स्ववियु निर्वाचनका सम्बन्धमा त्रिविको छलफल

Share News

मङ्सिर ४, काठमाडौं । आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयले शुक्रवार विद्यार्थी सङ्गठनहरूसँग छलफल गरेको छ । स्ववियु निर्वाचन नजिकिँदै गर्दा निर्वाचनलाई सफल बनाउने र निर्वाचनसम्बन्धी केही आचारसहिंताका सम्बन्धमा विद्यार्थी सङ्गठनसँग छलफल गरिएको त्रिविका उपकुलपति डा तीर्थ खनियाँले जानकारी दिए ।

‘फागुनमा निर्वाचन गर्नेमा विद्यार्थी सङ्गठनमा विवाद देखिएन’, उहाँले भने, ‘सबै सकारात्मक हुनुहुन्छ । मिलेर निर्वाचन गर्नेमा सहमत हुनुहुन्छ । त्यसैले निर्वाचन हुन्छ ।’
उनले उमेर हदका बारेमा त्रिवि सभाले निर्णय गर्ने जानकारी गराए । निर्वाचनमा २८ वर्ष उमेर हदबन्दीको विषयलाई लिएर विद्यार्थी सङ्गठनबीच विवाद हुँदै आएको छ ।

आचारसंहितामा निर्वाचन भड्किलो नबनाइने, सभा गर्न नपाइने, क्याम्पस स्वयंले नै उम्मेदवारको परिचयात्मक कार्यक्रम गर्ने, कुनै सङ्गठनमा उम्मेदवारको विवाद भएमा केन्द्रीय नेतृत्वले मिलाउने, समानुपातिकको सूची पहिल्यै बुझाउनुपर्ने जस्ता कुरा उल्लेख गरिएको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्ताैलाले जानकारी दिए ।

उनले आचारसंहितामा स्ववियुमा निर्वाचित भइसकेपछि बदमासी गर्ने स्ववियु पदाधिकारीलाई फिर्ता बोलाउन सक्ने व्यवस्था गर्न त्रिविसँग माग गरिएको पनि बताए । विसं २०६५ यता त्रिविमा स्ववियु निर्वाचन हुन सकेको छैन । त्रिविले पटक पटक निर्वाचन घोषणा गरे पनि स्थगन हुँदै आएको थियो । छलफलमा नेविसङ्घका महामन्त्री सरोज थापा, अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपाने लगायत १६ सङ्गठनका प्रतिनिधिको सहभागिता थियो । रासस

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।