घर सुरक्षा चिन्ताबाट छुटकारा

Share News

केही वर्ष पहिलासम्म पनि टोलमा सानो समस्या पर्दासमेत सबैजना एकीकृत हुन्थे । त्यसकारण समस्या सजिलै समाधान गर्न सकिन्थ्यो । तर, अहिले समय निकै परिवर्तन भइसकेको छ । नामै लिएर गुहार्दासमेत मानिस सहयोग गर्न हच्किन्छन् । पाटन निवासी न्हुच्छेप्रसाद जोशीको भनाइ हो यो । उनी भन्छन्, ‘फुर्सद पनि कहाँ छ र अर्काको कुरा सुन्ने,’ उनको भनाइसँग इमाडोल नयाँबस्तीका राजमान श्रेष्ठ पनि सहमत छन् । शहरीकरणले गर्दा अहिले पल्लो घरको परिवारमा कति सदस्य छन् भन्नेसमेत थाहा नहुने उनको अनुभव छ । उनी भन्छन्, ‘अहिलेका मानिस स्वार्थी भइसकेका छन् ।’ यस्तो परिस्थितिमा घरमै रहँदा पनि आफ्नो सुरक्षाको प्रत्याभूति नभएको उनीहरू बताउँछन् । तर, प्रविधिको विकाससँगै यस्तो चिन्ताबाट भने मुक्ति पाइने देखिएको छ । प्रविधिमा आएको परिवर्तनले मानिसको अनुपस्थितिमा पनि घरको सुरक्षार्थ आवश्यक उपकरणको विकास सम्भव भएको छ, जसले घर तथा परिवारका सदस्यलाई सुरक्षा प्रदान गर्छ । घरपरिवारको सुरक्षार्थ विकसित नयाँ केही प्रविधिबारे यहाँ चर्चा गरिएको छ :

प्रेशर डोरम्याट

घरको प्रवेशद्वार तथा अन्यत्र राखिएका डोरम्याटबाट विशेष अपेक्षा के नै गरिन्छ र ? तर, नौलो प्रविधिसहित निर्मित डोरम्याटको विशेषता भने बेग्लै छ । साधारण म्याटझैं देखिने यी डोरम्याटमा कसैले पाइला राख्नासाथ यसले मोबाइलमार्फत सन्देश पठाउँछ । यसलाई स्मार्टम्याट पनि भन्न थालिएको छ । आफ्नो घर अतिरिक्त सुरक्षित बनाउन चाहनेका लागि यो डोरम्याट अत्यन्त उपयोगी हुन सक्छ । साथै, घर लक गर्न भुल्ने बानी भएकाहरूलाई पनि यो सहयोगी हुने देखिन्छ ।
 

डोरफोन

यस फोनको सहायताबाट ढोका नखोलीकन नै घरबाहिर को आएको छ भन्ने जानकारी लिन सकिन्छ । साथै, यसमा उपलब्ध गरिएको क्यामेराको सहायताले घरबाहिरको गतिविधिबारे सहज रूपमा जानकारी प्राप्त गर्न सकिन्छ । यो उपकरणले घरभित्र रहने मोनिटरमा भिडियो तथा अडियोका साथ ढोकामा उपस्थित व्यक्ति आएको समय र मिति टिप्ने गर्दछ । तपाईं ढोका खोल्न चाहनुहुन्न भने घरभित्रैको स्पिकरको माध्यमबाट तिनलाई आफ्नो सन्देश दिन सक्नुहुन्छ ।
 

सीसीटीभी क्यामेरा

घर, कार्यालय, सडक तथा बजारमा समेत अहिले सीसीटीभीको व्यापक प्रयोग भइरहेको छ । घरको सुरक्षाका लागि यसको प्रयोगले निकै लोकप्रियतासमेत पाउँदै आएको छ । यसको माध्यमबाट हामी घरभित्र तथा बाहिर के हुँदै छ भन्ने जानकारी सहज रूपमा प्राप्त गर्न सक्छौं । साथै, तिनलाई रेकर्ड गर्ने सुविधासमेत यसमा उपलब्ध हुन्छ । यसको सहायताले घरको कुनै कुनामा बसी समग्र घरको अवस्थाबारे सजिलै जानकारी लिन सकिन्छ । त्यस्तै, घरधनीको अनुपस्थितिमा घरमा कुनै घटना भएमा रेकर्डिङको माध्यमबाट कुनै पनि समयमा हेर्न सकिन्छ । यसलाई तपाईं आफ्नो कम्प्युटर वा टीभीमा सजिलै जडान गर्न सक्नुहुन्छ ।
 

