फलेवास (पर्वत) । भूकम्प तथा अन्य विपद्का समयमा कसरी बच्न र बचाउन सकिन्छ भन्ने विषयमा पर्वतका शिक्षक, विद्यार्थी र अभिभावक सचेत हुन थालेका छन् । जिल्लाका १० विद्यालयमा विद्यार्थी, शिक्षक तथा अभिभावकले संयुक्त रूपमा विपद्का समयमा जोखीम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा योजना बनाएका छन् । ती विद्यालयले भूकम्प प्रतिरोधी भवन बनाउने अभियानसमेत शुरू गरेका छन् ।
विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकले आफ्नो विद्यालयमा मात्रै होइन, छिमेकी विद्यालय र समुदायमा समेत यसबारे सचेतीकरण अभियान थालेका छन् । यसका लागि उनीहरूले भूकम्प प्रतिरोधी संरचना, भूकम्पपछि खोज तथा उद्धार, प्राथमिक उपचार, प्रकोप मापन, आपत्कालीन अवस्थामा कसरी भाग्ने जस्ता विषयमा विभिन्न तालीम र प्रशिक्षण लिएका छन् । आपत्कालीन अवस्थाका लागि उनीहरूले भूकम्पप्रतिरोधी सामग्रीको जोहो पनि गरेका छन् । ‘विपद् न्यूनीकरणका लागि शिक्षक तथा अभिभावक सचेत भएका छन्,’ नवजागृत माविका प्रधानाध्यापक विष्णुप्रसाद सुवेदीले भने, ‘विद्यालयमा जोखीम न्यूनीकरणसम्बन्धी योजना बनाएर अगाडि बढेका छौं ।
पर्वतका पशुपति मावि राम्जा, नवजागृत मावि तिलहार, तुलोदय मावि तिलहार, त्रिभुवन मावि शङ्करपोखरी, राम मावि र जनसहयोगी मावि शङ्करपोखरी, नेपाल तारा मावि रानीपानी, जनता प्रावि रानीपानी, आम्बारी मावि बर्राचौरलगायत १० विद्यालयमा १ वर्षको अवधिमा विद्यालयका संरचना विपद्बाट बच्नका लागि अनुकूल हुने गरी बनाइएका छन् । यी विद्यालयको सिकाइ स्रोतकेन्द्र र जिल्लाका सबै विद्यालयमा लैजान आवश्यक भएको नेपाल तारामावि स्रोत केन्द्रका स्रोत व्यक्ति बमबहादुर क्षेत्रीले भताए । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।