करीअर विकासमा एमबीए

Share News

काठमाडौं । एमबीए (माष्टर्स अफ बिजनेश एडमिनिष्ट्रेशन) विश्वव्यापी र सफल व्यवस्थापन करीअरका लागि चर्चित पाठ्यक्रम हो । पैसा, यन्त्र र जनशक्तिको व्यवस्थापन वा शीपका लागि आजको विश्वमा ‘व्यवस्थापन शिक्षा’ लोकप्रिय बन्दै गएको छ । र, यही व्यवस्थापन शिक्षाको उच्चस्तरीय तह हो– एमबीए ।

नेपालमा पहिलोपटक काठमाडौं विश्वविद्यालय (केयू)ले सन् १९९३ मा यो विषयको अध्यापन शुरू गरेको थियो । नेपाल भित्रिएको २ दशकको अवधिमा नेपालका थप तीन विश्वविद्यालय (त्रिवि, पूर्वाञ्चल र पोखरा)ले एमबीए कोर्स सञ्चालनमा ल्याइसकेका छन् । त्यसैगरी, नेपालमा विभिन्न विदेशी विश्वविद्यालयको सम्बन्धनमा पनि कलेजहरू सञ्चालन भइरहेका छन् । नेपालका व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानहरूमा खट्किएको कुशल व्यवस्थापकको अभावलाई पूरा गर्ने उपयुक्त विकल्पको रूपमा एमबीए कोर्सको विकास गरिएको छ । विद्यार्थीको आकर्षण बढेपछि एमबीए अध्यापन गर्ने कलेजको सङ्ख्या पनि पछिल्लो समयमा बढेको छ ।

त्रिभुवन वा काठमाडौं विश्वविद्यालयले एमबीए आफ्नै डिपार्टमेण्टअन्तर्गत मात्र सञ्चालन गरिरहेका छन् । तर, पोखरा र पूर्वाञ्चल विश्वविद्यालयले भने निजी कलेजलाई एमबीए कार्यक्रम सञ्चालनको अनुमति दिएका छन् । तर, त्रिभुवन विश्वविद्यालयमा समयमा परीक्षा नहुने र परीक्षा नतीजा ढिला प्रकाशित हुने कारणले पनि विद्यार्थी अन्य विश्वविद्यालयअन्तर्गत सञ्चालित कलेजमा आकर्षित भएको पाइन्छ । त्यसैगरी, यस्ता कलेजहरूले अन्तरराष्ट्रिय बजारमा सहजै अवसर प्रदान गर्न सक्ने दाबी गर्दछन् ।

कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण विद्यार्थीले एमबीए अध्ययन गर्न पाउँछन् । व्यापार–व्यवसाय, व्यवस्थापन र व्यावसायिक नेतृत्वमा सक्षम बन्न अध्ययन गरिने एमबीए कोर्स विशेषगरी चार सेमेष्टर अर्थात् दुईवर्षे कोर्स हो । यसले विद्यार्थीमा सफल व्यवसायी तथा व्यवस्थापक बन्न आधारभूत अवधारणाको विकास गर्न मद्दत गर्दछ । विषयगत रूपमा विश्वस्तरीय व्याख्या–विश्लेषण गर्ने तथा निर्णय लिनेसम्मको क्षमता यस कोर्सले दिलाउँछ । एमबीए आधुनिक समाजमा व्यक्तिलाई आत्मनिर्भर बनाउने र रोजगारी सृजना गर्ने माध्यमको रूपमा लिइन्छ ।

एमबीएस
एमबीएस (माष्टर्स अफ बिजनेश स्टडिज) विद्यार्थीलाई समयको मागअनुसार दक्ष व्यवस्थापक बनाउनका लागि सञ्चालनमा आएको पाठ्यक्रम हो । यो उच्चस्तरका प्रबन्धकहरूको माग पूरा गर्न डिजाइन गरिएको शैक्षिक प्रणाली हो । एमबीएस पास गरेका विद्यार्थी व्यापार, उद्योग, सरकारी, वित्तीय संस्थाका व्यवस्थापन क्षेत्रमा काम गर्न सक्षम हुन्छन् । एमबीएसको मुख्य उद्देश्य व्यवस्थापनको कार्यात्मक क्षेत्रमा प्रबन्धकहरू तयार गर्नु हो । यो पाठ्यक्रम अध्ययन गरेका विद्यार्थीहरू राष्ट्रिय र विश्वव्यापी दृष्टिकोणमा ज्ञान र व्यापाररिक वातावरण बुझ्न सक्ने हुन्छन् । त्रिविले सन् १९६२ मा व्यवस्थापन सङ्कायमा माष्टर्स पाठ्यक्रम भिœयाएको थियो । नेपालमा अहिले करीब २ दर्जन कलेजले त्रिविअन्तर्गत एमबीएस अध्यापन गराइरहेका छन् ।

एमबीएस अध्ययनपछि विभिन्न उद्योग तथा कार्यालयमा व्यवस्थापकका रूपमा काम गर्न पाइने भएपछि यसप्रति विद्यार्थीहरू आकर्षित भएका हुन् । एमबीएसले विद्यार्थीलाई कार्यक्षेत्रका लागि विशेषज्ञ बनाउने काम गर्दछ । यस सङ्कायका विद्यार्थी अध्ययनपछि कार्यालयको लक्ष्य हासिल गर्न योजना, आयोजना, निर्देशन र नियन्त्रण गर्न सक्ने हुन्छन् । सफल व्यवस्थापक बन्नका लागि यी चार कार्य आफ्नो कार्यक्षेत्रमा कार्यान्वयन गर्न सक्षम हुनुपर्दछ । यो सबैका बारेमा एमबीएस पाठ्यक्रमले विद्यार्थीलाई ज्ञान प्रदान गर्दछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।