उच्च शिक्षाका पैसा बचत गर्दै बालबालिका

Share News

महोत्तरी । सामुदायिक विद्यालयमा अध्ययनरत पशुपतिनगर गाविसका बालबालिकाले उच्च शिक्षाका लागि अहिलेदेखि नै बाल क्लब गठन गरेर मासिक रकम बचत गर्न थालेका छन् । ‘बालबालिकालाई हिंसा र दुर्व्यवहार नगरौं, माया र स्नेह प्रदान गरौं’ भन्ने नाराका साथ सयौं बालबालिकाले गाविसको टोलटोलमा बाल क्लब गठन गरेर बचत गर्न थालेका हुन् । गाविसका ९ ओटै वडामा गठित वडास्तरीय बाल क्लबमा उनीहरूले मासिक रू. २०–५० का दरले बचत गर्न थालेका हुन् ।

९ ओटै बाल क्लबमा गरी ७० हजारभन्दा बढी रकम बचत भएको सञ्जालका अध्यक्ष राहुलकुमार सिंहले बताए । उनले भने, ‘क्लबमा आबद्ध भएका बालबालिकालाई सस्तो दरमा शैक्षिक सामग्री खरीद गर्न, विद्यालय पोशाक सिलाउन, गरीब तथा विपन्न साथीभाइको पढाइलाई निरन्तरता दिन सस्तो दरमा ऋण लगानी गर्छौं ।’ बालअधिकारसम्बन्धी डेढ वर्ष अघिदेखि गाविसले चलाएको सकारात्मक सोच अभिवृद्धि तालीमले बालबालिका बचतसँगै सामाजिक कार्यमा समेत सहभागी हुन थालेका छन् । समाजका सबैले बचत गर्नुपर्छ भन्ने सन्देश दिन उनीहरूले बाल बचत गर्न थालेका बाल सञ्जालकी कोषाध्यक्ष दुर्गाकुमारी महतोले बताइन् ।

‘आर्थिक स्थिति कमजोर भएका बालबालिकाको शैक्षिक अवस्था सुधार गर्न १ प्रतिशतका दरले बाल क्लबमा आबद्ध सदस्यलाई आवश्यकताको आधारमा ऋण लगानी गर्छौं,’ पशुपतिनगर–५ का मुस्कान बाल क्लबका अध्यक्ष राजकुमार महतोले भने, ‘यस कार्यले बाल सञ्जालमा बचत रकम वृद्धि हुँदै गएको छ ।’ क्लब गठन पछि गाउँगाउँमा सचेतनामूलक सामाजिक अभियानको शुरुआत गरिएको गाविस सचिव ओमप्रकाश खड्काले बताए । बाल क्लब गठनले बालबालिकाले आफूलाई आवश्यक पर्ने योजना बनाउँछन् । ‘सो योजना गाविसबाट स्वीकृत गराएर समाज परिवर्तनका लागि हौसल्ला बढाउँदै आएका छौं,’ उनले भने ।

अनावश्यक खर्च जोगाएर यहाँका बालबालिका पैसा बचत गर्न थालेका छन् । चाउचाउ, चटपटे, बिस्कुटजस्ता ‘जङ्कफूड’ खाने पैसा जोगाएर उनीहरूले क्लबमा बचत गर्ने बानीको विकास हुँदै गएको राष्ट्रिय उच्च मावि पशुपतिनाथ बनरझुल्लाका प्रध्यानाध्यापक तेजीलाल महतोले बताए । उनले भने, ‘बालबालिकाले आफ्नो उच्च शिक्षाका लागि खर्च जुटाउन अहिलेदेखि नै बचत गर्र्ने बानी बसालेका हुन् ।’ रासस

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।