नेपालमा व्यवस्थापन विषयको अध्ययन–अध्यापन त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस शङ्करदेवबाट शुरू भएको हो । शुरुआती समयमा व्यवस्थापन विषय भनेपछि कार्यालयीय व्यवस्थापन बुझ्ने गरिन्थ्यो । तर, आजसम्म आइपुग्दा यसले नछोएका क्षेत्र कम हुँदै गएका छन् । यस विषयमा आएका विविधताले गर्दा विद्यार्थीको आकर्षण पनि बढ्दै गएको छ । यसो हुनुको कारण विस्तारित विषयहरूले अवसरका नयाँ–नयाँ ढोका खोल्दै जानु नै हो । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्कूल अफ म्यानेजमेण्टअन्तर्गत माष्टर्स इन बिजनेश एड्मिनिष्ट्रेशन (एमबीए), एमबीए ग्लोबल लिडरशिप एण्ड म्यानेजमेण्ट र माष्टर इन फाइनान्स एण्ड कण्ट्रोलअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
त्यसैगरी, काठमाडौं विश्वविद्यालयअन्तर्गत ग्य्राजुएट लेभलमा एमबीए तथा ईएमबीए कार्यक्रम सञ्चालन हुँदै आएका छन् । पोखरा विश्वविद्यालयले एमबीए, एमबीए ग्लोबल बिजनेश, एमबीए फाइनान्स, एमबीए एक्ज्युकेटिभलगायत व्यवस्थापनका १ दर्जनभन्दा बढी कार्यक्रम सञ्चालन गरेको छ । यतिबेलाको अत्यधिक लोकप्रिय विषय बनिरहेको व्यवस्थापन अन्य विश्वविद्यालयले पनि प्राथमिकताका साथ सञ्चालन गरिरहेका छन् ।
विकसित देश होस् वा विकासोन्मुख, यो विषयको जनशक्ति माग जहाँ पनि उच्च नै छ । जुनसुकै क्षेत्र सम्बद्ध सङ्घ, संस्था तथा व्यवसायमा पनि एक कुशल व्यवस्थापकको आवश्यकता रहन्छ । त्यसैकारण उक्त विषय सम्बद्ध व्यवस्थापन अध्ययनका पाठ्यक्रम विकास भई अध्ययन–अध्यापन हुँदै आएको छ ।
यी आज विश्वभर नै लोकप्रिय रहेका व्यवस्थापनका विषय हुन् । कलेजहरूले यीमध्ये आ–आफ्नो छनोटका विषय पढाउँदै आएका छन् । त्यसका लागि सम्बन्धित शिक्षण संस्थाले कि नेपालका विभिन्न विश्वविद्यालय, कि त अन्य देशका विश्वविद्यालयको सम्बन्धनमा व्यवस्थापन सङ्कायअन्तर्गत बीबीए तथा एमबीएका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
रेगुलरतर्फ बीबीएस र एमबीएस पढाइरहेको शङ्करदेव क्याम्पसले त्रिविको स्कूल अफ म्यानेजमेण्टअन्तर्गत एमबीएम, बीबीए, बीआईएमका कार्यक्रम सञ्चालन गरिरहेको छ । विद्यार्थीको मागको करीब ७ प्रतिशत मात्रै भर्ना लिन सकिने अवस्था रहेको क्याम्पस प्रमुख कृष्ण आचार्य बताउँछन् । ‘गुणस्तरीय शिक्षा सुनिश्चित गर्न हामी सीमित कोटामा मात्र भर्ना लिन्छौं,’ उनी भन्छन्, ‘३ हजारजना विद्यार्थीले आवेदन दिएकोमा हामीले २ सय जनालाई मात्र भर्ना लिन सकेका छौं ।’ बजारमा यो विषयका विद्यार्थीको माग उच्च रहेका कारण नै विद्यार्थीको चाप बढेको उनी बताउँछन् ।
नेपालमा एमबीएको पढाइ पूरा गर्न औसत ४ देखि ७ लाख रुपैयाँ लाग्छ । यो विषयको क्षेत्र विशाल भएका कारण यसका उत्पादनको भविष्य सुनिश्चित छ । बैङ्क, कर्पोरेट हाउसजस्ता क्षेत्र यो विषय अध्ययन गरेका विद्यार्थीको पहिलो रोजाइ हुने गरेको छ भने दोस्रोमा सरकारी सेवा । व्यवस्थापन पढ्ने विद्यार्थीले व्यवसायमूलक तथा गैरव्यवसायमूलक दुवै क्षेत्रमा अवसर प्राप्त गर्न सक्छन् । सरकारी जागीरमा पनि यो विषय पढ्ने जनशक्तिको माग धेरै नै हुन्छ । व्यवस्थापनसम्बन्धी जनशक्ति सबै संस्थाका लागि महŒवपूर्ण हुने हुँदा यसको तलब, सुविधा पनि आकर्षक नै हुन्छ । देशमा बढ्दै गरेको व्यावसायिक क्षेत्रले सबैभन्दा पहिले यही विषयका उत्पादनको माग गर्छ । व्यवस्थापन विषयका जनशक्तिको माग जति धेरै छ, त्यति नै धेरै यस विषयमा विद्यार्थीको आकर्षण पनि छ । त्यसैले, हरेक विषयजस्तै यसमा पनि राम्रो मेहनतका साथ आफूलाई सैद्धान्तिक तथा व्यावहारिक दुवै ढङ्गले अब्बल सावित गर्न सक्ने विद्यार्थीले काम खोज्नुभन्दा अघि कामले नै यस्ता विद्यार्थी खोज्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।