साइरनयुक्त ताला

साधारणजस्तो देखिने यो तालामा साइरनको व्यवस्था गरिएको छ । कसैले ताला चलाउने गरेमा, फुटाउने वा अनधिकृत रूपमा खोल्ने प्रयास गरेमा यसको अलार्म वा साइरन बेस्सरी बज्न थाल्छ । यो तालाले १ सय डेसिबलसम्मको आवाज निकाल्ने क्षमता राख्दछ, जसले गर्दा निकै टाढासम्म पनि यसको आवाज सुन्न सकिन्छ । यो तालाको बडी जिङ्क, स्टीललगायत धातुको प्रयोग गरी बनाइएको हुन्छ, जसका कारण यसलाई बिगार्न निकै कठिन पर्छ । यसको प्रयोग तपाईं घरको कुनै पनि ढोकामा गर्न सक्नुहुन्छ ।
 

नाइट भिजनयुक्त वाईफाई क्यामेरा

घरमा भइरहेका गतिविधि रेकर्ड गर्ने क्यामेरा साधारण भइसकेको छ । यो नयाँ क्यामेराको माध्यमबाट तपाईं आफ्नो घर भन्दा हजारौं माइल टाढा रहँदा समेत घरसँगै प्रत्यक्ष जोडिएर रहन सक्नुहुन्छ । यसका लागि क्यामेरामा इण्टरनेटसँग सम्पर्क कायम गर्ने प्रविधिको प्रयोग गरिएको छ । वाईफाईको सहायताले तारविना नै इण्टरनेट माध्यमबाट यो तपाईंको फोनसँग पनि कनेक्ट हुन सक्छ । साथै, यसमा प्रयोग गरिएको नाइट भिजन क्यामेराको मद्दतले अँध्यारो अवस्थामा समेत क्यामेराका माध्यमबाट सम्बन्धित ठाउँका गतिविधि स्पष्ट रूपमा हेर्न सकिन्छ ।


बार्किङ डग अलार्म

घरको भित्ता, झ्याल तथा ढोकामा प्रयोग गर्न सकिने यो एक प्रकारको अलार्म हो । यसलाई प्रविधिको संसारमा ‘इलेक्ट्रोनिक (विद्युतीय) वाच डग’को उपनामसमेत दिइएको छ । यदि कुनै अपरिचित वा नचाहेका व्यक्ति तपाईंको घरमा प्रवेश गर्ने प्रयास गर्छ भने यसको सेन्सरले सजिलै चाल पाउँछ । र, तत्कालै अलार्मले कुनै डरलाग्दो कुकुरले भुकेको आवाज निकाल्छ । यसको आवाजमा अपनाइएको उत्कृष्ट प्रविधिका कारण यो आवाज सुन्दा साँच्चैको कुकुर भुकेको आभास हुन्छ, जसले चोरलगायत अन्य अनावश्यक व्यक्तिमा डर उत्पन्न  हुन्छ र उनीहरू घरमा प्रवेश गर्न हच्किन्छन् । उपकरणको आवाज आफ्नो आवश्यकता तथा चाहनाअनुरूप परिवर्तन गर्ने सुविधासमेत यसमा उपलब्ध छ । यसले चौबीसै घण्टा घरलाई सुरक्षा प्रदान गर्न सक्छ ।
 


साँचोरहित ढोका


यो प्रविधिले चोरहरूलाई समेत चकित पार्ने गरेको छ । साँचोरहित ढोका (कीलेश इण्ट्री) अहिले बजारका विशेष ताला तथा ढोका बेच्ने पसलहरूमा सजिलै पाउन सकिन्छ । आफ्नो ढोकामा यसको प्रयोग गर्न चाहने खरीदकर्तालाई यसका साथ विशेष ‘कोड’ उपलब्ध गराइन्छ भने यसै कोडको सहायताले मात्र ढोका खोल्न सकिन्छ । थप अतिरिक्त खर्च गर्ने क्षमता तथा चाहना भएका ग्राहकले अझ अत्याधुनिक प्रविधिसहितको ढोकासमेत खरीद गर्न सक्छन्, जुन तपाईंको फिङ्गर प्रिण्टको सहायताले मात्र खोल्न सकिन्छ ।


प्रस्तुति : सुरज महर्जन

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।