कक्षा १२ को सबै सङ्कायका नतीजा प्रकाशन भएसँगै स्नातक कार्यक्रम रहेका सबै शिक्षण संस्थाले भर्ना (इनटेक) खुला गरेका छन् । विद्यार्थीको रुचि र समयको मागसँगै उनीहरूले नयाँ–नयाँ विषयमा शैक्षिक कार्यक्रमसमेत भित्र्याउँदै आएका छन् । करीब १ शताब्दीअघि त्रिचन्द्र कलेजमा आईए र आईएससीको अध्ययनअध्यापन थालिएपछि शुरू भएको उच्चशिक्षा अहिले स्नातक, स्नातकोतर र पीएचडीसम्म पुगेको छ । अहिले स्नातक तहमा मात्रै सयौं विषयको पठनपाठन हुने गरेको छ ।
तत्कालीन समयमा भारतका विश्वविद्यालयबाट सम्बन्धन लिई कलेज सञ्चालन हुने गरेकोमा अहिले सञ्चालनको तयारीमा रहेको खुला विश्वविद्यालयसहित १० ओटा विश्वविद्यालय देशमै छन् । तिनीहरूका आङ्गिक र सम्बन्धनप्राप्त कलेजको सङ्ख्या नै १ हजार ३ सय ६९ छ । तीबाहेक पनि विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त तथा डिम्ड (छायाँ) विश्वविद्यालयका शैक्षिक कार्यक्रम पनि सञ्चालनमा छन् ।
सञ्चालित तीनओटा डिम्ड विश्वविद्यालयहरू बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य विषयमै केन्द्रित छन् । त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय पनि निश्चित विषयमा केन्द्रित छन् । यीबाहेक त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्कायअन्तर्गत समयानुकूल शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । नेपाली कलेजको सङ्ख्या पनि हरेक वर्ष बढ्दो छ ।
विश्व बजारमा आएका नयाँ–नयाँ शैक्षिक कार्यक्रमले विद्यार्थीलाई सोही विषयको अध्ययनमा आकर्षित गरिरहेका छन् । यसकारण उक्त विषयमा ज्ञान हासिल गर्न लालायित विद्यार्थीहरू विदेश पनि हानिने गरेका छन् । यसरी बाहिर गएर पढ्दा पढाइका साथै आवत–जावत खर्च, उताको बसाइ तथा अन्य खर्च गर्दा निकै ठूलो आर्थिक भार पर्छ । राष्ट्र बैङ्कको आर्थिक वर्ष २०७२÷७३ को तथ्याङ्कअनुसार सो आवमा विदेश जाने विद्यार्थीले रू. २० अर्ब १३ करोड ९० लाख लगेका छन् । यसरी विद्यार्थीहरू पढ्नका लागि विदेश जाँदा राष्ट्रको ठूलो धनराशी बाहिरिइरहेको छ । यसै परिप्रेक्ष्यमा यहाँका केही शैक्षिक संस्थाहरूले सम्बन्धित देशका विश्वविद्यालय÷कलेजका पाठ्यक्रम त्यहीँका प्रोफेसरको शिक्षण र सिकाइमा यहीँ पढ्ने अवसर पनि जुटाएका छन् । उनीहरूले उतैको मापदण्डमा आधारित भौतिक व्यवस्था, शैक्षिक व्यवस्थापनदेखि अनलाइन लेक्चर तथा भिजिटिङ प्रोफेसरसमेत राखेर पढाउने गरेका छन् ।
