देशको आवश्यकता कुशल व्यवस्थापक

Share News

काठमाडौं । नेपालको विकास नहुनुको प्रमुख कारण कुशल व्यवस्थापक नहुनु भन्ने निष्कर्ष छ । सरकारमा जाने राजनीतिक दलहरूमा व्यवस्थापन क्षमता नभएकै कारण देशको विकास हुन नसकेको बताइन्छ । स्थायी सरकारको रूपमा रहेका अधिकांश कर्मचारीमा पनि व्यवस्थापनको सही ज्ञान नभएकाले देश कसरी चलिरहेको छ भन्ने अन्योल छ । कर्मचारी र राजनीतिक दलमा व्यवस्थापनको कुशल क्षमता नहुँदा बाहिरकाले चल्ने मौका पाइरहेका छन्, जसले गर्दा देश कसको हातमा छ भन्न समेत गाह्रो पर्ने अवस्था छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, जसले सही व्यवस्थाकीय कार्य गरी काठमाडौंलाई लोडशेडिङ मुक्त बनाइदिए । इञ्जिनीयरिङका विद्यार्थी घिसिङले एमबीए गरेकै कारण सही व्यवस्थापन गर्न सकेको भन्दा अत्युक्ति हुँदैन । उनको कुशल व्यवस्थापनकै कारण जनतामा समेत एक किसिमको मनोबल उठेको छ ।

अहिलेको अवस्थामा नेपाललाई असल व्यवस्थापकको आवश्यकता हो । प्राधिकरणमा जस्तो असल व्यवस्थापक सबै सरकारी निकायमा हुँदो हो त देश विकास हुन त्यति समय लाग्दैन । विगतमा मानवशास्त्र पढेकाले सरकारी जागीर खाने र व्यवस्थापन पढेकाले निजीक्षेत्रमा योगदान गर्ने भन्ने सोचले काम गर्दा देशले सही नेतृत्व पाउन सकेन ।

वर्तमान परिप्रेक्ष्यमा देशलाई आवश्यक जनशक्ति उत्पादन गर्ने माध्यम एमबीए नै हो, जसले व्यवसाय व्यवस्थापनका साथै सबै किसिमको व्यवस्थापन गर्ने ज्ञान दिन्छ ।

सरकारमा मात्र होइन, कुनै पनि कम्पनी अथवा संस्थाको असल व्यवस्थापन गर्नुपर्ने हुन्छ । बजारले असल व्यवस्थापन खोजेको अवस्थामा एमबीएले मागको परिपूर्ति गर्छ । नेपाली बजारमा पनि यसको आवश्यकता महसूस भई एमबीएको पढाइ शुरू भएको हो । पहिले एमबीए अध्ययन गर्न चाहने र कलेजहरू कम थिए । अहिले बजारको मागअनुसार एमबीए जनशक्ति उत्पादन गर्ने संस्थाहरू पनि बढिरहेका छन् । असल व्यस्थापक उत्पादन गर्ने उद्देश्यसहित एमबीए कलेजहरू दिनप्रतिदिन बढिरहेका छन् । उद्देश्यअनुसार काम गर्न भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा तथा सुविधाजस्ता विषयमा पनि प्रतिस्पर्धा भइरहेका छन् ।

