धनकुटा । सामुदायिक विद्यालयमा सञ्चालित प्राविधिक शिक्षालाई दिगो र सर्वसुलभ बनाउने उद्देश्यले पूर्वाञ्चल र मध्यपश्चिमाञ्चलका ३८ जिल्लाका विद्यालयहरूको भेला धनकुटामा शुरू भएको छ । धनकुटाको पाख्रिवासस्थित जाल्पादेवी माध्यमिक विद्यालययको आयोजनामा मङ्गलवारदेखि २ दिनसम्म चल्ने उक्त भेलामा विभिन्न आठ प्राविधिक विषयगत विद्यालयहरूको सहभागिता रहेको कार्यक्रमका संयोजक श्यामबहादुर गुरुङले जानकारी दिए ।
भेलामा सहभागी प्रधानाध्यापकहरूले नेपालको विद्यमान शिक्षा नीतिमा समयानुकूल परिमार्जन गर्दै जीवनोपयोगी प्राविधिक शीपयूक्त शिक्षामा लगानी बढाउन सरकारसँग माग गरेका छन् । परम्परागत सैद्धान्तिक सिकाइ जीवन व्यवहारमा लागू हुने अवस्था नरहेको भन्दै उनीहरूले सम्भावनाका आधार पहिल्याएर तल्लो तहदेखि नै प्राविधिक धारका कक्षा सञ्चालन गरिनुपर्नेमा जोड दिए ।
उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)का उपाध्यक्ष डा. कुलबहादुर बस्नेतले व्यावसायिक शिक्षा सामान्य आर्थिक स्थितिका जनताको पहुँचमा नरहेको भन्दै बहुसङ्ख्यकमा त्यसको पहुँच पुर्याउन सर्वसुलभ बनाइनुपर्ने सूझाव दिएका थिए । भेलामा सीटीईभीटीद्वारा सञ्चालित कृषि, बालीविज्ञान, पशुपालन, सिभिल सबओभरसियर, इलेक्ट्रिकल इञ्जिनीयरिङ र कम्प्युटर विज्ञान विषय पढाइ भइरहेका विद्यालयका प्रतिनिधिको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।