विश्वस्तरीय विश्वविद्यालय स्थापनाको गृहकार्य शुरु

Share News

मङ्सिर ४, काठमाडौं । नेपालमा विश्वस्तरीय विश्वविद्यालय स्थापनाको गृहकार्य शुरु भएको छ । प्रस्तावित राष्ट्रिय इञ्जिनियरिङ् तथा प्रविधि प्रतिष्ठानलाई विश्वस्तरीय इञ्जिनियरिङ् तथा प्रविधि विश्वविद्यालयका रुपमा स्थापना गर्ने गृहकार्य शुरु भएको हो । उक्त विश्वविद्यालय शैक्षिक निर्णय गर्न स्वतन्त्र एवम् शासकीय रुपमा स्वायत्त हुने परिकल्पना गरिएको छ ।

शिक्षा मन्त्रालय र एशियाली विकास बैङ्क (एडिबी)को संयोजनमा बुधवारदेखि शुक्रवारसम्म चलेको कार्यशालाबाट यस्तो परिकल्पना अघि सारिएको हो । कार्यशालाले विश्वविद्यालयको संगठनात्मक संरचना, शैक्षणिक एवम् व्यवस्थापकीय स्वरुप, सञ्चालन रणनीति, कानूनी संरचनाको स्वरुप आदी विषयमा छलफल गरेको थियो । यो विश्वविद्यालय ५० प्रतिशत विद्यार्थीको शुल्क र बाँकी ५० प्रतिशत आफ्नै स्रोतबाट सञ्चालन गर्ने मोडालिटी तयार गर्न लागिएको शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले बताए ।

‘त्यो बाँकी ५० प्रतिशतका लागि विश्वविद्यालयलाई सरकारले एउटा ५० मेगावाटको जलविद्युत् आयोजना सञ्चालन गर्न दिने योजना रहेको छ ।’ सचिव श्रेष्ठले भने, ‘नेपालका हरेक समस्यालाई प्रविधिमार्फत् हल गर्ने जनशक्ति यस विश्वविद्यालयले उत्पादन गर्नेछ । यसको शिक्षण अनुसन्धान र प्रयोगमा बढी केन्द्रित हुने भएकाले यसले अन्तरराष्ट्रिय ज्ञान भण्डारमा आफ्ना आविष्कारहरु ल्याउन योगदान गर्नेछ ।’

अहिले देशमा राजनीतिक समस्या नरहेको सन्दर्भमा चाँडोभन्दा चाँडो उक्त विश्वविद्यालय स्थापना गर्न सकिने कार्यशालापछि शुक्रवार आयोजित पत्रकार सम्मेलनमा बताइएको थियो । वित्तिय व्यवस्थापन तथा कानूनी प्रकृया छिटो हुन सके एक वर्षभित्रमा विश्वविद्यालय शुरु गर्न सकिने सचिव श्रेष्ठले बताए ।

वित्तिय व्यवस्थापनका सम्बन्धमा विश्वविद्यालय शुरु गर्नका लागि अर्थ मन्त्रालय र एडिबीबीच समझदारी भइसकेको पनि सम्मेलनमा जानकारी दिइयो । जसअनुसार पहिलो वर्ष एडिबीले करीब ५४ करोड नेपाली रुपैयाँ उपलब्ध गराउने एडिबीकी प्रतिनिधिले बताइन् । त्यसपछि पनि विभिन्न चरणमा गरी विश्वविद्यालय स्थापनाका लागि एडिबीले सहयोग गर्ने बुझिएको छ ।                                                   

 

 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।