काठमाडौं । विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीले चाडपर्व खर्च पाउने भएका छन् । शिक्षा विभागले चालू आर्थिक वर्ष २०७३/७४ का लागि विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत आधारभूत र माध्यमिक तहमा कार्यरत विद्यालय कर्मचारीलाई चाडपर्व खर्चस्वरूप अनुदान दिने निर्णय गरेको हो ।
यस वर्ष अर्थ मन्त्रालयको बजेट विनियोजनमा प्रस्ताव गरेअनुसार आधारभूत तह र माध्यमिक तहका लागि विद्यालय कर्मचारी व्यवस्थापन अनुदानको व्यवस्था भएको शिक्षा विभाग कार्यक्रम शाखाका अधिकृत अर्जुन ढकालले बताए । उनका अनुसार विद्यालय कर्मचारीका रूपमा कार्यरत पाले, पियन, लेखापाल, मालीलगायत ३३ हजार कर्मचारीले यसै वर्षबाट चाडपर्व खर्चको शीर्षकमा अनुदान रकम पाउनेछन् ।
विभागले असोज ८ गते ७५ ओटै जिल्ला शिक्षा कार्यालयलाई सामुदायिक विद्यालयका कर्मचारीलाई अनुदान दिन निर्देशन दिइसकेको छ । ‘गतवर्ष विद्यालय कर्मचारीले १२ महीनाको मात्र तलब पाएका थिए,’ विभागका सूचना अधिकारी प्रमोद शर्माले भने, ‘अहिले देशभरका जिल्ला शिक्षा कार्यालयलाई अनुदान दिन निर्देशनका साथै विद्यालय कर्मचारीलाई विभागले भनेअनुसार खर्च दिन परिपत्र गरेका छौं ।’ विद्यालयमा कार्यरत सबै प्रकारका कर्मचारीलाई १३ महीनाको दरले पारिश्रमिक दिन निर्देशन दिइएको हो । अनुदान कर्मचारीको तहअनुसार हुने बताइएको छ ।
विद्यालय कर्मचारी व्यवस्थापन अनुदानअन्तर्गत आधारभूत तहभित्र कक्षा १–२ सम्म सञ्चालित विद्यालयमा कार्यरत कर्मचारीले एकमुष्ट रू. २६ हजार, कक्षा १–३ सम्म सञ्चालित विद्यालयका कर्मचारीले रू. ४ हजारका दरले ५२ हजार, कक्षा १–५ सम्म सञ्चालित विद्यालयका कर्मचारीले मासिक रू. ४ हजार ५ सयका दरले ५८ हजार ५ सय अनुदान पाउनेछन् ।
यसैगरी, माध्यमिक तहभित्र कक्षा १–८ सम्म सञ्चालित विद्यालयका कर्मचारीले मासिक रू. ७ हजार ५ सयका दरले ९७ हजार ५ सय र कक्षा १ देखि १२ सम्म सञ्चालनमा रहेको विद्यालयमा कार्यरत कर्मचारीले मासिक रू. ७ हजार ५ सयको दरले एकमुष्ट रू. ९७ हजार ५ सय तथा सोही तहमा रहेका लेखा सहायक वा प्रशासन सहायकले मासिक रू. ११ हजार ५ सयका दरले एकमुष्ट रू. १ लाख ४९ हजार ५ सय अनुदान दिन निर्देशन दिइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।