विचार:- आनको आगामी नेतृत्व र चुनौती

Share News

आनको आगामी नेतृत्व र चुनौती
यो युग प्रचारबाजीको युग हो । विज्ञापन गर्ने र गराउने दुई किसिम छन् । यी दुई विषयमा पनि मानिसमा दुईवटा चाहना देखिन्छन्, सकारात्मक किसिमले बनाउने वा नकारात्मक ! विश्वमा नै विज्ञापन सकारात्मकभन्दा नकारात्मक शैलीबाट बढी प्रभावित हुन्छन् । त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परिसकेको छ ।

विज्ञापन नकारात्मक शैलीमा बनाउँदा छिटो प्रभाव पर्ने र लक्षित वर्गको पहुँचमा छिटो पुग्छ भन्ने कमजोर मानसिकता केही विज्ञापनदातामा परेको छ । छिटो र सस्तो लोकप्रियता हासिल गर्ने उद्देश्यले सिर्जित कमजोर र नकारात्मक विज्ञापन सरकारद्वारा गठित निकायबाट सेन्सर नभएका होइनन् । तर, यसरी विज्ञापन गर्ने र गराउने प्रचलन दिनदिनै बढ्नुमा कसको दोष छ भन्ने छानबिन गर्ने निकाय नहुनु विज्ञापन बजारको दुर्भाग्य हो । अहिले कामचलाउ सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा विज्ञापन तथा व्यावसायिक प्रचारलाई व्यवस्थित र मर्यादित बनाउन चालू आर्थिक वर्षको चैत मसान्तभित्र विज्ञापन आचारसंहिता तर्जुमा गरिने उल्लेख गरेको छ ।

सरकारले बजेटमा गरेको व्यवस्थाबाट विज्ञापन व्यवसाय सुधारोन्मुख र सकारात्मक बन्छ कि भन्ने झिनो आशा जागेको छ । तर, सरकारी निकायका प्रायः सबै नीति कडाइका साथ कार्यान्वयन हुन नसकेकाले त्यसमा विश्वस्त हुन सक्ने बलियो आधार छैन । नेपालमा पनि पटक पटक प्रकाशन/प्रसारण भई रोक लागाइएका विज्ञापनहरूको कमी छैन । त्यसैले यस क्षेत्रमा सरकारले रोग लागेपछि उपचार गर्ने गरेको देखिन्छ । रोग लाग्नै नदिएमा सबैको हित हुनसक्थ्यो । यसलाई व्यवस्थित, मर्यादित र स्वस्थ बनाउने र यस सम्बन्धमा अनुसन्धान गर्ने जिम्मेवारी विज्ञापन एजेन्सीको छाता सङ्गठन नेपाल विज्ञापन सङ्घलाई दिनुपर्छ । यसका लागि सरकारसँग समन्वयको खाँचो छ ।

आनको आगामी नेतृत्व कसको र कस्तो आउने भन्ने विषय पनि अहिले चर्चामा छ । विज्ञापन बजार व्यवस्थित, मर्यादित बनाएर आफ्ना सदस्यहरूको हकहितमा काम गर्न सक्नु महत्वपूर्ण विषय हो । व्यावसायिकतालाई अझ जिम्मेवार र मर्यादित बनाउन अहम् भूमिका निर्वाह गर्न सक्ने ज्ञान र दक्षता भएको व्यक्ति वा नेतृत्व विज्ञापन सङ्घको आवश्यकता हो ।

आगामी नेतृत्वले पदीय मर्यादालाई बचाउन र व्यावसायिकतालाई समेट्न सक्नुपर्छ । जिम्मेवारीबाट कहिल्यै पछि नहट्ने नेतृत्व अबको खाँचो हो । यो दायित्व पूरा गर्न नयाँ नेतृत्वले निम्न काम गर्नुपर्छः