अहिलेको अवस्थासम्ममा विशेषगरी बैङ्क तथा वित्तीय क्षेत्रमा लाग्न चाहने करीब सबैको रोजाइ एमबीए बनिसकेको छ । त्यस्तै, अन्य क्षेत्रमा पनि एमबीए अध्ययन गरेको जनशक्तिको आवश्यकता उत्तिकै छ । विश्वमा औपचारिक र पेशागत शिक्षा आर्जनका धेरै क्षेत्र छन्, जसमा मेडिकल साइन्स, इञ्जिनीयरिङ, कानून, शिक्षालगायत धेरै विषयगत अध्ययन–अध्यापन हुन्छ । यी विषय अध्ययन गरेर कोही डाक्टर, कोही इञ्जिनीयर त कोही वकिल बन्छन् । पढिसकेपछि सबैले आ–आफ्नो पेशागत वा व्यावसायिक क्षेत्रमा काम गर्नुपर्ने अवस्था आउँछ । अब डाक्टरले हस्पिटल, अधिवक्ताले ल–फर्म, शिक्षकले विद्यालय सञ्चालन गर्नुपर्ने हुन्छ, त्यसका लागि आफ्नो पेशागत ज्ञानशीपले मात्र पुग्दैन । एउटा डाक्टरसँग उसको सम्बन्धित विषयको बिरामीको उपचार गर्न सक्ने आवश्यक ज्ञानशीप त हुन्छ । तर, हस्पिटल सञ्चालन र व्यवस्थापन गर्न सक्ने ज्ञानशीप नहुन सक्छ । त्यसैले, यस किसिमको व्यावसायिक संस्था वा औद्योगिक प्रतिष्ठानको व्यवस्थापनका लागि एमबीए अध्ययन गरेका जनशक्तिको आवश्यकता पर्छ । यस प्रयोजनमा एमबीए शिक्षा विश्वमै सफल पनि भएको छ । त्यसैले, एमबीए डिग्री पाउन मात्र अध्ययन गरिने शिक्षा होइन । यो व्यवस्थापकीय शीपआर्जनका लागि अध्ययन गरिने विषय हो । पढ्नेहरूले व्यवस्थापक बन्न र पढाउनेहरूले व्यवस्थापक बनाउन एमबीए अध्ययन–अध्यापन गर्नु आवश्यक छ ।

एमबीए शिक्षाले विद्यार्थीको व्यक्तित्व र व्यवहारमा व्यवस्थापकीय शीप हासिल गराउँछ । यसका लागि कलेजहरूले विद्यार्थीलाई सैद्धान्तिक तथा प्रयोगात्मक शिक्षा, व्यवस्थापकसँगको सङ्गत र अभ्यासमा जोड दिनु आवश्यक छ ।

समय परिवर्तनशील छ । समयसँगै मानिस, मानिसका सोच–विचार, कार्यशैली, कार्यक्षमता र सारा विश्व–ब्रह्माण्ड नै परिवर्तनशील छ । कुनै जमाना थियो– वस्तु विनिमयमार्फत मानवीय आवश्यकता पूरा गर्ने । तर, आज त्यस्तो अवस्था रहेन । समयको परिवर्तनशीलतासँगै मुद्राले वस्तुविनिमय विस्थापित ग¥यो । र, यसले वस्तु मात्र होइन, सेवाको पनि खरीद–विक्री शुरू गर्‍यो । यसपछि मानिसले आफ्नो उपभोगका लागि मात्र नभई व्यवसायकै लागि वस्तु तथा सेवाको उत्पादन र खरीदविक्री शुरू गरे । यो व्यावसायिक यात्रामा आजसम्म आइपुग्दा पैसाका मात्र धनीले सफलता पाउन छाडे । पैसा, यन्त्र र जनशक्तिको सफल व्यवस्थापन गर्न सक्ने शीपका धनीले व्यावसायिक सफलता पाउन थाले । यही सफल व्यवस्थापन कला वा शीपका लागि आजको विश्वमा ‘व्यवस्थापन शिक्षा’ लोकप्रिय बन्दै गएको छ । यही व्यवस्थापन शिक्षाको उच्चस्तरीय तह हो, माष्टर्स इन बिजनेश एडमिनिष्ट्रेशन अर्थात् एमबीए ।

शहरकेन्द्रित एमबीए
एमबीए धनीले पढ्ने शिक्षाको रूपमा प्रचारित छ । एमबीए कलेजहरू शहरी क्षेत्रमा मात्र केन्द्रित भएकाले पनि यस्तो भएको हो । मोफसलका सुगम क्षेत्रमा पनि यस्ता कलेज नखुल्नाले स्थानीय विद्यार्थीले यो विषय पढ्न पाइरहेका छैनन् । ग्रामीण भेगमा एमबीए कार्यक्रम सञ्चालन गर्न प्राविधिक हिसाबले कठिनाइ रहेकाले पनि यस्तो भएको ठम्याइ सञ्चालकहरूको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।