बढ्दो छ प्रारम्भिक बालविकासको तथ्याङ्क

Share News

शैक्षिक सत्र २०७२ मा ९ लाख ७७ हजार ३ सय ६५ बालबालिका बालविकास केन्द्रमा भर्ना भएका छन् । शिक्षा विभागका अनुसार २०७१ सालमा यो सङ्ख्या १० लाख १४ हजार ३ सय ३९ थियो । २०७२ सालमा बालविकास केन्द्रको सङ्ख्या ३५ हजार ९ सय ९१ पुगेको छ भने अघिल्लो वर्ष यो सङ्ख्या ३५ हजार १ सय २१ मात्र थियो ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले सार्वजनिक गरेको नेपालमा बालबालिकाको स्थिति प्रतिवेदनले अघिल्लो वर्षको तुलनामा २०७२ सालको शैक्षिक सत्रमा बालबालिकाको भर्ना सङ्ख्या ३६ हजार ९ सय ७४ घटेको देखिएको छ । नेपालमा हाल समुदायमा आधारित बालविकास केन्द्र ३० हजार ४ सय ४८ ओटा र संस्थागत विद्यालयमा आधारित बालविकास केन्द्र ५ हजार ५ सय ४३ गरी जम्मा ३५ हजार ९ सय ९१ ओटा बालविकास केन्द्र रहेका छन् । बाल विकास केन्द्रबाट कक्षा १ मा भर्ना भएका बालबालिकाको सङ्ख्या ५ लाख ३३ हजार ७ सय ४४ (६२ दशमलव ४ प्रतिशत) पुगेको तथ्याङ्क प्रतिवेदनमा उल्लेख छ ।

शिक्षा विभागको तथ्याङ्कअनुसार बालबालिकाको प्राथमिक विद्यालयमा खुद भर्नादर २०७१ सालमा ९६ दशमलव २ प्रतिशत थियो भने २०७२ सालमा ९६ दशमलव ६ प्रतिशत पुगेको छ । निम्न माध्यमिक स्तरमा खुद भर्नादर ७७ दशमलव ७ प्रतिशत, माध्यमिक (कक्षा ९ र १०) स्तरमा ५८ दशमलव ६ प्रतिशत र उच्च माध्यमिक स्तरमा (कक्षा ११ र १२) मा १६ दशमलव ४ प्रतिशत रहेको पाइएको छ ।

२०७२ सालमा देशभरमा प्राथमिक तहमा २१ लाख ६५ हजार ३ सय ८६ छात्रा र २० लाख ९९ हजार ५ सय ५६ छात्र गरी जम्मा ४२ लाख ६४ हजार ९ सय ४२ विद्यार्थी भर्ना भएका छन् । २०७१ सालमा यो सङ्ख्या २२ लाख १ हजार ३ सय १३ थियो ।

शिक्षा ऐन, २०२८ (आठौं संशोधन ऐन, २०७३) को दफा १६ (घ) १ मा निःशुल्क शिक्षा घोषणा गरेको विद्यालय शिक्षाका लागि सामुदायिक विद्यालयले कुनै पनि किसिमको शुल्क लिन नपाउने व्यवस्था गरको छ भने दफा १६ घ (१) ख मा सबै बालबालिकालाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्न नेपाल सरकारले स्रोतको व्यवस्था गर्नेछ भन्ने प्रावधान राखिएको छ । शिक्षा मन्त्रालयका अनुसार निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा कार्यान्वयनका लागि निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा निर्देशिका, २०७२ बनिसकेको छ । २१ जिल्लामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ ।

धार्मिक विद्यालय
देशभरमा कक्षा १ देखि कक्षा १२ सम्म पढाइ हुने सम्पूृर्ण धार्मिक विद्यालयको तथ्याङ्कअनुसार मदरसाको सङ्ख्या ७ सय ३५, गुम्बाको सङ्ख्या ७६ र आश्रमको सङ्ख्या ६८ गरी ९ सय ३० रहेको छ ।

दलितको पहुँच
शिक्षाको क्षेत्रमा दलित र जनजाति बालबालिकाको पहुँचको हिसाब पनि प्रतिवेदनमा रहेको छ, जसअनुसार कुल बालबालिकामध्ये १७ दशमलव ९ प्रतिशत दलित बालबालिका  र ३८ दशमलव ८ प्रतिशत जनजाति बालबालिका  छन् । शैक्षिक सत्र २०७२ मा देशभरका प्राथमिक तहमा कुल ४२ लाख ६४ हजार ९ सय ४२ बालबालिका भर्ना भएकोमा दलित बालबालिकाको सङ्ख्या ८ लाख ४१ हजार ५ सय ४६ रहेको छ । यो सङ्ख्या देशभरको विद्यालयका प्राथमिक तहमा भर्ना भएका जम्मा बालबालिकाको १९ दशमलव ७ प्रतिशत हो । निम्न माध्यमिक तहमा १४ दशमलव ४ प्रतिशत दलित बालबालिका भर्ना भएका थिए भने आधारभूत तहमा १८ दशमलव १ प्रतिशत दलित बालबालिका भर्ना भएका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।