सल्यान । सल्यानको दुर्गम क्षेत्रका विद्यालयमा अध्ययन गर्ने १ सय २० विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेका दार्माकोट ढाकाडाम, भल्चौर र जिमाली गाविसका ४५ विद्यालयका बालबालिकाले जनही झण्डै रू. ४ हजारबराबरको शैक्षिक सामग्री प्राप्त गरेका हुन् । सेभ द चिल्ड्रेनको सहयोगमा सामग्री प्राप्त गर्नेमा ढाकाडाम गाविसका १३ विद्यालयका ४४, भल्चौर गाविसका १२ विद्यालयका २६, दार्माकोट गाविसका ११ विद्यालयका ३० र जिमाली गाविसका ९ विद्यालयका बालबालिका छन् ।
उनीहरूलाई प्रतिविद्यार्थी एक जोर विद्यालय पोशाक, एक जोर जुत्ता, झोला, १ वर्षलाई पुग्ने कापी, कलम, शब्दकोश, सामान्य ज्ञानका पुस्तकलगायत प्रदान गरिएको दलित विकास समाज सल्यानका कार्यकारी निर्देशक दुर्गा पुनले जानकारी दिए । उनीहरूलाई जिल्लास्थित क्रियाशील पत्रकार, जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति, दलित विकास समाज सल्यान र सेभ द चिल्ड्रेनका प्रतिनिधिलगायतले गाविसमै पुगेर सामग्री प्रदान गरेका हुन् । पछाडि परेका समुदाय, गरीब, जेहेनदार, दलित, आमाबाबु गुमाएका र शैक्षिक सामग्री तथा पोशाकको अभावमा विद्यालय जान नपाएका बालबालिका छानेर विद्यालयको सिफारिशमा छात्रवृत्ति प्रदान गरिएको सेभ द चिल्ड्रेन, जिल्ला कार्यक्रम संयोजक विमला सुवेदीले जानकारी दिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।