काठमाडौं। शिक्षामन्त्री धनीराम पौडेलले विद्यालय तहमा नेपाली भाषाको वर्णविन्याससम्बन्धी निर्णय सच्याउने प्रक्रिया शुरू भएको बताएका छन् । शिक्षा पत्रकार समूहले हालै काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री पौडेलले नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो विगतको निर्णय सच्याएकाले त्यसलाई विद्यालय तहमा कार्यान्वयन गराउन भने केही समय लाग्ने जानकारी दिए ।
भाषा आन्दोलनकर्ताले प्राज्ञिक निकाय र पाठ्यक्रम विकास केन्द्रबाट नेपाली भाषाको वर्णविन्यासमाथि प्रहार भएको आवाज उठाएपछि प्रज्ञा–प्रतिष्ठानले पूर्ववत् प्रचलनलाई कायम गर्ने र हाल बजारमा भएको शब्दकोश फिर्ता लिने निर्णय गरेको थियो । विद्यालय तहमा गएका पाठ्यक्रम र पाठ्यपुस्तक भने एकैपटक फिर्ता लिन नसकिने भएकाले शिक्षा मन्त्रालयले त्यसलाई विचार गरेर निर्णय गर्ने भएको छ ।
सो विषय अदालतमा पनि विचाराधीन छ । मन्त्री पौडेलले २०६९ साउन २२ मा शिक्षामन्त्रीबाट निर्णय गराउन मानकको भूमिका निर्वाह गर्नेहरू पछि हटिसकेकाले सरकार त्यसमा रहिरनु नपर्ने तर शुद्धिपत्र वा नयाँ पाठ्यक्रम लागू गर्न अर्काे शैक्षिक सत्र पर्खनुपर्ने बताए । उनले व्याकरण सुधार वा परिमार्जनको कारक वा समस्याको जड मन्त्रालय नभएको उल्लेख गर्दै मानक निर्धारक संस्था र प्रयोक्ताका सुझावलाई मान्यता दिइने प्रतिबद्धता गरे । ‘जहाँबाट पानी बग्ने हो त्यसको मूलबाट हिजो फोहोर पानी बग्यो, अब मूलबाट सफा पानी बग्न थालेको छ, हामी त्यसलाई तलसम्म बग्न दिन्छौं,’ उनले भने ।
मानक नेपाली भाषा अन्तरराष्ट्रिय सञ्जालका संयोजक प्राडा खगेन्द्रप्रसाद लुइँटेलले मन्त्रालयले तत्काल शुद्धिपत्र जारी गरेमा पनि आफूहरू देशभरका शिक्षकलाई प्रशिक्षित गर्न तयार रहेको बताए । भाषाविद् शरच्चन्द्र वस्तीले अर्काे शैक्षिक सत्रदेखि विद्यालय तहमा संशोधित (पुरानै मानक) वर्णविन्यास लागू गराउनुपर्नेमा जोड दिए । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।