यसरी सञ्चालित पढाइमा खासगरी भारत, अमेरिका, बेलायत, थाइल्याण्ड, जापान तथा मलेशियालगायत देशका विश्वविद्यालयका शैक्षिक कार्यक्रम छन् । अहिलेका स्वदेशी विश्वविद्यालय वा विदेशी विश्वविद्यालयका सम्बन्धन लिएका शिक्षण संस्था हुन्, सबैले सैद्धान्तिकका साथै पर्याप्त प्रयोगात्मक सिकाइलाई जोड दिइरहेका छन् । त्यसमा पनि कतिपयले स्थलगत प्रस्तुतीकरणमा आधारित मूल्याङ्कन गर्ने पद्दतिको विकास गर्दै गएका छन् । ह्वाइट बोर्ड, मार्कर, लेक्चर, नोट राइटिङ तथा किताबका ठेलीमा सीमित शिक्षण प्रणाली विस्तारै पावर पोइण्ट, डिष्ट्यान्स÷अनलाइन लेक्चर, प्रोजेक्ट वर्क, प्राक्टिकल, वर्कशप, फिल्ड भिजिट, इण्डष्ट्रियल भिजिट, विषय–विज्ञसँगको अन्तरक्रिया, इभेण्ट म्यानेजमेण्ट जस्ता कुराले विस्थापित गर्दै लगेका छन् । शिक्षकको एउटै नोट कापीले वर्षौं पढाउने परिपाटी पनि बदलिँदै छ । अबको समयमा आफूले पढाउने विषयमा तयारी नगर्ने तथा अपडेट नरहने शिक्षकको पेशा सङ्कटमा पर्ने अवस्था आउँदै छ । हाम्रो शिक्षा अब नम्बर तथा पास/फेलसँग मात्र सम्बन्धित नभई विद्यार्थीको सर्वाङ्णीण विकासमा सहयोगी हुने माध्यम बन्दै गएको छ ।
कलेजहरू शिक्षण संस्था मात्र नभई रोजगारीका ‘पुल’ पनि बन्दै गएका छन् । बजारमा योग्य जनशक्तिको सधैं खाँचो छ । यस्तो परिप्रेक्ष्यमा आजभोलि कर्पोरेट हाउसहरू भ्याकेन्सी खोलेर कर्मचारी हायर गर्नेभन्दा एक तह माथि उठिसकेका छन् । आवश्यक कर्मचारीका लागि उनीहरू सोझै गुणस्तरीय शिक्षा दिने कलेजसँग सम्पर्क राख्छन् । यसको संयोजनका लागि कलेजहरूले छुट्टै शाखा नै राखेर विद्यार्थी र कम्पनीबीच अन्तरक्रियाको वातावरणसमेत निर्माण गर्दै आएका छन् । यसले एकातिर रोजगार दाताले ‘फ्रेश’ जनशक्ति प्राप्त गर्ने र अर्कोतर्फ विद्यार्थीलाई कामको अनुभव बटुल्ने तथा पढाइका लागि खर्चको जोहो गर्ने अवसर पनि मिलेको छ । यसप्रकारको समन्वयकारी भूमिकाले विद्यार्थीहरू सम्बन्धित शिक्षण संस्थाप्रति आभारी हुने भएकाले पढाइ सकिएपछि आफूले काम गरिरहेको संस्थामा भ्याकेन्सी भएमा कलेजलाई जानकारी गराउने गरेको सञ्चालकहरू बताउँछन् ।
हामीकहाँ धेरैजसो विद्यार्थी परिवार/आफन्तको सल्लाह वा साथीको लहैलहैमा लागेर विषय छान्ने प्रचलन छ । आफ्नो रुचि, आर्थिक हैसियत तथा बजारमा रहेको अवसर जस्ता कुराको ख्याल नगरी विषय छान्ने परिपाटी छ । यसो गर्दा कि बीचमै पढाइ रोकिने सम्भावना हुन्छ भने, कि त त्यो विषय छानेकोमा जीवनभर पछुतो लाग्ने अवस्था आउन सक्छ । त्यसैले, कुनै पनि विषय छान्नुअघि आत्मनिर्णय लिनु नै श्रेयस्कर हुन्छ । जस्तै– यो विषय मैले किन पढ्न चाहेको, यसका लागि कति खर्च लाग्छ, त्यति खर्च धान्न सक्ने अवस्था आफ्नो÷परिवारको छ कि छैन, लाग्ने खर्च आफैले धान्न नसक्ने भए छात्रवृत्तिका कुनै उपाय छन्÷छैनन्, सम्बन्धित विषय पढिसकेपछि काम पाउन कत्तिको सजिलो छ, कामबाहेक पनि सो विषय किन महत्त्वपूर्ण छ, उक्त विषयमा मैले कस्तो नतीजा ल्याउन सक्छु भन्ने जस्ता प्रश्नहरूको उत्तर पाएर मात्र विषय छनोट गर्नुपर्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।