पर्वत (अस) । गुणस्तरीय शिक्षाका लागि गाउँबाट शहर पलायन हुनेको सङ्ख्या बढेपछि पर्वतको थापाठाना गाविसमा गुणस्तरीय शिक्षा अभियान सञ्चालन गरिएको छ । गुणस्तरीय शिक्षाको अभावमा ग्रामीण क्षेत्रका मानिस आफ्ना छोराछोरी लिएर शहर पलायन हुँदै गएपछि थापाठानाका शिक्षाप्रेमी तथा सामाजिक अगुवाको सक्रियतामा उक्त अभियान शुरू गरिएको हो ।
थापाठाना ९ स्थित भुमे आधारभूत विद्यालयलाई सो क्षेत्रकै नमूना विद्यालय बनाउने उद्देश्यसहित अभियान शुरू गरिएको छ । सापेक्षित शिक्षा प्रदान गर्न उक्त विद्यालयमा हालसम्म ३९ लाख ८३ हजार रुपैयाँ सङ्कलन भएको छ । उक्त रकम अक्षयकोषमा रूपान्तरण गरी त्यसको ब्याज शिक्षकलाई तलबका रूपमा दिइने अभियन्ता कोशिस भण्डारीले बताए ।
गुणस्तरीय शिक्षाका लागि अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन सक्ने शिक्षकलाई निजी स्रोतमा राखिने भण्डारीले जानकारी दिए । भौतिक निर्माणका हिसाबले सम्पन्न रहेको उक्त विद्यालयले अभियान सञ्चालन गरेपछि निजी विद्यालयबाट उक्त विद्यालयमा पढ्न आउने विद्यार्थीको सङ्ख्यामा निकै बढेको छ ।
यसै शैक्षिक सत्रदेखि अङ्ग्रेजी माध्यमबाट पढाइ शुरू गरेको उक्त विद्यालयले अभियान शुरू गर्दा नै ३० जना विद्यार्थी बोर्डिङ स्कूलबाट फिर्ता आएको विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर थापाले बताए । उक्त निमाविको ८ कक्षासम्म योग्य शिक्षकद्वारा अङ्ग्रेजी माध्यमबाट पढाइने हुनाले अबको शैक्षिक सत्रमा सयौं विद्यार्थी भर्ना हुन आउने सङ्केत देखिएको छ ।
विद्यालयलाई क्षेत्रकै नमूना बनाउन आधुनिक लाइब्रेरी निर्माण गरी कम्प्युटर खरीद गर्नुपर्ने आवाश्यकता बताइएको छ । सोका लागि देश तथा विदेशमा रहेकाहरू, विभिन्न सङ्घसंस्था र सहयोगी निकायसँग अनुरोध एवम् छलफल गरिने भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।