काठमाडौं (अस) । खोटाङ बाकाचोल–३ घर भई काठमाडौंको बौद्ध बस्ने लाक्पा तेम्बा शेर्पालाई वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनले दोलखाको श्यामा गाविसका साङ्गे शेर्पासहित चारजनालाई दक्षिण कोरियामा आकर्षक तलब सुविधा भएको कम्पनीमा काम लगाइदिने भनी प्रलोभन देखाई जापानमा अलपत्र पारेका थिए ।
अभियुक्त शेर्पाले प्रतिव्यक्ति ११ लाख ५० हजार लिई चारैजनालाई टुरिष्ट भिसामा जापान पठाएका थिए । जापान पुगेपश्चात् अभियुक्त शेर्पाको सम्पर्कमा रहेका नर्बु छिरिङ गुरुङले पुनः प्रतिव्यक्ति २ लाखका दरले चारजनासँग ८ लाख लिएका थिए । दक्षिण कोरियाका लागि जापानलाई ट्राञ्जिट बनाई टुरिष्ट भिसामा पठाइएका पीडितहरू टुरिष्ट भिसाको म्याद समाप्त भएपछि ९ महीना जेल बस्न बाध्य भएका थिए ।
जापानको इमिग्रेशनले परमिट नभएको कारणले ९ महीना जेल राखेपछि नेपाल फर्केका पीडितहरूले नेपाल प्रहरीसमक्ष उजुरी दिएका थिए । तत्पश्चात् अपराध अनुसन्धान महाशाखाबाट खटिएको विशेष टोलीले ५४ लाख लिई ठगी गरी जापानमा लगी अलपत्र पार्ने शेर्पालाई गत शनिवार पक्राउ गरेको हो । पक्राउ परेका शेर्पा रोयल स्टार ट्राभल्स प्रालिका सञ्चालक हुन् । शेर्पाले गाइडको रूपमा कामसमेत गर्ने हुँदा विदेशीसँग सम्पर्क बढाई जापानको भिजिट भिसामा कोरिया पठाउने गरेका थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।