असोज १८, लमजुङ । लमजुङमै पहिलोपटक सामुदायिक विद्यालयमा ई–लाइब्रेरी सञ्चालनमा ल्याइएको छ । नेपाल लाइब्रेरी फाउण्डेशनको प्राविधिक सहयोग एवम् पूर्वविद्यार्थी समाजको पहलमा अर्थ सङ्कलन गरी सुन्दरबजार नगरपालिकास्थित आदर्श बाल माविमा ई–लाइब्रेरी सञ्चालनमा ल्याइएको हो । विद्यालयमा अहिले १० ओटा कम्प्युटरमा ई–लाइब्रेरी जडान गरिएको प्रधानाध्यापक रामकृष्ण भण्डारीले जानकारी दिए ।
ई–लाइब्रेरी जडानका लागि २० ओटा कम्प्युटर खरीद गरिएको छ भने आर्थिक सहयोग सङ्कलन अभियानसमेत सञ्चालन गरिएको छ । विद्यालयमा ई–लाइब्रेरी स्थापना गरी त्यसलाई नमूनाका रूपमा अगाडि बढाउने काम भइरहेको उनको भनाइ छ । ‘कम्प्युटर खरीद गरी ई–लाइब्रेरी स्थापनामा ६ लाख रुपैयाँ खर्च भएको छ,’ भण्डारीले भने, ‘ई–लाइब्रेरी, सीसीटीभी जडानलगायत कामका लागि आर्थिक सहयोग सङ्कलन जारी छ ।’
अहिलेसम्म विदेशमा रहेका नेपाली र स्वदेशमै रहेका विद्यालयका पूर्वविद्यार्थीले सहयोग गरेका छन् । विद्यालयमा रहेको अर्को लाइब्रेरी र ई–लाइब्रेरीलाई एउटै कोठामा सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको विद्यालयको भनाइ छ । अहिले उक्त विद्यालयमा १० ओटा कम्प्युटरमा ई–लाइब्रेरी र १० ओटा अन्य कम्प्युटरमा ई–मेल–इण्टरनेटको व्यवस्थासहित अध्ययन–अध्यापन भइरहेको छ ।
विद्यार्थीहरूको पठनपाठनमा सुधार ल्याउने उद्देश्यका साथ ९ र १० कक्षामा सीसीटीभी जडान गरी अध्यापन गराउने तयारीसमेत भइरहेको भण्डारीले जानकारी दिए । अहिले विद्यालयमा ‘प्रोजेक्टर’का माध्यमबाट समेत कक्षा सञ्चालन हुँदै आएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।