पर्वतको ठूलीपोखरीस्थित जनता सुदर्शन उच्च माध्यमिक विद्यालयको ४ वर्ष अघिदेखि निर्माण अलपत्र पर्दा पठनपाठन प्रभावित भएको छ । भवन अभावमा विद्यार्थीहरू भूकम्पले भत्किएर जोखीमयुक्त बनेको कक्षाकोठामा बसेर पढ्न बाध्य छन् । अझै केही समयमा निर्माण सम्पन्न नभए सबै संरचना भत्काउनुपर्ने अवस्था उत्पन्न हुन सक्ने विद्यालयका प्राचार्य मेघनाथ आचार्यले बताए । शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा निर्माण शुरू भएको छकोठे पक्की भवन विगत ४ वर्ष अघिदेखि अलपत्र बनेको हो ।
तत्कालीन प्रधानाध्यापक खेमराज लम्सालको पालामा निर्माण थालिए पनि बजेट अभाव देखाउँदै ठेकेदारले बीचैमा काम रोकेपछि भवन बेवारिसे बन्न पुगेको आचार्यले बताए । ४ वर्षअघिको पुरानो संरचनासमेत अहिले काम नलाग्ने अवस्थामा पुगेको छ । भवनको निर्माण शुरू गरिएको समयदेखिको आयव्ययको अभिलेखसमेत विद्यालयमा राखिएको छैन ।
यसको रेर्कर्ड नभेटिएसम्म काम अगाडि बढाउन कठिन भएको विद्यालय प्रशासनको भनाइ छ । उता भवन निर्माण समितिले भने अनुमानित बजेट नभएपछि काम रोकिएको बताएको छ । तत्कालीन अवस्थामा १ करोड १८ लाखको लागत इस्टिमेट भए पनि २७ लाखमात्र आएकाले बजेट विनाकाम सञ्चालन गर्न नसकिएको समितिको जिकिर छ ।
भवनका लागि विद्यालयले थप ५ लाख खर्च गरेर ढलानको कामसमेत गरेको थियो । जिल्लाका तीनओटै क्षेत्रका सांसदले भवनको पुनर्निर्माणमा सघाउने बताए पनि हालसम्म सहयोग प्राप्त नहुँदा स्थानीयवासी चिन्तित बनेका छन् । विद्यालयकै स्रोतसाधनमा केही वर्षदेखि मानविकी र व्यवस्थापन सङ्कायमा स्नातक तहको अध्यापन पनि सञ्चालनमा ल्याइएको छ । त्यसैले, समयमै भवन निर्माण सम्पन्न नहुँदा सबै तहका विद्यार्थीलाई समस्या भएको विद्यालयको भनाइ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।