१. मिडिया र एजेन्सीबीच चिसिएको सम्बन्धलाई सुमधुर बनाउँदै बजारमा देखिएको एकाधिकारलाई अन्त्य गर्नुपर्छ । एकाधिकारका माध्यमबाट बजार बिगार्ने मिडिया र एजेन्सीलाई व्यावसायिकताको परिधिमा ल्याउन  जरुरी छ । अस्वस्थ प्रतिस्पर्धाबाट चलाइएका विज्ञापन एजेन्सीलाई व्यवस्थित गरी समयानुकुल, व्यावसायिक र मर्यादित बनाउनु जरुरी छ ।
२. सञ्चारमाध्यम र विज्ञापन एजेन्सीबीच केही समयअघि सम्झौता भई प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको पाँच बुँदे सहमति कार्यान्वयन गराउनुपर्ने टड्कारो आवश्यकता देखिन्छ । किनकि पाँच बुँदाका मुख्य दुई बुँदा महत्वपूर्ण छन् । ती हुन्: (क) १५ प्रतिशत एजेन्सीले पाउने छुटबाट विज्ञापनदाताले केही हिस्सा लिने प्रचलनको अन्त्य गरी एजेन्सी छुट दिन नपाउने व्यवस्था (ख) निर्धारित समयमा एजेन्सी वा मिडियाको रकम नतिर्ने अनि दोस्रो विकल्प खोजी काम गर्ने प्रचलनको अन्त्य गर्नुपर्ने । यी महत्वपूर्ण बुँदालाई कडाइका साथ कार्यान्वयन नगरे केही वर्षमा नेपालका साना विज्ञापन एजेन्सी र मिडिया हाउसहरू सम्पूर्ण रूपले धराशायी हुनेछन् ।
३. विज्ञापन क्षेत्र वास्तवमै सरकारबाट पीडित छ । विज्ञापनलाई एउटा सिङ्गो २ घण्टा ३० मिनेटको सिनेमाको मूल्याङ्कन गर्नेले नै विज्ञापनको सेन्सर गर्नुले पनि नकारात्मक सन्देश भएका विज्ञापन बजारमा आएका हुन् । तीन घण्टाको सिनेमामा एउटा बलात्कार वा चुम्बनको दृश्य सामान्य हुनसक्छ र कथावस्तुको कारण सबैलाई स्वीकार्य हुनसक्छ । तर, १० सेकेण्डदेखि १ मिनेटभित्र बनाइने विज्ञापन, जुन दैनिक कम्तीमा १ सय पटकभन्दा बढी प्रसारित  हुन्छ, त्यसमा त्यस्ता दृष्य स्वीकार्य हुँदैनन् । त्यस्तो छोटो र प्रभावकारी विज्ञापन कस्तो हुनुपर्छ भन्ने अज्ञानता छ । यही कारण नेपालमा विज्ञापनको सिर्जना कमजोर र नकारात्मक किसिमबाट प्रभावित हुँदै गएको देखिन्छ । सेन्सरशिपबिना नै निजी च्यानलहरूले विज्ञापन प्रसारण गर्दासमेत सरकार टुलुटुलु हरेर बस्नुले पनि यसको निर्माण र सिर्जना एकदमै फितलो बनेको हो । यसलाई विज्ञापन आचारसंहितामा ल्याई विज्ञापन क्षेत्रका व्यक्तिको संलग्नतामा कार्यान्वयन गराउनु अबको नेतृत्वले बहन गर्नुपर्ने जिम्मेवारी हो । एजेन्सी छुट दिई विज्ञापनदातालाई पल्काउने विज्ञापन एजेन्सीहरूलाई पनि करको दायराभित्र ल्याउनुपर्ने आवश्यकता छ ।

अब आउने नेतृत्व वास्तवमै जसको भए पनि सवल, सक्षम, प्रभावकारी तथा नीतिगत मर्यादालाई आत्मसात् गर्ने हुनुपर्छ । आफ्नो सदस्य एजेन्सीको हक हितमा कार्य गरी वर्तमान अवस्थाको विज्ञापन बजारलाई व्यवस्थित गरी लैजान सक्ने नेतृत्व चयन गर्नु बुद्धिमानी हुनेछ । अन्यथा यसै होला भन्न सकिदैन ।
नवीनराज पौडेल
केन्द्रीय सदस्य विज्ञापन एसोसियसन अफ नेपाल (आन)
[email protected]

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।