हजार योग शिक्षकमार्फत लाखौं नेपालीले योग सिकिरहेको पतञ्जलि योगपीठ तथा आयुर्वेद केन्द्र नेपालले बताएको छ । योगलाई व्यवस्थित गर्न पतञ्जलि योग समितिको निर्माण गरिएकोे हो । यो समितिले केन्द्रीय प्रभारी र महिला केन्द्रीय प्रभारी नियुक्त गरेर योग प्रशिक्षण व्यवस्थित गर्दै आएको छ । यसका शाखाहरू क्षेत्र अञ्चल, जिल्ला हुँदै गाउँसम्म फैलिएका छन् । लाखौं खर्च गर्दा पनि निको हुन नसकेका रोगको उपचार योगबाट सम्भव हुने भनेर रामदेवले प्रमाणसमेत प्रस्तुत गर्न थालेपछि मानिसहरूको यसप्रति आकर्षण बढेको पतञ्जलि योगपीठ नेपालका ट्रष्टी शालिग्राम सिंहको भनाइ छ । ‘योगले मानिसलाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउँछ । कतिपय रोगको विभिन्न अस्पतालमा उपचार गराउँदा शारीरिक पक्षको मात्र उपचार हुन्छ । तर, योगले मानिसको मानसिक रूपको उपचार गर्छ,’ उनले भने ।

व्यक्तिको मानसिक दुर्बलताका कारण शरीरमा अन्य रोग थपिँदै जाने उनले बताए । कतिपय मानिसले योगलाई शारीरिक व्यायाम मात्र हो भनेर परिभाषित गर्ने गरेका छन् । उनीहरूलाई योग पूर्ण चिकित्सा पद्धति हो भनेर चिनाउन समय लाग्ने उनको भनाइ छ । मानिसका करीब ९९ प्रतिशत रोग योगबाट निको हुने उनको दाबी छ । यसका लागि ८० देखि ९० प्रतिशत योगले काम गर्ने र बाँकी १० देखि २० प्रतिशतका लागि आयुर्वेदिक औषधिको प्रयोग गर्नुपर्ने उनको भनाइ छ । अक्सिजनको माध्यमबाटै धेरै रोगको उपचार हुने उनी बताउँछन् । रोग लागेको मानिसले राम्रोसँग अक्सिजन लिन र छाड्न सक्छ भने उसको रोग योगको माध्यमबाट निको पार्न सकिने उनको भनाइ छ ।



निःशुल्क प्रवेश, पास अनिवार्य
योग सिक्न इच्छुकका लागि कार्यक्रम स्थलमा प्रवेश निःशुल्क गरिएको छ । तर, समग्र क्षेत्रफलमध्ये केही भाग व्यवस्थापन पक्ष, लब्धप्रतिष्ठित व्यक्तिलगायतका लागि सुरक्षित राखिएको छ । पूर्ण रूपमा निःशुल्क गर्दा समग्र व्यवस्थापन नै अव्यवस्थित हुने सम्भावनालाई दृष्टिगत गरी भीआईपी, ब्युरोक्र्याटलगायत विशिष्ट व्यक्तिका लागि छुट्टै स्थान बनाइएको आयोजकले जानकारी दिएको छ । टुँडीखेलमा ४० हजार जनाले एकैपटक योगाभ्यास गर्न सक्ने व्यवस्था मिलाइएको छ । कार्यक्रमको आयोजनाका लागि करीब रू. १ करोड ७५ लाख खर्च हुने अनुमान गरिएको छ । यसका लागि केही रकम मूल समिति तथा केही अंश लब्धप्रतिष्ठित व्यक्तिबाट सङ्कलन गरिएको छ ।

सर्वसाधारणका लागि भने कार्यक्रम स्थलमा प्रवेशका लागि निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको छ । तर, विनापास कार्यक्रम स्थलमा प्रवेश पाइँदैन । पतञ्जलि आयुर्वेद केन्द्रका सबै सेवा केन्द्रमार्फत पास वितरण गरिएको छ । संस्थाका जिल्ला अध्यक्षहरूमार्फत पनि प्रवेश पास प्राप्त गर्न सकिन्छ । काठमाडौंमा गुलाफ फिल्डको एक तला माथिबाट पनि प्रवेश पासको व्यवस्था मिलाइएको छ । कार्यक्रम शुरू हुनुभन्दा दुई दिन अघिसम्म टुँडिखेलमा पनि पासको व्यवस्था मिलाइएको थियो ।

स्वास्थ्य परीक्षण पनि निःशुल्क
कार्यक्रम स्थलमा निःशुल्क स्वास्थ्य परीक्षणको पनि व्यवस्था गरिएको छ । यसका लागि काठमाडौं उपत्यकाभर १५ ओटा स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएका छन् । ती केन्द्रमार्फत औषधिदेखि अन्य आवश्यक सबै सेवा उपलब्ध गराइने आयोजकको भनाइ छ । साथै, यसपटक हरिद्वारबाट पाँचजना विशिष्ट वैद्य पनि कार्यक्रम स्थलमै उपस्थित हुनेछन् । शिविरमा सहभागी हुन आउने मानिसले टुँडिखेलमा तिनीहरूबाट पनि प्रत्यक्ष रूपमा स्वास्थ्य परीक्षणको सुविधा लिन सक्नेछन् ।

शिविरमा सहभागीका लागि केही सुझाव
- खाली पेटमा जाने
- योग साधनाको समयमा आफ्नो मोबाइलको स्विच अफ गर्ने
- योगाभ्यासका लागि आफ्नो साथमा च्यादर, नेप्किन वा तौलिया, जुत्ता राख्ने झोला र पानीको बोतल लैजाने
- प्रवेशका लागि पास अनिवार्य गरिएको छ ।
- एउटा पास हराएमा अर्को उपलब्ध हुनेछैन ।
- योगाभ्यासका लागि महिला सलवार कुर्तामा र पुरुष पाइजामा कुर्तामा सहभागी हुने
- योगाभ्यास शुरू हुनुभन्दा ३० मिनेटअगावै उपस्थित हुने

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।