क्यान ईन्फोटेकमा अवलोकनकर्ताको भीड

Share News

माघ १६, काठमाडौं । शुक्रबारदेखि शुरु भएको क्यान इन्फोटेक–२०१६मा सूचना प्रविधिको बारेमा जानकारी लिने अवलोकनकर्ताको भीड लागेको छ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घको आयोजनामा राजधानीको भृकुटीमण्डपमा शुरु भएको २२ औं संस्करणको क्यान मेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेका हुन् ।  

मेलाको उद्घाटन गर्दैै ओलीले नेपालमा सूचना प्रविधीको विकास र विस्तारमा क्यान महासङ्घले पुर्याएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढङ्गले अघि बढ्न सुझाव दिएका छन् । सरकारले आधुनिक विज्ञान प्रविधिलाई प्राथमिकतामा राखेको बताउदै प्रधानमन्त्री ओलीले नेपाललाई अगाडि बढाउन विज्ञान प्रविधिलाई महत्वका साथ अगाडि बढाउन सरकार संकल्पित रहेको दृढता व्यक्त गरे । “हामी इ–गभर्नेन्समा जानुपर्छ, अझैपनि रुखमा बसेर काग कराएको बेला शुभ बोल शुभ बोलको मानसिकता छ ।” उनले भने । अब नेपाललाई सुचनाप्रविधिको युगमा लानुपर्छ त्यसका लागि सरकारले के गर्नुपर्छ सुझाव दिनुपर्ने ओलीले बताए । 

कार्यक्रममा क्यान महासङ्घका अध्यक्ष विनोद ढकालले सूचना तथा संचार प्रविधि ग्रामीण भेग सम्म नपु¥याएर ई–नेपालको परिकल्पना साकार नहुने बताए । प्रविधिको प्रयोग विना कुनै काम गर्न सम्भव नहुने भएकाले सूचना तथा संचार प्रविधिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्ने उनले बताए । “यदि नेपाल सरकारको सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याउने हो भने अवको ५ वर्षमा हामी ई–नेपाल बनाउन सक्छौं ।” अध्यक्ष ढकालले भने । 

कार्यक्रममा शिर्ष प्रायोजन गरेको सुबिसु केवलनेट प्रालीका अध्यक्ष सुधिर शर्माले प्रविधिको जानकारी दिने मेलामा प्रायोजन गर्न पाउँदा खुशी लागेको बताए । 

करीव ४ लाखले अवलोकन गर्ने लक्ष्य राखिएको प्रदर्शनीमा विशेष गरी ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट विशेष छुट सहितको प्याकेज तथा उच्च गतिको इन्टरनेट सेवा, टेलिफोन तथा मोबाईल फोन कम्पनीहरुको आकर्षक अफर रहेको छ । त्यस्तै बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनि विशेष सहुलियत र स्किमका साथ उपलब्ध छन् । मेलामा नयाँ प्रविधिमा आधारित मोबाईल फोन, ट्याबलेट, सफ्टवेयरहरुमा नयाँ संस्करणसहितको अपडेट मोडल उपलब्ध हुनका साथै नयाँ कम्पनी तथा उत्पादनहरु समेत भित्र्याएका छन । 

साथै प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई.सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । इन्फोटेकमा जम्मा १ सय ८८ स्टलहरु रहेका छन् भने १ सय १२ ओटा कम्पनी सहभागि छन ।

ईन्फोटेक आगामी माघ २० गतेसम्म संचालन हुनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।