सुर्खेत (अस) । सुर्खेतमा मेडिकल कलेज (शिक्षण अस्पताल) स्थापनाका लागि चीनले सहयोग गर्ने भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको मातहतमा रहनेगरी वीरेन्द्रनगरमा मेडिकल कलेज स्थापना गर्ने समझदारीपत्रमा चीन र नेपालबीच हस्ताक्षरसमेत भइसकेको छ । चीन सरकार र त्यहाँको चिउच्याङ विश्वविद्यालयले सुर्खेतमा मेडिकल कलेज स्थापना गर्न मध्यपश्चिमाञ्चल विश्वविद्यालयसँग सम्झौता गरेको हो । शिक्षामन्त्री धनीराम पौडेलको उपस्थितिमा मङ्गलवार सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो ।
चीनको तर्फबाट चिउच्याङ विश्वविद्यालयका उपाध्यक्ष चेउ च्याङ र नेपालको तर्फबाट मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा उपेन्द्रकुमार कोइरालाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । मेडिकल कलेजको सम्भाव्यता अध्ययन गर्न सुर्खेत आएको चिनियाँ टोलीले यस क्षेत्रमा मेडिकल कलेज सञ्चालन गर्न सहज भएको बताएको छ । हस्ताक्षर कार्यक्रममा सहभागी शिक्षामन्त्री धनीराम पौडेलले मध्यपश्चिम विश्वविद्यालयलाई समृद्ध बनाउन सरकार गम्भीर रहेको भन्दै चीनसँगको हस्ताक्षरले विश्वविद्यालयको थप विकासमा सघाउ पुग्ने बताए । साथै, उनले यसले चीन र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध थप बलियो बनाउने विश्वाससमेत व्यक्त गरे ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।