काठमाडौं (अस)। केही वर्षदेखि विश्वको आर्थिक गतिविधि भौतिक दुनियाँबाट डिजिटलाइजेशन हुँदै छ । दैनिक जीवनयापनको अधिकांश क्षेत्रमा सूचना तथा सञ्चारप्रविधि (आईसीटी) तथा नेटवर्कमा आधारित कार्यपद्धतिको अभिन्न अङ्ग भइसकेको छ । आईसीटीको प्रयोगमा भइरहेको विस्तारसँगै साइबरमा आधारित संवेदनशीलता एवम् चुनौतीहरूसमेत बढ्न थालेको छ । आईसीटीको प्रयोग गरिरहेको संस्थाको आकारमा फरक भए पनि साइबरमा आधारित ‘थ्रेट’ भने करीब एउटै प्रकृतिको देखिन्छ ।
साइबर स्पेस सुरक्षित राख्ने चुनौतीको सामना गर्न सरकारी, संस्थागत र प्राविधिक विशेषज्ञहरूको प्रयास पटक्कै नभएको पनि होइन । यस किसिमको प्रयास हुँदाहुँदै महŒवपूर्ण तथ्याङ्क चोरीका घटनामा झन् बढोत्तरी हुँदै गएको छ । नेपालमा पनि आईसीटी तथा इण्टरनेटको प्रयोगसँगै तीव्ररूपमा साइबर सुरक्षाको चुनौती थपिँदो छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायहरू आ–आफ्नै प्रयासमा त्यस किसिमका चुनौतीसँग जुझ्ने प्रयास गरिरहेका छन् । साइबर सुरक्षाका सन्दर्भमा देखिएका नयाँ मुद्दा र चुनौतीहरूको विषयमा बृहत् छलफलमार्फत उचित निष्कर्षका लागि सबै सरोकारवालाहरूलाई समेटेर कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घ र इण्टरनेट सोसाइटी नेपाल (आईएसओसी)को संयुक्त प्रयासमा आईसीटी सम्मेलन हुँदै छ । ‘विकासशील अर्थतन्त्रका लागि साइबर सुरक्षाका चुनौती र समाधान’ विषयमा सम्मेलन केन्द्रित हुने बताइएको छ । १६औं संस्करणको रूपमा हुने सम्मेलनले नेपालका साथै विकासशील मुलुकहरूको सन्दर्भमा सूचनाको सुरक्षा र साइबर अपराधका विषयमा सरोकारवालाहरू सबैलाई एकसाथ सहभागी गराउने आयोजकको योजना छ । उक्त सम्मेलनमा बङ्गलादेशको बीडीकम लिमिटेडका प्रबन्ध निर्देशक तथा सिष्टम इण्टिग्रेटर जीजेड कबिरले ‘क्रिटिकल इन्फ्राष्ट्रक्चर एण्ड प्रोटेक्शन’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यस्तै, दक्षिणपूर्वी नयाँ बजारकी कानूनी तथा कर्पोरेट मामिला प्रमुख शालिनी रावतीले ‘कम्ब्याटिङ साइबर सेक्युरिटी इन्सिडेण्ट्स’ र भारतको आरएबीटी टेक्नलोजी प्रालिका संस्थापक निर्देशक आनन्द राजेले ‘सेक्युरिटी इस्यू अफ ई–गभर्नेन्स एप्लिकेशन’को विषयमा कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक समितिका संयोजक रोमकान्त पाण्डेयले जानकारी दिए ।
क्यानका कार्यकारी सदस्य हेमपाल श्रेष्ठका अनुसार, सम्मेलनमा वक्ताको रूपमा भारतीय सर्वोच्च अदालतका अधिवक्ता पवन दुग्गल, इण्टरनेट कर्पोरेशन अफ असाइन नेम एण्ड नम्बरर्सका कार्यक्रम निर्देशक डा रिचर्ड लम्बलगायत अन्तरराष्ट्रियस्तरका अन्य विज्ञहरूसमेत आउने तयारी छ । नेपालको सूचना तथा सञ्चारप्रविधि क्षेत्रको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले आईसीटी सम्मेलन २०१६ को आयोजना गर्न लागिएको श्रेष्ठकोे भनाइ छ । सम्मेलनले सरकारलाई पनि यस क्षेत्रको विकासका लागि आवश्यक नीति निर्माण गर्न सहयोग पुग्ने अयोजकले अपेक्षा गरेको छ । क्यान महासङ्घले हरेक वर्ष आयोजना गर्दै सम्मेलन यस वर्ष माघ १८ देखि १९ गतेसम्म काठमाडौंको होटल याक एण्ड यतीमा हुनेछ । सम्मेलनलाई नेपालको सूचनाप्रविधिको क्षेत्रमा अत्यन्त महŒवका साथ हेरिएको छ ।
सम्मेलनका क्रममा ‘क्रिटिकल इन्फ्राष्ट्रक्चर एण्ड प्रोटेक्शन’, ‘कम्ब्याटिङ साइबर सेक्युरिटी इन्सिडेण्ट इन नेपाल’, ‘सेक्युरिटी अफ ई–इनेबल सर्भिस एण्ड एप्लिकेशन’, ‘सर्भिलेनस एण्ड प्राइभेसी’लगायत विषयमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञहरूबाट कार्यपत्र पेश हुनेछ । नेपालमा आर्थिक पूर्वाधारमा भइरहेको साइबर आक्रमण र त्यसप्रतिको हाम्रो सजगताको स्थितिको विषयमा प्यानल डिस्कसनसमेत हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।