काठमाडौं (अस) । भिडियो सर्चिङका लागि सर्वाधिक ठूलो कम्पनी यूट्यूब अब गेमिङ बजारमा पनि प्रवेश गरेको छ । गेमिङको सेवाको शुरुआत भने अमेरिका र इङ्ग्ल्याण्डमा हुने भएको छ । करीब २५ हजार अनलाइन गेमका साथ यूट्यब गेमिङ रुचाउने युवामाझ पहिलो रोजाइ बन्ने तयारीमा छ । गेमिङ पारखीका लागि यूट्यूबको यस च्यानलमा विशेष व्यवस्था गरिएको छ । यूट्युबले प्रयोगकर्ताले खेलेको खेल र स्टार प्लेयरहरूलाई आफ्नो क्षमताका बारेमा बताउने अवसर पनि दिनेछ । यूट्यूबका अनुसार खेलाडीले आफ्ना खेल कसरी ब्रोडकाष्ट गर्न सक्छन् भन्नेबारे अहिले अध्ययन भइरहेको छ । अहिलेसम्म भिडियो गेमको बजार एक्सबक्स, प्लेस्टेशन जस्ता कन्सोल तथा सीडीको विक्रीमार्फत चलिरहेको छ । गेमिङको संसारमा माइक्रोसफ्ट, सोनी, सेगा र निण्टेण्डो जस्ता कम्पनीको वर्चस्व छ । यूट्यूबको प्रवेशपछि भने यस क्षेत्रमा व्यापक परिवर्तन आउने अनुमान गरिएको छ ।
अनलाइन गेमिङको जमाना
अमेजनले पछिल्लो वर्ष गेमिङ कम्पनी ट्विच किनेको थियो । ट्विचमा हरेक महीना संसारभरका करीब ४ करोड गेमिङ विकासकर्ताले आफ्ना खेल ब्रोडकाष्ट गर्छन् । यसैको माध्यमबाट तिनले एकअर्कालाई हराएको दाबीसमेत प्रस्तुत गर्छन् । यसमा अनलाइन गेमिङ च्याम्पियनशिप पनि ब्रोडकाष्ट गरिन्छ । संसारकै सबैभन्दा ठूलो अनलाइन गेमिङ च्याम्पियनशिपमा झण्डै रू. ३० करोडबराबरको पुरस्कार राशी छ । सन् २०१५ को अन्त्यसम्म आइपुग्दा अनलाइन गेमिङको बजार कन्सोल गेमिङभन्दा पनि ठूलो हुने अनुमान विज्ञहरूले गरिरहेका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।