अकबरे खुर्सानी बेचेरै पढाइ खर्च

Share News

धनकुटा । धनकुटाको परेवादिन गाविसका एक युवकले अकबरे खुर्सानी खेती गरेर आफ्नो पढाइ खर्च जुटाउँदै आएका छन् । गाविसको वडा नं ८, बाजबिसौनेका १७ वर्षीय राज अधिकारीले विगत ७ वर्षदेखि पढाइ खर्चका लागि अकबरे खेती गर्दै आएका हुन् । २०६६ सालमा कक्षा ७ मा अध्ययन गर्दा २ रोपनीमा खुर्सानी खेती शुरू गरेका अधिकारीले अहिले ६ रोपनीमा विस्तार गरेका छन् । अकबरे खुर्सानी प्रतिकेजी ३ सय ५० रुपैयाँभन्दा बढीमा बेचेर वार्षिक ७० हजार रुपैयाँसम्म आम्दानी गरिरहेको जानकारी उनले दिए ।

‘आमा–बुबाले लगाएको खुर्सानी राम्रो दाममा विक्री भएको देखेपछि आफ्नो पढाइ खर्च आफै जुटाउन अकबरे खुर्सानीको खेतीमा लागेको हुँ,’ अधिकारीले भने । पहिला वार्षिक १० हजारले पढाइ खर्च पुगे पनि पढाइको तह बढेसँगै खर्च भएकाले अर्को वर्षदेखि १० रोपनीमा खेती गर्ने सोच रहेको उनले बताए ।

गाउँमा रहेको तत्कालीन चुलाचुली उच्चमाविबाट एसएलसी पास गरेर धनकुटाको उत्तरपानी प्राविधिक शिक्षालयमा जेटीएको अध्ययन सकेका उनको यस वर्षदेखि विज्ञान सङ्काय पढ्ने योजना छ । उक्त अध्ययनका लागि अपुग रकमका लागि पनि अकबरे खुर्सानीको खेतीलाई निरन्तरता दिने उनको भनाइ छ ।

जिल्ला कृषि विकास कार्यालय धनकुटाको तथ्याङ्कअनुसार अहिले धनकुटामा ५५ हेक्टरमा ५० मेट्रिक टन अकबरे खेती हुन्छ, जसमा जिल्लाबाट ७० लाखबराबरको सबै अकबरे जिल्लाबाहिर निकासी हुने कार्यालयले जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।