काठमाडौं । संयुक्त विद्यार्थी सङ्गठनअन्तर्गत छात्रा सञ्जालले काभ्रेकी लक्ष्मी परियार र नुवाकोटकी कञ्चन भुजेलको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गरेका छन् । हत्याको विरोधमा अनेरास्ववियु, नेवी सङ्घलगायत १३ विद्यार्थी सङ्घसंस्थाका छात्राले संयुक्त रूपमा बागबजारस्थित पद्मकन्या क्याम्पसमा भेला भई रत्नपार्कस्थित शान्तिवाटिकामा पदयात्रा गरेका थिए ।
उक्त अवसरमा सञ्जालका अध्यक्ष नवीना लामाले महिलामा हुने विभेद्ले उनीहरूमाथि हिंसा भइरहेको तथा परियार र भुजेलको हत्या जघन्य अपराध भएकाले सो घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्ने बताइन् । लोकतान्त्रिक मुलुकमा सरकारले सबै नागरिकप्रति समानता तथा सामाजिक न्यायको अनुभूति गराउनुपर्ने माग गर्दै कडा कानून नबनेको अहिलेको अवस्थामा भएका कानूनका आधारमा पनि दोषीलाई सजायको व्यवस्था गर्न अध्यक्ष लामाले आग्रह गरिन् ।
अनेरास्ववियुका सचिव आरसी लामिछानेले सो घटना निन्दनीय रहेको भन्दै उक्त सञ्जालका प्रतिनिधि नुवाकोटकी भुजेलको शव फेला परेका स्थानमा गएर चाँडो स्थलगत अध्ययन गर्ने जानकारी दिए । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।