१९ वर्षमा कखरा सिक्दै

Share News

हेटौंडा । मकवानपुर जिल्लालाई साक्षर जिल्ला घोषणा गरिरहँदा उत्तरी क्षेत्रको आग्रा गाविसकी एक युवती १९ वर्ष पुगेपछि कखरा सिक्न थालेकी छिन् । आग्रा–१ दामगडेकी १९ वर्षीया नीरमाया घलानले भर्खरै अध्ययन शुरू गरेकी हुन् । आफूसरहका किशोरीहरूले प्रवेशिका उत्तीर्ण गरी उच्च शिक्षाका लागि गाउँ छोड्न थालेपछि नीरमायाले कखरा सिक्न थालेकी हुन् । हालसम्म विद्यालय नगएकी उनलाई पढ्नुपर्छ भन्ने पनि थाहै थिएन ।

करीब ५ वर्षअघि बाबुको मृत्यु भएपछि नीरमायाकी आमाले उनीसहित दुईजना भाइको समेत पालनपोषण गर्नुपर्ने भयो । उनका दाइहरूको विवाह भएपछि छुट्टिएर बसेका छन् र दिदीहरूको पनि विवाह भइसकेको छ । पारिवारिक अवस्था नाजुक भएकै कारण नीरमायाका दाइ÷दिदीहरूले पनि विद्यालयमा अध्ययन गरेनन् । विद्यालयमा औपचारिक शिक्षा लिने कुरामा आग्राको सिङ्गै समाज पछाडि परेको छ ।

गाउँमा सञ्चालन भएको नमूना किशोरी संवाद केन्द्रमा जान थालेपछि मात्र नीरमायालाई पढ्नुपर्ने रहेछ भन्ने कुरा थाहा भयो । ९ जना दाजुभाइ, दिदीबहिनीलाई पढाउने क्षमता नीरमायाको परिवारमा थिएन । त्यसैले, उनले विद्यालय टेक्ने अवसर पनि पाइनन् । अहिले उनले नमूना किशोरी संवाद केन्द्रमा गएर सामाजिक तथा समसामयिक विषयमा छलफलका साथै आयआर्जनको उपाय पनि सिकेकी छिन् ।

आफ्नो पाखोबारीमा तरकारी खेती गरेर विक्री गर्न थालेपछि नीरमायाले आफ्नो दुई भाइलाई विद्यालय पठाउने अठोट गरेकी छिन् । आफूजस्तो निरक्षर बनेर दुःख नपाऊन् भन्ने चाहना उनले व्यक्त गरिन् । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) मकवानपुरले ६ महीनाअघि आग्रामा आठओटा संवाद केन्द्र सञ्चालन गरेपछि नीरमायाजस्ता धेरै युवतीले अध्ययन गर्ने मौका पाएका छन् । सरकारी निकायको प्रयासले छुन नसकेका उनीजस्ता धेरै युवतीले शिक्षा पाउन सकेका छैनन् ।

आग्रामा १४ जना किशोरीलाई आरआरएनको सहयोगमा विद्यालय भर्ना गरिएको संस्थाका कार्यक्रम संयोजक नवराज थापाले बताए । संवाद केन्द्रमा जीवनोपयोगी शीप, व्यवहार परिवर्तन, आयआर्जन, मौसमी रोगव्याधिसँग सामना गर्ने तरीकाका साथै सरकारी तथा गैरसरकारी निकायको बारेमा जानकारी राख्ने काम किशोरीहरूले गरिरहेको संयोजक थापाले बताए ।

गतवर्ष सयभन्दा बढी बालबालिकालाई विद्यालय भर्ना तथा शैक्षिक सामग्री सहयोग गरेको भए पनि यो वर्ष बजेट कमी भएका कारण ४७ जनालाई मात्र सहयोग गर्न सकिएको संयोजक थापाले जानकारी दिए । आग्रा, राक्सिराङ, बसामाडी र हटियामा अहिले कार्यक्रम चलिरहेको छ । विगतमा हर्नामाडी, मकवानपुरगढी, इपा, कालिकाटार र आमभञ्ज्याङ गाविसमा यस्ता संवाद केन्द्र सञ्चालन भएका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।