मुसहर समुदायका ६१ विद्यार्थीले शुरु गरे पहिलो पटक एकैसाथ उच्च शिक्षा अध्ययन

Share News

असोज ५, जनकपुरधाम । तराई मधेशमा अत्यन्त पिछडिएको मुसहर समुदायका ६१ जना विद्यार्थीले पहिलो पटक एकैसाथ उच्च शिक्षा अध्ययन शुरु गरेका छन् । उक्त विद्यार्थीहरुलाई ‘भोर’ नामक संस्थाले अध्ययनका लागि रू. ५१ हजार आर्थिक सहयोग गरेको हो ।

वि.सं.२०७२ सालमा एसएलसी परीक्षा उत्तीर्ण ९२ जना मुसहर समुदायका विद्यार्थीहरुमध्ये ६१ जना उच्च शिक्षाका लागि विभिन्न जिल्लाका कलेजहरुमा भर्ना भएका छन् ।  यो समुदायको उत्थानको लागि काम गरिरहेको ‘भोर’ नामक संस्था र ‘मुसहर समुदायको समग्र उत्थान अभियान’ले जनकपुरमा पत्रकार सम्मेलन गरी ६१ मुसहर विद्यार्थीको उच्च शिक्षा अध्ययनबारे बताएका छन् । तराई मधेशको धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सुनसरी, सप्तरी, रौतहट, बारा, पर्सा, मोरङ, नवलपरासी लगायतका जिल्लाका मुसहर समुदाय आप्mना बालबालिकालाई अध्ययन अध्यापनका लागि जागरुक बन्दै गएको भोर संस्थाका अध्यक्ष राजकुमार महतोले बताए ।

मुसहर समुदायका बालबालिकाहरुलाई अध्ययनका लागि भोरले ५१ हजार रूपैयाँ सहयोग गरेको अध्यक्ष महतोले बताए । अध्ययनका लागि सहयोग गर्ने उद्देश्यले गत असारमा जनकपुरमा पूर्व राष्ट्रपति डा.रामवरण यादवको प्रमुख आतिथ्यमा दीनाभद्री छात्रवृत्ति कोषको स्थापना गरिएको छ । उक्त कोषबाट मुसहर समुदायका विद्यार्थीहरुलाई पठनपाठनका लागि रकम प्रदान गरिने समेत उनले बताए ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।